१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिमेन्टको बढेको मूल्य घट्ने

काठमाडौं- केही दिन अघिदेखि सिमेन्टमा बढाइएको मूल्य फिर्ता लिन व्यवसायीहरू सहमत भएका छन्। आइतबार उद्योग मन्त्रालयमा मन्त्री नवीन्द्रराज जोशी र सिमेन्ट व्यवसायीबीच भएको छलफलमा सिमेन्टको मूल्य घटाउन व्यवसायी सहमत भएका हुन।

नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिहरु सँगको छलफलमा उद्योग मन्त्री जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएकाले यो समयमा न्युनतम मूनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगिहरुलाई आग्रह गरेपछि मूल्यमा पुर्नविचार गर्न तयार भएको मन्त्रालयले जनाएको छ।

छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टहरूको उत्पादन लागत दक्षिण एसियामै महंगो रहेको भन्दै सरकारको अनुरोधलाई स्वीकार गर्दै हाललाई मूल्य वृद्धिमा पुनर्विचार गर्न संघले आफ्ना सदस्य सिमेन्ट उत्पादकहरुलाई आजै पत्राचार गर्ने बताए। 

केही दिन अघिदेखि सबै कम्पनीका सिमेन्टको मूल्य प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म बढाएको खुद्रा व्यापारी बताउँछन्। खुद्रा व्यवसायीका अनुसार सबै कम्पनीको सिमेन्टको मूल्य बढाइएको छ। सबै कम्पनी मिलेर प्रतिबोरा २० देखि ५५ रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन्। बजारमा सबैभन्दा धेरै खपत हुने ओपिसी र पिपिसी सिमेन्ट दुवैको मूल्य बढाइएको छ।

नेपाली सिमेन्ट उद्योगको उत्पादन लागतलाइ कम गरि प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय सिमेन्ट उपभोक्ताहरुलाई उपलब्ध गराउन के कस्ता उपायहरु अवलम्वन गर्नु पर्नेछ भनी अध्ययन गर्न उद्योग मन्त्रालयका सह सचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक संघका प्रतिनिधि र विज्ञ सदस्य समेत रहेको एक अध्ययन समिति समेत गठन गरिएको छ। सो समितिले सरकारलाई नेपाली सिमन्ट उद्योगको उत्पादन लागत कम गर्न सकिने बिषयमा अवलम्वन गर्नुपर्ने नीतिगत सुधारका सम्वन्धमा सुझाव दिनेछ।

अन्तराष्ट्रिय बजारमा कोईला र क्लिङ्गकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकहरुले आफ्नो उत्पादनमा प्रतिवोरा २० रुपैंया देखि ५५ रुपैंयासम्म मूल्य वृद्धि गरेको समाचार वाहिर आएपछि गत विहीवार उद्योग मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्षलाई मन्त्रालयमा डाकी मूल्य वृद्धिको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए।

छलफलमा मन्त्री जोशीले संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर अर्न्तरगत उद्योग मन्त्रालयले सुरु गरेको बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रममा आफ्नो मुनाफाको केही रकम सहयोग गर्न सिमेन्ट उद्योगीहरुलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ। 

नेपाली सिमेन्ट उद्योगलाई प्रतिस्पर्धी बनाई निर्यातमुखी बनाउन उद्योग मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफु तत्पर रहेको मन्त्री जोशीले बताएका थिए।

प्रकाशित: २८ चैत्र २०७३ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App