१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बायर्नको उपाधियात्रा थप सहज

बर्लिन- स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको दुई गोलमा बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले शनिबार बोरुसिया डर्टमन्डलाई ४–१ ले पराजित गर्दै उपाधियात्रा थप सहज पारेको छ। घरेलु मैदानमा सम्पन्न खेलको चौथो मिनेटमा फिलिप लाहामको पासमा फ्य्राङ्क रिबेरीको गोलमा बायर्नले अग्रता लिएको थियो। १०औं मिनेटमा लेवान्डोवस्कीले फ्रि–किकमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए।

२०औं मिनेटमा राफेल गुइरेरोले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

४९आंै मिनेटमा रिबेरीको पासमा कप्तान आर्येन रोबेनले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए।

६८औं मिनेटमा लेवान्डोवस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई सहज जित दिलाएका थिए। डर्टमन्डका रोमन बुर्खीले लेवान्डोवस्कीलाई लडाएपछि बायर्नले पेनाल्टीको अवसर पाएको थियो।

जारी सिजन बुन्डेसलिगामा लेवान्डोवस्कीको यो २६ओैं गोल हो र उनी डर्टमन्डका पियरी–इमरिक औबामेयाङलाई एक गोलले पछि पार्दै शीर्ष गोलकर्ताको सूचीको अग्रस्थानमा उक्लिएका छन्।

यस जितसँगै बुधबार च्याम्पियन्स लिगको क्वार्टरफाइनल पहिलो लेगमा रियाल मड्रिडको सामना गर्ने तयारीमा रहेको बायर्नले आफ्नो मनोबलसमेत उच्च पारेको छ।

६८ खेलको समाप्तिमा ६८ अंक जोडको बायर्न शीर्ष स्थानमा यथावत् छ, जुन दोस्रो स्थानको आरबी लिपजिगभन्दा १० अंक बढी हो। यता हारपछि डर्टमन्डले भने होफेनहेइम (५१) लाई पछि पार्दै तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। ५० अंक जोडेको डर्टमन्ड चौथो स्थानमा यथावत् छ।

यता युसुप पाउलसेनले अन्तिम मिनेटमा गरेको निर्णायक गोलमा दोस्रो स्थानको लिपजिगले बायर लेभरकुसनलाई १–० ले पराजित गरेको छ।

८८औं मिनेटमा विल अर्बन दोस्रो पहेंलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि लिपजिगले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। लेभरकुसन ३५ अंकका साथ १२औं स्थानमा कायम छ।

बुन्डेसलिगाअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा ह्याम्बर्गले होफेनहेइमलाई २–१ ले, बोरुसिया मोन्चेनग्लाडबाचले कोलोनलाई ३–२, साल्केले उल्फस्बर्गलाई ४–१ र फ्रेइबर्गले मेइन्ज ०५ लाई १–० ले पराजित गरेका छन्।

प्रकाशित: २८ चैत्र २०७३ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App