१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'छिमेकीको प्रगति चाहन्छौं'

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण छिमेकीको प्रगति चाहेको बताएका छन्। शुक्रबार चार दिने भ्रमणका क्रममा भारत आएकी बंगलादेशी प्रधानमन्त्री सेख हसिनाको उपस्थितिमा राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले समग्र दक्षिण एसियाको भलो चाहेको बताएका छन्। सम्रग दक्षिण एसियाका देशहरुले पनि प्रगतिको बाटो लिउन् भन्ने चाहना रहेको बताएपनि उनले बंगलादेशबाहेक अन्य देशका नाम भने लिएनन्। पाकिस्तानप्रति लक्षित हुँदै प्रधानमन्त्री मोदीले पाकिस्तानले आंतकवादको संरक्षण गरिरहेको र उक्त कार्य तत्काल रोक्न मागसमेत गरे।

उनले भारतसँगै उसको छिमेकी राष्ट्रहरुले पनि बिकास गरोस् भन्ने चाहेको तर दक्षिण एसियाका केही तत्वहरु विकास भन्दा विनास चाहिरहेको बताए।

'भारत एक्लैको विकास अपुरो हुन्छ र हामी एक्लै अगाडि बढ्न तथा सफल हुन सक्छौं भन्ने कल्पनासमेत गरेका छैनौं। हामी हाम्रा छिमेकीको पनि शान्ति, समृद्धि र विकास चाहन्छौं।' 'सबैको साथ सबैको विकास,' भारतमा मात्रै सिमित नभएर हाम्रा छिमेकी देशमा पनि होस् भन्ने आफ्नो चाहना रहेको बंगलादेशको स्वतन्त्रता अभियानमा मारिएका भारतीय सहिदका सम्मानमा आयोजित 'सोम्मानोना समारोह' मा प्रधानमन्त्री मोदीले बताए। भारतले सबै देशसँग मित्रताको हात बढाएको र भारत तथा बंगलादेशको मित्रता त्यसको प्रमाण भएको पनि उनले बताए।

पाकिस्तानप्रति लक्षित हुँदै प्रधानमन्त्री मोदीले मानवता भन्दा पनि हिंसामा आधारित रहेकाले दक्षिण एसियामा आंतकवादलाई हुर्काउने र प्रसय दिने काम भइरहेको बताए। 'उनीहरुको प्रमुख उद्देश्य नै आंतकवाद फैलाउनु, विकास भन्दा विनास गर्नु र विश्वासको सट्टा धोका दिनु रहेको छ। यो सोचाई हाम्रा लागि चुनौति रहेको छ,' उनले थपे।

बंगलादेशकी प्रधानमन्त्री सेख हसिनासँग संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नरेन्द्र मोदीले भारतले बंगलादेशलाई आंतकवादबाट स्वतन्त्र गराएको उल्लेख गरे। उनको भनाई सन् १९७१ को पूर्वी र पश्चिम पाकिस्तानको युद्धमा आधारित रहेको थियो। भारतको सहयोगले पाकिस्तानबाट बंगलादेश बनेको थियो।

बंगलादेशी प्रधानमन्त्री सेख हसिनाको आंतकवादविरुद्धको शुन्य सहनशिलताको पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले खुलेरै प्रशंसा गरेका थिए।

यसैबीच भारत र बंगलादेशले शनिबार २२ वटा सम्झौतामा हस्ताक्षर गरेका छन्। जसमध्ये चार वटा सम्झौता दुवै प्रधानमन्त्रीको उपस्थितिमा प्रतिनिधि मण्डलको बैठक पछि नयाँ दिल्लीमा एक अर्कालाई हस्तान्तरण गरिएको थियो।

भारत तथा बंगलादेशबीच शनिबार ढाकालाई विकास परियोजनाका लागि सहुलियतसहित चार अर्ब पचास करोड अमेरिकी डलर बराबर ऋण सुविधा उपलब्ध गराउने सहित अनेकौँ सम्झौतामा हस्ताक्षर भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बंगलादेशी समकक्षी सेख हसिनाबीच नयाँ दिल्लीमा व्यापक क्षेत्रका विषयमा वार्ता भएको र उनीहरुले प्रतिरक्षा, क्षेत्रीय सुरक्षा तथा अन्तर्राष्ट्रिय आतंकवादविरुद्धको संघर्षमा चाहिने सहयोगका विषयमा पनि छलफल गरेको बताइएको छ।

दुवै पक्षका अधिकारीहरूले आउँदो पाँच वर्षका लागि प्रतिरक्षा सहयोगमा सम्झौता गरेका छन्। त्यसैगरी भारतले बंगलादेशलाई सैनिक उपकरण खरिद गर्न ५० करोड अमेरिकी डलर उपलब्ध गराउने सम्झौतामा पनि हस्ताक्षर गरेको जानकारी दिइएको छ।

दुई पक्षबीच नागरिक पारमाणविक सहयोगका विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको छ र यस अन्तर्गत नयाँ दिल्लीले ढाकालाई नागरिक पारमाणविक कार्यक्रम विकास गर्न सहयोग गर्नेछ।

भारतीय प्रधानमन्त्री मोदी र बंगलादेशी प्रधानमन्त्री हसिनाको संयुक्त प्रेस विज्ञप्तिमा भारत र बंगलादेशसहित दक्षिण एसियाली मुलुकमा आंतकवादी गतिविधिको त्रास रहेकाले आंतकवादबाट हुने सुरक्षा खतराका लागि मोदीले पाँच सय मिलियन डलर सहयोगको घोषणा गरेका छन्।

बंगलादेशका प्रधानमन्त्रीसँगको भेटपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा मोदीले बिबिआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) समेटेर अगाडि बढाउन लागिएको परियोजना आफ्नो प्राथमिकता रहेको बताएका थिए।

बंगलादेशी प्रधानमन्त्रीको भारत भ्रमणको समयमा नै भारत र बंगलादेशको बीचमा मोटर संचालन गर्ने सम्झौता भएको छ। पत्रकार सम्मेलनमा नै भारतीय प्रधानमन्त्री नरेन्› मोदीले चार देशीय सम्झौता बिबिआईएन कार्यान्वयनमा जोड दिएका छन्।

मोदीले आन्तरिक रुपमा जोड दिएको सबैको साथ, सबैको विकास छिमेकी मुलुकहरुको हकमा समेत लागू हुने बताए। तीन वर्षअघि प्रधानमन्त्री भएलगत्तै छिमेकीहरुलाई प्राथमिकता रहेको विदेश नीतिमा जोड दिएका मोदी त्यसमा त्यति सफल नभएको भन्दै आन्तरिक रुपमा आलोचना हुने गरेको छ।

मोदी आफै विमानस्थलमा

बंगलादेशकी प्रधानमन्त्री चार दिने औपचारिक भारत भ्रमणमा क्रममा शुक्रबार नयाँ दिल्ली पुग्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परम्परागत प्रोटोकल तोडेर उनको स्वागत गर्न स्वयं विमानस्थल पुगेका थिए। विमानस्थल जाने क्रममा मोदी सामान्य नागरिक जस्तै  साधारण तरिकाले गएको भारतीय सञ्चार माध्यमले जनाएका छिन्। उनी विमानस्थल जाँदा कुनै विशेष ट्राफिक व्यवस्था नगरिएको बताइएको छ। 

प्रकाशित: २७ चैत्र २०७३ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App