१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बनेन विस्केटको बाटो

भक्तपुर- भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आउने सोमबारबाट सुरु हुँदैछ। तर, जात्रामा प्रयोग हुने बाटो अस्तव्यस्त छ। जात्रास्थल पनि लथालिङ छ। भूकम्पबाट भत्किएका घर पुनर्निर्माण भइरहेकाले यहाँको बाटो व्यवस्थित नभएको हो।

 जात्रास्थल ल्योसिंखेल (लिंगो उठाउने ठाउँ) निर्माण सामग्रीले भरिएको छ। भूकम्पले भत्केका स्थानीयका घर निर्माणका लागि थुपारिएका निर्माण सामाग्रीले जताततै यो ठाउँ भरिएको हो। गत वर्षको जात्रामा भने यो ठाउँ स्थानीयका अस्थायी टहराले भरिएको थियो।

जात्रामा भैरवनाथको रथ गुडाउने गहिटीदेखि ल्योसिंखेलसम्मको झन्डै आधा किलोमिटर सडक भत्केका घरका भग्नावशेषले अस्तव्यस्त छ। जात्रामा यो बाटो भएर भैरवनाथको रथ तल तानेर तलमाथि गर्नुपर्ने चलन छ। तीनतल्ले ३५ फिट अग्लो  र चारवटा पाङ्ग्रा भएको काठैकाठैबाट बनेको भैरवथानको रथलाई सयौ मान्छेले यो बाटो भएर तलमाथि गर्ने गर्छन्।

स्थानीय धर्मलाल लिवीले भूकम्पले भत्किएका पुरानो घर पुनर्निर्माण गर्ने क्रममा रहेकाले बाटो अव्यवस्थित रहेको बताए। आफूले मात्र नभई बाटोका दुवै छेउमा रहेका घर पुनर्निर्माणमा रहेकाले यो बाटो अव्यवस्थित भएको उनले बताए। बाटोछेउमा करिब ५० घर छन्। यहाँका अधिकांश पुराना घर भूकम्पले भत्केका थिए।

भक्तपुर नगरपालिका कार्यालयले बाटो अवरोध नहुने गरी सफा गर्न स्थानीयवासीका नाममा सार्वजनिक सूचना जारी गरिसकेको छ। नगरपालिका कार्यालयले एक हप्ता अगाडि नै जात्रामा अवरोध नहुने गरी बाटो खुलाउन स्थानीयको नाउँमा सार्वजनिक सूचना जारी गरेको थियो। भक्तपुर नगरपालिका वडा नं १२ र १४ हाल वडा नं ४ कार्यालयले पनि स्थानीयको घरघरमा बाटोका अवरोध हटाउन सूचना टाँस गरिसकेको छ।

स्थानीयले जात्रा अगाडि नै बाटो खुलाउने प्रतिबद्धता जनाएका छन्। स्थानीय सुन्दरप्रसाद जधारीले नगरपलिकालेे हटाइ दिनुपर्ने भए पनि आफूहरुले नै अवरोध हटाउन तयार रहेको बताए।

भक्तपुरको बिस्केट जात्रा चैत्र २८ गतेबाट सुरु हुदैछ। जात्रा वैशाख ५ गतेसम्म चल्नेछ। यो क्रममा लिंगो उठाउने र ढाल्ने, भैरव र भद्रकालीको रथ तान्ने गरिन्छ।

प्रकाशित: २७ चैत्र २०७३ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App