१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लैनचौरमा 'लन्च' लिन नेताको लर्को

काठमाडौं- विभिन्न राजनीतिक दलका शीर्ष र दोस्रो तहका नेताहरूले शुक्रबार दिउँसो लैनचौरस्थित भारतीय दूतावासमा 'लन्च' लिएका छन्। लन्चमा करिब ३० नेता सहभागी थिए। नेपालका  लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले लन्चका लागि नेताहरूलाई डाकेका थिए। पुरीको निम्तो मान्न नेताहरू दूतावास पुगेका हुन्। लन्चमा मधेसी मोर्चाका शीर्ष तथा नेपाली कांग्रेस र एमाले दोस्रो तहका नेता सहभागी भए। मोर्चामा आबद्ध सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झा, तराईमधेस लोकतान्त्रिक पार्टी उपाध्यक्ष सर्बेन्द्रनाथ शुक्लालगायत नेता दूतावास पुगेका थिए। यसैगरी नेपाली कांग्रेसका दोस्रो तहका नेता शेखर कोइराला, नारायण खड्का तथा एमाले नेता राजन भट्टराई, वशंधीर मिश्रलगायत लन्च लिन दूतावास पुगेका थिए।

यसैगरी नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) का सदस्यलाई पनि लन्चमा बोलाइएको थियो। व्यवसायी सोमेन्द्रजंग थापालगायत पनि दूतावास पुगेका थिए। दिउँसो एक बजेदेखि सुरू लन्च करिब दुई घन्टासम्म  चलेको थियो। लन्च अवधिभर राजदूत पुरी उपस्थित थिए। यसैगरी दूतावासका डिसिए विनयकुमार पनि लञ्चमा सहभागी थिए। डिसिएमका तर्फबाट नेताहरूलाई लन्चमा  बोलाइएको थियो।

लन्चमा नेताहरूले पालैपालो राजदूत पुरीसँग हात मिलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए। सहभागी नेताले लन्च कार्यक्रम परिचयात्मक भएको बताए। 'यो परिचयात्मक कार्यक्रम मात्र थियो, अरू केही थिएन। खाली परिचय आदानप्रदान मात्र भयो', राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष भण्डारीले भने।

सद्भावना पार्टी अध्यक्ष महतोले भारतीय दूतावासमा लञ्च मात्र भएको र यस्तो कार्यक्रम स्वाभाविक भएको बताए। 'लन्च मिटिङ होइन। लन्च मात्र भएको हो। यो स्वाभाविक हो', उनले भने।

फोरम गणतान्त्रिक अध्यक्ष यादवले दूतावासमा लन्च कार्यक्रमा राख्नुलाई अन्यथा सोच्न नहुने बताए।  'उहाँ (राजदूत पुरी) नयाँ आउनु भएको छ। परिचयात्मक कार्यक्रम राख्नुभयो। यसलाई स्वाभाविक मान्नुपर्छ ', यादवले भने।

नवनियुक्त राजदूत पुरीले यसअघि तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टी अध्यक्ष महतोसँग भेटेका थिए। यसैगरी उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत  नेतासँग पनि भेट गरिसकेका छन्। । तमलोपा अध्यक्ष ठाकुर शुक्रबार काठमाडौं बाहिर रहेकाले लन्चमा सहभागी भएनन् । यसैगरी संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव पनि काठमाडौं बाहिर रहेकाले लन्चमा सहभगी भएनन्।

विभिन्न दलका शीर्ष तहका नेतालाई भेटिसकेपछि राजदूत पुरीले शुक्रबार लन्च कार्यक्रम आयोजना गरेका हुन्। लन्च कार्यक्रममा उनले सामूहिक रुपमा केही बोलेनन्।  नेताहरूसँगको संक्षिप्त व्यक्तिगत कुराकानीमा भने उनले राजनीतिक अवस्थाबारे चासो राखेका थिए। तर सद्भावना पार्टी अध्यक्ष महतोले भने लन्च कार्यक्रममा कुनै राजनीतिक कुराकानी नभएको बताए। 'कुनै राजनीतिक कुराकानी हुन पाएन। खाली परिचय आदानप्रदान मात्र भयो', महतोले भने।

मधेसी मोर्चाका नेता यसअघि पनि भारतीय दूतावासमा गई लञ्च बैठकमा सहभागी भएका थिए। पुरी राजदूत भएर आएपछि भने मोर्चाका नेताहरू पहिलोपटक शुक्रबार दूतावासमा लन्चका लागि पुगेका हुन्।

प्रकाशित: २६ चैत्र २०७३ ०२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App