१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन पार्टी मिलेर नेपाल लोकतान्त्रिक फोरम

काठमाडौं- थ्रेसहोल्डका कारण संसद् र संसद्बाहिरका ससाना दल एकीकरण क्रममा जुटेका छन्। संसद्मा रहेका तीन दलबीच बुधबार एकीकरण भएको छ। विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीबीच एकीकरण भएको हो।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टी एकीकरण भई नेपाल लोकतान्त्रिक फोरम गठन।

एकीकृत पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम हुने बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो। कार्यक्रममा तीन वटै पार्टीका अध्यक्षले एकीकरण घोषणा गरेका थिए। एकीकृत पार्टीको अध्यक्षमा गच्छदार छन्।

संसद्मा फोरम लोकतान्त्रिकको १४ सिट, जनमुक्ति पार्टीको दुई सिट र दलित जनजाति पार्टीको एक सिट छ। एकीकृत भएर बनेको नेपाल लोकतान्त्रिक फोरम पार्टीको सिट संख्या अब १७ हुने भएको छ, जुन संघीय समाजवादी फोरम नेपालभन्दा दुई सीट बढी हो। लोकतान्त्रिक फोरम अब संसद्को पाँचौं ठूलो पार्टी भएको छ।

पार्टी एकीकरण कार्यक्रममा गच्छदारले एकीकृत पार्टी आगामी चुनावपछि तेस्रो दल हुने दाबी गरे। माओवादी चुनावपछि तेस्रो पार्टी हुन कठिन हुने र राप्रपा वैकल्पिक लोकतान्त्रिक शक्ति नभएको बताउदै उनले भने, 'चुनावमा कसरी विजयी हुन सकिन्छ, मलाई थाहा छ।'

त्यसो त यसअघि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टीसँग एकीकरणका लागि कुराकानी गरेका थिए। यादवलेे स्थानीय निर्वाचनको विरोध गर्दै आएकाले सहमति नभएको हो। तर, गच्छदारले स्थानीय चुनावमा भाग लिने तयारी अघि बढाएका कारण एकीकरणमा  सहमति भएको स्रोतको भनाइ छ। तीन पार्टीबीचको एकीकरण प्रक्रिया भने मंगलबारसम्म तीनै पक्षले गोप्य राखेका थिए।

गच्छदारले दुई दिनअघि मात्र नयाँ शक्ति पार्टीका सहसंयोजक महेश कर्माेचासहित ३० केन्द्रीय सदस्यलाई आफ्नो पार्टीमा प्रवेश गराएका थिए।

पाँच पार्टीवीच एकीकरण प्रक्रिया

राष्ट्रिय मधेस समाजवादी पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच पनि  एकीकरण प्रक्रिया सुरु भएको छ। तत्काल रामसपा, तमसपा र फोरम गणतान्त्रिकबीच एकीकरण गर्ने र त्यसपछि सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीलाई पनि एकीकरणमा ल्याउने गरी गृहकार्य सुरु भएको नेताले बताएका छन्।

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसी मोर्चामा आबद्ध दलबीच छिटै एकता हुने बताए। 'हामी मधेस केन्द्रित दलको एकता आवश्यक छ, ज्योतिषले सिफारिस गरेको शुभ दिन पारेर हामी एकता घोषणा गर्छौं', उनले राजधानीमा आयोजित एक कार्यक्रममा भने। उनले एक साताभित्रै पार्टी एकता घोषणा हुने दाबी समेत गरे। यादवले मोर्चाको अब एउटै पार्टी र एउटै झन्डा हुने बताए।

फोरम नेपाल–नयाँ शक्ति गृहकार्य

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसँग पार्टी एकीकरणका लागि गृहकार्य सुरु गरेका छन्। आगामी चुनावअघि नै एकीकरण गर्ने गरी वार्ता सुरु गरेको दुवै पार्टीका नेताले बताएका छन्।

फोरम नेपालका अध्यक्ष यादवले गोपाल दहितको थरुहट तराई पार्टी नेपालसँग पनि एकीकरणका लागि प्रक्रिया अघि बढाएका छन्। केही दिनमै फोरम नेपाल र थरुहटबीच एकीकरण हुने दुवै पार्टीका नेताले बताएका छन्। हालै तय थ्रेसहोल्ड प्रावधानअनुसार राष्ट्रिय मान्यता प्राप्त दल बन्न कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षतर्फ संसद्मा एक सिट जित्नुपर्नेछ।

प्रकाशित: २४ चैत्र २०७३ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App