१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोसी पीडितका समस्या समाधान गर्न पहल गर्छु: राष्ट्रपति भण्डारी

इटहरी- कोसी पूर्वको बस्तीका थुप्रै परिवार मुआब्जा होस् वा क्षतीपुर्तिको  प्रतिक्षामा छन्। तिनै कोसी पीडितको समस्या समाधान गर्नका निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीले सम्वन्धित निकायको ध्यानाकर्षण गराउने बचन दिएकी छन्।

                ‘कोसी नदीको कटानले गर्दा धेरैलाई पीडा पुगेको छ, त्यसलाई मैले आजैमात्र बराहक्षेत्र मन्दिरको दर्शन गर्दा पनि कटान गरेको प्रत्यक्ष अनुभव गर्न पाए,’ बुधबार बराहक्षेत्र मन्दिर दर्शनपछि चतरामा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन्।

 बृहत्तर बराहक्षेत्र विकास गुरु योजना तथा प्रस्तावित योगमाया आयूर्वेद विश्वविद्यालयबारे छलफल गर्न आयोजित कार्यक्रममा उनले कोसी पीडितको समस्या समाधान गर्नका निम्ति ढिलाई नगरिकन सम्बद्द पक्षको ध्यानाकर्षण गर्ने पीडितलाई आश्वासत पारिन्।

                कोसी नदीले पछिल्लो समय हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक बराहक्षेत्र मन्दिर क्षेत्रमा समेत कटान गरेको छ। बराहक्षेत्र मन्दिरबाहेक २०२२ साल यता पटक पटक कोसी पूर्वका थुप्रै बस्तीका बासीन्दा पीडित हुदैं आएका छन्।

कोसी पूर्वको २०२२ साल यता अहिले बराह नगरपालिका क्षेत्र पर्ने साविकका प्रकाशपुर, महेन्द्रनगर  र बराहक्षेत्रको १ लाख ६० हजार कठ्ठा भन्दा बढी  खेतीयोग्य उर्वर भूमिलाई कोसीले कटान गरेको तथ्याङ्क २०६४ सालमा गठित पूर्व प्रशासक रामप्रसाद खतिवडाको संयोजकत्वको  उच्चस्तरीय समितिले उजगार गरेको थियो। २०६५ भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर साविकका हरिपुर, श्रीपुर, पश्चिम कुशाहा र लौकहीको मानववस्तीमा पस्यो। कोसी पूर्वी तटीय क्षेत्रका बासीन्दाले क्षतीपूर्ति माग गरेर बेला–बेलमा आन्दोलन चर्काउँदै आएका छन्।

०६५ मा मानववस्तीमा क्षती पुगेको  चार गाबिसका वाढी पीडितलाई सरकारले ‘प्याकेजमा’ १ अर्व ६० करोड रुपैयाँ क्षतीपुर्ति दिने निर्णय गरिएको थियो । प्याकेज राहत रकममध्ये केही रकम अझै  पाउन बाँकी रहेको तत्काल पाउनुपर्ने पीडितले माग गरेका छन्।

सो क्रममा सुनसरी क्षेत्र नं. ६ का सांसद भीम आचार्यले कोसी पीडितलाई मुआब्जा र क्षतीपूर्ति दिलाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक दुईपटक कुरा भएपनि पछिल्लो समयमा कोसीको पीडितको मुद्दा ओझेलका परेकाले गर्दा सरकार गम्भीर हुनुपर्ने बताए । ‘पछिल्लो समय कोसी पीडितको समस्या समाधान गर्नका निम्ति सरकार अलमिलएको छ,’ उनले भने, ‘यसका लागि राष्ट्रपतिले विशेष समन्वय गरि दिनुहोस्।’

आयूर्वेद विश्वविद्यालय बनाउने सवालमा राष्ट्रपति विद्यादेवी भण्डारीले सवैको सक्रिय सहभागिता भएको खण्डमा स्थापना हुने बताइन्। ‘चतरा र बराहक्षेत्रको संरक्षण, सम्बर्दन र विकासका निम्ति हर अग्रगमनमा मेरो साथ रहनेछ,’ उनले भनिन्, ‘तपाईहरु (यस क्षेत्रका बासीन्दा) पनि सक्रिय रुपमा लाग्नुहोस् सम्भव छ।’

सोही क्रममा जगतगुरु रामानन्द सेवा पीठले तयार गरेको बराहक्षेत्र विकास गुरु योजना तथा प्रस्तावित योगमाया आयूर्वेद विश्वविद्यालयको बारेमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति भण्डारीलाई प्रदान गरे। बराहक्षेत्रको विकास र आयूर्वेद विश्वविद्यालय स्थापना गर्दा स्थानीयको आवश्यक गुरुयोजना हुँदा सम्बन्धित निकायमा पहल गर्न सजिलो होस् भनेर प्रदान गरिएको आयोजक संस्थाका प्रल्लाद पहरेदारले बताए। राणकालविरुद्द आन्दोलन गर्ने धार्मिक अगुवा योगमायाको नाममा आयूर्वेद विश्विद्यालय खोल्ने योजनाका साथ स्थानीयबासी सक्रिय रुपमा जुटेका हुन्। योगमायासहित अन्यले राणबिरुद्द लामो समयसम्म आन्दोलन गरेर अन्तिममा त्रासले अरुण नदीमा हाम फालेका थिए।

                भूगोलको आधारमा चतरामा आयूर्वेद विश्विद्यालय खोल्नु ज्यादै पयुक्त भएको डाक्टर श्री वैष्णब सिद्दवावा कृष्णदास महाराजले बताए। ‘पहाड, तराई र चुरे तीनवटै भूगोल मिसिएको चतरामा आयूर्वेद विश्वविद्यालय खोल्नु ज्यादै उत्तम हुनेछ,’ उनले भने।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वाञ्चलमा कोशीकै कारण प्रचुर सम्भावना सिचाई, खानेपानी, मत्स्य पालन, जल यातायातको समेत सम्भावना भएकाले गर्दा पनि त्यसको विकासतर्फ पनि सवैले सोच्नुपर्ने बताइन्। पूर्वमा औद्योगिक, कृषि, पर्यटक, शैक्षिक विकासको सम्भावना रहेको बताउँदै समृद्द मुलुक बनाउन सवै एक ढिक्का भएर लाग्नुपर्ने बताइन्। ‘देशले नयाँ संविधान पाएर स्थानीय निकायको निर्वाचनको संघारमा रहेकोमा हरेकले समृद्द मुलुक बनाउन जुटनु पर्छ,’ उनले भनिन, ‘हरित क्रान्तिका निम्ति सम्पूर्ण जुटनुपर्छ। हरित क्रान्तिलाई सुखी आधारको रुपमा लिन सकिन्छ।’

राष्ट्रपति भण्डारीलाई बराह नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दन र जगतगुरु रामानन्द सेवा पीठले सम्मान समेत गरियो।

प्रकाशित: २३ चैत्र २०७३ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App