१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तेल ट्यांकरलाई २० हजार ताल्चा

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीको चुहावट रोक्न ट्यांकरमा नयाँ ताल्चा लगाउने भएको छ । ढुवानीको क्रममा ट्यांकरबाट हुने चोरी रोक्न ‘सेक्युरिटी लकिङ सिस्टम’ कार्यान्वयनमा जाने तयारी गरेको निगमले ताल्चा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ल्याउने तयारी गरेको हो ।

‘सेक्युरिटी लकिङ सिस्टम’को बारेमा अध्ययन गर्न निगमका इन्जिनियर विरेन्द्र गोइत संयोजकत्वमा गठित कार्यदलको सुझावअनुसार निगमले यो तयारी गरेको हो ।
आइओसीबाट ढुवानी गर्नेसहित करिब साढे १५ सय ट्यांकरले पेट्रोलिय मपदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन) ढुवानी गर्दै आएका छन् । त्यसको लागि करिब २० हजार ताल्चा आवश्यक पर्ने भएपछि ती ताल्चा भारतबाट ल्याउन पहल सुरु भएको निगमले जनाएको छ ।
सोमबार बसेको कार्यदलको बैठकले नयाँ ताल्चा तुरुन्त ल्याएर यो नयाँ प्रविधिलाई तत्काल कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ ।
करिब २० हजार ताल्चा चाहिने भए पनि पहिलो चरणमा दुई सय गाडीको लागि ताल्चा ल्याउन तुरुन्त पहल गर्ने निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए । ‘सेक्युरिटी लकिङ सिस्टममा जाने निर्णय गरेका छौं,’ पोख्रेलले भने, ‘निःशुल्क ताल्चा उपलब्ध गराउन आइओसीलाई आग्रह गर्छौं ।’
ट्यांकरमा नयाँ प्रविधि जडान गर्न ढिलाइ गरेकोमा पेट्रोलियम डिलर्स एसोसिएसन र ढुवानी व्यावसायीले ध्यानाकर्षण गराउँदै आएका थिए ।
भारतबाट ल्याउँदा बीच बाटोमा ट्यांकरबाट तेल झिक्न नदिन निगमले यो विधि प्रयोगमा ल्याउन लागेको हो । व्यवसायीले लकिङ सिस्टम जोडेका करिब दुई सय ट्यांकर ल्याएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘ट्यांकरमा लकिङ सिस्टम जोडे पनि ताल्चा नआउँदा प्रयोगमा आएको छैन,’ प्रधानले भने, ‘जतिसक्दो छिटो प्रयोगमा ल्याउनुपर्छ ।’
ट्यांकरमा लगाएको अहिलेको सिल कमजोर भएकाले यो पद्धति प्रयोगमा ल्याउन लागिएको हो । यो प्रविधि प्रयोग गरेर निगमका कर्मचारी, चालक, व्यवसायीको मिलमतोबाट हुने चोरी रोकिने ठहर छ । ट्यांकर चालकले बीच बाटोमा तेल झिकेर बेच्ने गरेको आरोप लाग्दै आएको छ ।
निगमलाई करोडौं क्षति भएको बेला यो प्रणाली प्रयोगमा ल्याउन लागेको निगमका अधिकारी बताउँछन् । पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी, मिसावट, अनधिकृत काम रोक्न यो प्रविधि भरपर्दो हुने विश्वास लिइएको छ । आइओसीले १४ वर्षअघि प्रयोगमा ल्याएको यो प्रविधि निगमले अहिले प्रयोग गर्न लागेको हो ।
यो प्रविधि अनुसार आइओसीमा तेल भरेर ताल्चा लगाएपछि यहाँको डिपोमा आएर मात्र खोल्न मिल्छ । ‘ट्यांकर भरेपछि आइओसीका कर्मचारीले ताल्चा लगाउँछन्,’ इन्जिनियर गोइतले भने, ‘त्यो ताला यहाँ आएपछि डिपो प्रमुखको नेतृत्वमा खोलिन्छ ।’ चुहावट रोक्नका लागि भरपर्दो प्रविधि भएको उनले बताए ।
यसमा प्रयोग हुने ताल्चा र साँचो अन्य कुनै कम्पनीले नक्कल गर्न नसक्ने र  उच्चस्तरीय प्रविधि भएको निगमको दाबी छ ।
ट्यांकरमा जडान गरेका डोम कभर, हिन्ज, पाइपलाइनको डेलिभरी भल्व, पाइपलाइनमा जडान भएको फ्लेन्ज आदिको डिजाइन परिवर्तन गर्न सुरु भएको छ । यो परिवर्तन गर्न लाग्ने खर्च सम्बन्धित ट्यांकर धनीले बेहोरेका छन् । विश्वका सबै कम्पनीले यो प्रविधि प्रयोग गर्दै आएकाले विश्वसनीय भएको व्यवसायी बताउँछन् । ट्यांकरहरु क्रमशः सेक्युरिटी  लकिङ सिस्टम जोड्दै जाने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए । ‘हामी तयारी अवस्थामा छौं,’ अर्यालले भने, ‘निगमले ताल्चा ल्याउनासाथ प्रयोगमा आउँछ ।’
कार्यदलले गत जेठमा प्रतिवेदन बुझाएको भए पनि निगम व्यवस्थापनका कारण ढिलाइ भएको छ । ट्यांकरमा लगाएको अहिलेको सिल कमजोर भएकाले ढुवानीका क्रममा बीच बाटोमा चोरी भएको हो ।
निगमले अब ल्याउने नयाँ ट्यांकरले अनिवार्य लकिङ सिस्टम जडान गरेर ल्याउन निर्देशन दिइसकेको छ भने नवीकरण गर्न आउने ट्यांकरले पनि यो प्रविधि जडान गर्नुपर्नेछ । ‘क्रमशः सबै ट्यांकरमा अनिवार्य कार्यान्वयनमा लैजान्छौं,’ पोख्रेलले भने, ‘यसले ढुवानी व्यवस्थित हुने विश्वास लिएका छौं ।’
 

प्रकाशित: २३ चैत्र २०७३ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App