१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जीर्ण भवनमा जोखिम मोलेर पढ्दै फरक क्षमताका विद्यार्थी

सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योति सुस्त मनस्थितिको जिर्ण विद्यालय  तस्बिरः अर्जुन भुसाल

अर्घाखाँची– सन्धिखर्क नगरपालिका– १ मा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयको भवन जिर्ण हुँदा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ। फरक क्षमता भएका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयहरु सुविधा सम्पन्न बनाइनु पर्ने भए पनि नयाँ भवन निर्माणमा कसैको चासो जान सकेको छैन। भवन निर्माणका लागि पटक–पटक विभिन्न निकायसँग आग्रह गर्दा पनि सुनुवाइ नभएको विद्यालयकी प्रधानध्यापक कमला भुसाल बताउँछिन्। 

‘बस्नको लागि निकै समस्या छ’ उनले भनिन्, ‘सदरमुकाम मै रहेको विद्यालयको यस्तो स्थिति हुँदा पनि कसैको ध्यान पुग्न नसक्नु निकै पीडादायी पक्ष हो।’ वर्षादको समयमा पानी चुहिँदा विद्यार्थीहरुले निकै सास्ती व्यहोर्नु परेको छ। भवनका तलामा प्वाल परेका छन्। भित्ताहरु चर्किएका छन्। ‘भवन भत्किएर  चाप्ने डर छ,’ उनले थपिन्, ‘यस्तै अवस्था रहिरहे पढाई नै बन्दगर्नु पर्ने अवस्था आउँछ।’

विद्यार्थीहरुका लागि आवश्यक पर्ने, सिकाई सामग्री, कुर्सी, डेक्स बेन्चको पनि अभाव छ । प्रत्येक विद्यार्थीका लागि मासिक चार हजारका दरले जिल्ला शिक्षा कार्यालयले व्यवस्था गरेको छ। सो रकम विद्यार्थीको  खानामा खर्च हुँदै आएको छ। शौचालय र पानीको  व्यवस्था पनि शिक्षा कार्यालयले गरेको छ। विद्यार्थीहरु रातको समयमा पनि सोही भवनमा बस्ने गर्छन्। आभास सहितको सुविधा युक्त भवनको सट्टा जिर्ण भवनमै विद्यार्थीहरु पढन बाध्य छन्। रातको समयमा ठूलो बर्षाद र चट्याङ पर्दा निकै डर लाग्ने गरेको विद्यार्थीहरु बताउने गर्छन्। 

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पदम भुसालले विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयदेखि विभागसम्म धाउँदा पनि सुनुवाई भएको भन्दै चिन्ता व्यक्त गरे। ‘राज्यले शिक्षामा अर्बौंं रुपैयाँ खर्च गरिरहेको छ,’ सबै विद्यालय सुविधा सम्पन्न भौतिक वातावरणमा छन्,’ उनले भने, ‘यो विद्यालय बनाउनेतर्फ समयमै ध्यान जानु जरुरी छ।’ विद्यालयका शिक्षिकाहरुले विद्यार्थीहरुलाई पारिवारिक वातावरणमा सिकाउने गर्छन्। अभिभावकहरु पनि विद्यालयप्रति सन्तुष्ट छन्। ‘बेला÷बेलामा अभिभावहरु आउने गर्नुहुन्छ,’ प्रधानध्यापक भुसालले भनिन्, ‘हामीले गरेको माया र सिकाइबाट उहाँहरु खुसी हुनुहुन्छ ।’ 

ठूलापोखराककी धनकला वञ्जाडे आफ्नोछोरालाई यो विद्यालयमा भर्ना गरेपछि आफूलाई निकै सन्तुष्टि मिलेको बताउँछिन् । ‘धेरै विद्यालयमा पढाउँदा पनि छोरो बोल्न सकेन’ छोरो भेट्न आएकी उनले भनिन्, ‘यहाँ राखेपछि बिस्तारै बोल्न थालेको छ ।’ जिल्लाका चार ओटा विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरु अध्ययन गर्छन्। निर्मल नवज्योति र सीतापुरको सरस्वती माविमा सुस्त मनस्थिति भएका विद्यार्थी, ठूलापोखराको नेरा माध्यमिक विद्यालमा सुस्तश्रवण र युवा वर्ष जनता रविचित्रमा दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गर्ने गरेका छन् । 

चार विद्यालय मध्ये सबैभन्दा कमजोर भौतिक संरचनामा रहेको विद्यालय निर्मल नवज्योति नै हो । जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले तीन ठाउँमा अन्य विद्यालयमै फरक क्षमता भएका विद्यार्थीहरुले अध्ययन गर्ने गरेको भए पनि निर्मल नवज्योति विशेष शिक्षा परिषद्बाट सञ्चालनमा रहेको जानकारी दिए। ‘निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थीहरुलाई जिर्ण भवनमा बसेर सिकाई सिक्न गाह्रो भएको महसुस गरिरहेका छौं,’ उनले भने, ‘सो विद्यालयका  विद्यार्थीहरुका लागि आवसीय सहितको भवनका लागि जिल्ला शिक्षा कार्यालयमा हाल कार्यक्रम नभएको हुँदा अन्य संघ संस्थासँग समन्वय गरी व्यवस्थापन गर्नु पर्ने देखिन्छ।’ उनले भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले पहल गर्ने बताए। 

 

प्रकाशित: २२ चैत्र २०७३ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App