१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

उद्यमका लागि महिलामैत्री वातावरण

काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल एकमात्र त्यस्तो ठूलो स्थल बनेको छ जहाँ नेपालका विभिन्न कार्यक्रम, विभिन्न प्रदर्शनीलगायत विदेशी वस्तुसमेत बिक्रीका लागि राख्न सकिन्छ । त्यसैले लगभग बाह्रै महिना, प्रत्येक दिनजसो कुनै न कुनै कार्यक्रम यहाँ आयोजना हुनु स्वाभाविकै हो । यस्ता कार्यक्रममा दैनिक एक लाखजनासम्मले अवलोकन गरेका पनि पाइएको छ ।

केही समयअघिमात्र सरकार र नेपाल उद्योग वाणिज्य  महासंघको  संयुक्त आयोजनामा छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न भयो यहाँ । प्रधानमन्त्रीले उद्घाटन गरेका र सात दिनसम्म आयोजना भएको उक्त महोत्सवमा चीन, भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्यान्ड र भुटानको सहभागिता थियो । जसमा  ३०४ स्टल समावेश  थिए  । खाद्यान्न  तथा  कपडा, जडीबुटी, हस्तकला एवम् हिमाली क्षेत्रका उत्पादन समावेश रहेका उक्त मेलामा पनि दैनिक एक लाखको हाराहारीमा अवलोकनकर्ता पुगे । जुन निकै सराहनीय पाटो हो।

तर यहाँका भवन, प्रदर्शनी कक्ष एवं शौचालयको अवस्था हेर्ने हो भने त्यसले यो स्थानलाई ‘अन्तर्राष्ट्रिय स्तर’ को भन्न सुहाउँदैन । बर्सेनि महासंघले आयोजना गर्ने व्यापार मेलामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न र सहभागिताका लागि प्रोत्साहन गर्ने गरिन्छ । तर यस्तो महत्वपूर्ण आग्रह गर्ने स्थलकै हालत नाजुक हुनुले के सन्देश जान्छ ? हामीले कहिल्यै विचार गरेका छैनौँ।

उक्त स्थानमा शौचालयको अवस्था यस्तो छ कि स्टल राख्नेले कहिले मेला सकिएला भन्ने प्रतीक्षा गरिरहेका हुन्छन् भने अवलोकनकर्ता पनि सकभर समय छोट्याउन बाध्य हुन्छन्् । अर्को यहाँको सबैभन्दा दिक्कलाग्दो पक्ष हो– ठ्याम्मै महिलामैत्री वातावरण नहुनु । यसपटक हिमाली क्षेत्रका ६० भन्दा बढी उत्पादन, जस्तै जौ, फापर, आलु, चिनो, ट्राउट माछा, राडीपाखी, याक चिज, घिउ, केशर. डाले चुक, नेपाली हाते कागज, जडीबुटीका चिया र मसलासहितका उत्पादन लिएर हिमाली भेगका उत्पादनकर्ता सहभागी भएका थिए । जसमा महिला उद्यमीहरूको संख्या धेरै थियो । तर शौचालयदेखि सबै वातावरण महिलामैत्री नभएकै कारण उनीहरू चाहिने जति उत्साहित हुन ठ्याम्मै सकेनन् ।

एक त त्यति धेरै संख्यामा अवलोकनकर्ताले भ्रमण गर्ने ठाउँमा २–४ वटामात्रै शौचालय । अर्कोतर्फ महिला शौचालय पनि ढोका बन्द गर्नै नमिल्नेखालका । महिलालाई आवश्यक पर्ने डस्टबिनलगायतका सामग्री र सरसफाइका कुरा त निकै टाढाको हुने नै भयो । लाग्छ कि प्रदर्शनी गर्न दिएबापत त्यहाँबाट उठ्ने राजश्व निकै हुन्छ । अनि प्रश्न गर्न मन लाग्छ– यत्रो राजश्व कहाँ जाला ? किन एउटा प्रदर्शनीस्थलमा चाहिने आधारभूत कुरामा पनि ध्यान दिइन्न ? यतिबेला यो प्रश्नको उत्तर मेला आयोजक, स्टल राख्नेहरू तथा अवलोकनकर्ता सबैले खोज्नुपर्ने बेला भएको छ । जसमा यहाँबाट प्राप्त हुने आम्दानीको पारदर्शिता पनि जोडिएको छ ।

हुन त यसपालिको व्यापार मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्रीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले व्यापार मेला क्रेता, बिक्रेता र सिर्जनाकारको जमघट थलो भएकाले काठमाडौँको चोभारमा अन्तर्राष्ट्रिय प्रकृतिको मेला र महोत्सव आयोजनाका लागि उपयुक्त हुने एक अत्याधुनिक भवन निर्माण गर्न  सरकारले सघाउनुपर्ने माग राखे । प्रधानमन्त्रीले त्यसै दिन बस्ने मन्त्रिपरिषद्को बैठकले नीतिगत निर्णय गर्ने  आश्वासन पनि दिए । कतिसम्म यो साँचो ठहरिन्छ र कार्यान्वयनमा आउँछ भन्ने समयले बताउला तर एउटा निजी संस्थाको पदीय जिम्मेवार व्यक्तिले सोच्ने ठूलो कुराभन्दा सर्वसाधारणले दैनिक भोग्ने अत्यावश्यक तर कठिनाइ समाधान गर्नु ठूलो महत्वको हुन जान्छ ।

यति ठूला कुरा भइरहँदा सर्वसाधारणदेखि सबैले भोगिरहेका माथि उल्लिखित ‘साना’ तर सबैलाई सताउने समस्याको कुरा उठ्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्री र महासंघका पदाधिकारीले भइरहेका समस्या समाधानका लागि पहल गर्ने वा कुरा उठाउने चासो देखाउनुपर्छ कि पर्दैन ? महिलामैत्री वातावरण नै नभएपछि त्यहाँ कसरी महिला आउन सक्छन् र महिलालाई उद्यममा लगाउने महासंघको उद्देश्य पूर्ति हुन सक्छ ? ठूला कुराको सपना देख्नु नराम्रो पक्कै होइन तर त्यो बनुन्जेल विद्यमान समस्या समाधान गर्ने तदारुकता किन देखाइन्न ? यस्ता धेरै प्रश्न छन् जसले महिला उद्यमीलाई पटक्कै आकर्षित गर्दैनन् । तर यसतर्फ ध्यान कसले दिने ?

महिला हक र अधिकारका आवाज उठाएर समानता खोज्ने प्रचलन रहेको हाम्रो देशमा स्वयंमा प्रेरित भएर उद्यमशील बनेका महिलाका  लागि  महिलामैत्री वातावारण सिर्जनामा ख्याल गरिनुपर्दैन ? साना व्यवसाय सञ्चालन गर्दै आएका महिलाको पहिचान र कदर गरिएको छ ? महिलाका नाममा धेरै भाषणभन्दा स्वस्थ वातावरण र सहज परिस्थिति निर्माणले उनीहरूलाई धेरै उत्साहित तुल्याउँछ । तर दुर्गन्धित वातावरणबीच प्रधानमन्त्रीदेखि महासंघका ठूला पदाधिकारीसम्मले गरेका ‘ठूला कुरा’ ले यी हिमाली महिला उद्यमीलाई कति हँसायो होला ? विचारणीय छ ।

प्रकाशित: २२ चैत्र २०७३ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App