१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको ‘एक नेता, एक तह’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि ‘एक नेता, एक तह’  नीति अख्तियार गर्ने भएको छ । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा सोमबार बसेको स्थायी कमिटी बैठकले आगामी माघ ७ गतेभित्र हुने तीनै तहको चुनावमा एक तहमा मात्र नेताहरू सहभागी हुन पाउने व्यवस्था गरेको छ । ‘तीन तहको निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरिएको छ’, बैठकपछि जारी एमालेको विज्ञप्तिमा भनिएको छ ।

एमालेले स्थानीय तह चुनावमा प्रतिस्पर्धामा गर्ने उम्मेदवारको छनोट ढिलोमा वैशाख १२ गतेभित्र गरिसक्ने भएको छ ।

बैठकले वडा कमिटीलाई चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उप महानगरपालिका र महानगरपालिका कमिटीलाई वैशाख ४ गतेसम्म, जिल्लालाई वैशाख ७ गतेसम्म उम्मेदवारको सिफारिस र निर्णय गर्न निर्देशन दिएको छ । त्यसैगरी प्रदेश कमिटीलाई वैशाख १० गतेसम्म उम्मेदवारको टुंगो लगाउन समय सीमा तोकिएको छ । केन्द्रबाट घोषणा गर्ने उम्मेदवारको निर्णय वैशाख १२ गते हुने एमालेले जनाएको छ । स्थानीय चुनावका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वैशाख १६ मा मनोनयन दर्ता हुनेछ ।

एमालेले स्थानीय तह चुनाव घोषणापत्र मस्यौदा समिति र स्थानीय निकाय चुनाव अनुगमन तथा समन्वय समितिसमेत गठन गरेको छ ।

उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति निर्माण गरेको छ । समन्वय समितिको नेतृत्व महासचिव ईश्वर पोखरेलले गर्नेछन् । घोषणापत्र समितिमा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिवहरू विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, लेखा आयोगका प्रमुख पुष्प कँडेल, पोलिटब्युरो सदस्यहरु लालबाबु पण्डित, बिन्दा पाण्डे, केन्द्रीय सदस्यहरू रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव छन् ।

वैशाख ३ गते बस्ने केन्द्रीय कमिटी बैठकले घोषणापत्रलाई अन्तिम रूपमा दिने एमाले सचिव योगेश भट्टराईले बताए ।

त्यसैगरी स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समितिमा सचिवहरू पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुवास नेम्बाङ, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्यहरू बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य रामकुमारी झा“क्री छन् ।

 

प्रकाशित: २२ चैत्र २०७३ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App