२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

उपत्यकामा वैशाख १ देखि हर्न बजाउन निषेध, नियम उल्लंघन गरे १५ सयसम्म जरिवाना

काठमाडौं – नयाँ वर्ष २०७४ को सुरुसँगै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनले हर्न बजाउन पाउने छैनन्। यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, प्रमुख जिल्ला अधिकारी तहको संयुक्त निर्णयबाट राजधानीको ध्वनि प्रदूषण घटाउन हर्नमाथि प्रतिबन्ध लगाउने तयारी गरिएको हो।

‘आगामी बैशाख १ देखि लागू हुने गरेर राजधानीलाई व्यवस्थित पार्न अनियन्त्रित रुपमा मनपरी शैलीमा प्रयोग हुने हर्न बजाउन पाइने छैन। त्यसलाई काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागको पहलमा अनिवार्य रुपमा निर्णय लागू हुनेछ,’ यातायात व्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डेले नागरिकन्युजसँग भने,‘राजधानीभित्रको ध्वनि प्रदूषण कम गर्न यो निर्णय भएको हो।’

हर्न रोक्न सरकारी निकाय लागिपरे पनि सार्वजनिक सवारी साधनभित्र हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न भने सम्बन्धित निकायले चासो दिएको छैन। ठूला बसदेखि माइक्रोबसहरुले चर्को अावाजमा संगीत बजाएर ध्वनि प्रदूषण गर्दै अाएका छन्।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुनेदेखि राजधानी भित्रिने र बाहिरिने मोटरसाइकल, टेम्पो तथा चारपांग्रे सवारी साधनहरुले हर्न बजाउन नपाउने उनले बताए। उनका अनुसार पहिलो चरणमा यो नियम काठमाडौं उपत्यकाभित्र लागू हुनेछ। इमर्जेन्सी र अति आवश्यकबाहेक हर्न प्रतिबन्ध गरिएको हो।

ध्वनि प्रदुषण नियन्त्रण गर्न सर्वसाधारणबाट आग्रह आएपछि काठमाडौं महानगरपालिकाले यो नियम लागू गर्न पहल गरेको काठमाडौं महानगरपालिकाका प्रमुख ईश्वरीराज पौडेलले बताए। ‘मनपरी शैलीमा बजाइने हर्न नियन्त्रणको लागि हर्न बजाउन प्रतिबन्ध लगाइन लागेको हो। यसलगत्तै पैदल यात्रुका लागि नयाँ नियम लागू गर्ने तयारी गरिरहेका छौं,’उनले भने,‘यो नियमले ध्वनि प्रदुषणको असर कम गर्नेछ।’ बैशाख १ देखि कार्यान्वयन हुने नियमले राजधानी व्यवस्थित पार्न सहयोग गर्ने प्रतिक्रिया उनले दिएका छन्।

हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले सुरुमा ५ सय, एक हजारदेखि १५ सयसम्म जरिवाना गर्नेछन्। बिरामी बोकेको एम्बुलेन्स, शव बाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधनको हकमा भने यो नियम लागू हुनेछैन। सार्वजनिक, निजी, सरकारी र पर्यटक सवारीले भने दुर्घटना हुने खतरा र एक भागबाट अर्को भाग नदेखिने मोड आएमा मात्र हर्न बजाउन पाउने छन्।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा एक सय ६४ को ‘ग’ अनुसार कसैले इमर्जेन्सीमा बाहेक सवारी साधनको हर्न बजाएमा पहिलो चरणमा पाँच सय, दोस्रो चरणमा १ हजार र तेस्रो चरणमा १५ सय जरिवाना कानुनी प्रावधान रहेको छ।

विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्र्रिय मान्यता अनुसार ७० देखि ८० डेसिबलको हर्नलाई सामान्य माने पनि काठमाडौं उपत्यकामा गुड्ने सवारीहरुले सयदेखि एक सय २० डिसिबलसम्म ध्वनि निकाल्ने गरेका छन्।

चर्को संगीतमा ध्यान पुगेन

हर्न रोक्न सरकारी निकाय लागिपरे पनि सार्वजनिक सवारी साधनभित्र हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न भने सम्बन्धित निकायले चासो दिएको छैन। ठूला बसदेखि माइक्रोबसहरुले चर्को अावाजमा संगीत बजाएर ध्वनि प्रदूषण गर्दै अाएका छन्। सवारी साधन खरिद गर्दाको बखतमा अाउने साउन्ड सिस्टमभन्दा ठूलो क्षमताका लाउड स्पिकर राखेर उनीहरुले यात्रुहरुलाई सास्ती दिइरहेका हुन्।

प्रकाशित: २१ चैत्र २०७३ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App