१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चेल्सीको पराजयले उपाधिहोड रोचक

लन्डन(रोयटर्स)– शीर्ष टोली चेल्सी शनिबार रेलिगेसनबाट बच्न संघर्षरत क्रिस्टल प्यालेससँग २–१ ले पराजित भएपछि इङ्लिस प्रिमियर लिगमा उपाधिहोड रोचक बनेको छ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलको पाँचौं मिनेटमा सेस फाब्रिगासले गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो । उनले इडेन हजार्डको पासलाई पोस्टको दिशा दिएका थिए । तर, क्रिस्टल प्यालेसले २ मिनेटको अन्तरमा २ गोल गरेपछि चेल्सीले अप्रत्याशित हार व्यहोरेको हो ।

नवौं मिनेटमा क्रिस्टियन बेंकेटेको पासमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा फर्काएका थिए । त्यसको २ मिनेटपछि जाहाको पासमा बेंकेटेले गरेको गोल क्रिस्टल प्यालेसको जितमा निर्णायक बन्यो । एन्टोनियो कोन्टेको चेल्सी सेम्टेम्बरपछि घरेलु मैदानमा पराजित भएको यो पहिलो हो ।

हारका वावजुद चेल्सी ६९ अंकका साथ शीर्ष स्थानमा यथावत् रहँदा ३१ अंक बटुलेको क्रिस्टल प्यालेस १६औं स्थानमा छ ।

‘अन्य टोलीका लागि यो नजिता राम्रो हो । यसले उपाधि होडलाई थप रोचक बनाएको छ,’ चेल्सीका प्रशिक्षक कोन्टेले भने, ‘गणितीय रूपमा लिग सकिएपछि उपाधि जित्ने टोली पक्का हुन्छ । अन्यथा सबै खेल जित्नैपर्छ किनकि इङ्ल्यान्डमा खेल्नु सहज छैन । हामीले बुधबार म्यानचेस्टर सिटीविरुद्ध खेल्छौं। अहिले महŒवपूर्ण भनेको हारबाट माथि उठ्दै अर्को खेलका लागि राम्रो तयारी गर्नु हो ।’

दोस्रो स्थानको टोटनह्यामले बर्नलीलाई २–० तथा लिभरपुलले डर्बी खेलमा एभर्टनमाथि ३–१ को नतिजा निकालेपछि उपाधिहोड रोचक बनेको हो ।

टोटनह्यामको जितमा इरिक डायर र सन ह्युङ मिनले दोस्रो हाफमा समान एक गोल गरे ।

६७औं मिनेटमा डायरले बर्नलीका रक्षक जेफ हेन्ड्रिकको गल्तीको फाइदा उठाउँदै बललाई जाली चुमाए। ७९औं मिनेटमा डेले अलीको पासमा सन मिनले गोल गर्दै टोटनह्यामको जित पक्का गरेका थिए ।

जितसँगै ६२ अंकका साथ दोस्रो स्थानमा रहेको टोटनह्यामले चेल्सीसँगको दूरी ७ अंकमा छोट्याएको छ। बर्नली भने ३२ अंकका साथ १५औं स्थानमा यथावत् छ ।

‘हामीले महत्वपूर्ण तीन अंक जोड्यौं । हामी अझै उपाधिहोडमा कायमै छौं । त्यस कारण चेल्सीले अंक गुमाउनु हाम्रा लागि राम्रो हो,’  टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले भने, ‘हामीले राम्रो खेलेका हौं उत्कृष्ट होइन । यहाँ आएर खेल्नु कठिन थियो तर खेलाडीले व्यावसायिक प्रदर्शन गरे । यसबाट म गौरवान्वित छु ।’

टोटेनह्यामले १९६०/६१ मा दोस्रो उपाधि जितेपछि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन ।

वेस्ट ब्रोमसँग गोलरहित बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेडले लिगमा अपराजित यात्रा १९औं खेलसम्म कायम राखे पनि टोलीको शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा धक्का लागेको छ।

जारी सिजनमा ११औं बराबरी खेलेको म्यानचेस्टर युनाइटेड ५३ अंकका साथ पाँचांै स्थानमा छ । ४४ अंकको वेस्ट ब्रोम आठौं स्थानमा छ ।

‘हामीले एकरूपको प्रदर्शन गर्न सकेनौं । राम्रो अवसर खेर फाल्यौं,’ युनाइटेडका प्रशिक्षक माउरिन्होले भने, ‘यो निराशाजनक छ । केही व्यक्तिले रेललाई धकेल्न सक्दैन । हामीले एक टोलीका रूपमा खेल जित्नुपथ्र्यो। अग्रपंक्तिमा रसफोर्ड, लिङ्गार्ड, एमखिटार्यन, मार्सियलजस्ता खेलाडी छन् । तर ज्लाटान र माटाले मात्र धेरै गोल गरेका छन् । गोल गर्ने थुप्रै अवसर खेर फाल्दा उनीहरुमाथि हाबी हुने मौका गुमायौं । फुटबलमा जितका लागि गोल गर्नुको विकल्प छैन ।’

साबिक विजेता लेस्टर सिटीले पनि शनिबार स्टोक सिटीलाई २–० ले हरायो । नयाँ प्रशिक्षक क्राएग शेक्सपियरको नेतृत्वमा लेस्टरको यो लगातार पाँचौं जित हो । किङ पावर रंगशालामा पाएको जितसँगै प्रिमियर लिग प्रशिक्षकका रूपमा पहिलो ४ खेल जित्ने शेक्सपियर पहिलो बेलायती प्रशिक्षक बनेका छन्। यसअघि जोजे माउरिन्हो, कार्लो एन्सेलोट्टी, गुस हिन्डिक र पेप ग्वार्डिओलाले यस्तो सफलता पाएका थिए।

‘मेरो प्रशिक्षक जीवन भर्खर सुरु भएको छ । तर ती हस्तीहरूको सफलतामा जोडिन पाउनु गर्वको विषय हो,’ शेक्सपियरले भने, ‘आजको खेल सहज थिएन । पहिलो गोल महत्वपूर्ण रह्यो।’

शनिबारै वाट्फोर्डले सन्डरल्यान्डलाई १–० पराजित गर्‍यो भने हल सिटीले वेस्ट ह्यामलाई २–१ ले हरायो। साउथह्यामटन र बर्नामाउथले गोलरहित बराबरी खेले।

प्रकाशित: २१ चैत्र २०७३ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App