१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नयाँ शक्तिका ३० केन्द्रीय सदस्य गच्छदारको पार्टी प्रवेश

नयाँ शक्ति संयोजक भट्टराई (बीच)

काठमाडौं-स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्तिमा महत्वपूर्ण जिम्मेवारी समालेका ३५ जनाभन्दा बढीले सो पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् ।

सहसंयोजक महेश कर्माेचसहित ३० जना केन्द्रीय नेताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् । नयाँ शक्तिका कर्मोचासहित  ३० केन्द्रीय सदस्य विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा पसेका छन् । गत असारमा कर्मोचालाई बाबुरामले आफूपछिको दोस्रो पद सहसंयोजक बनाएका थिए ।

नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गर्नेमा कर्मोचा, देव लिम्बू, सोनामा छिरिङ  शेर्पा, सीता श्रेष्ठ, रामेश्वर ढकाल, केदार शाक्य, लालबहादुर अर्याललगायत छन् ।    राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले नवप्रवेशी ती नेतालाई स्वागत गरे ।

नयाँ शक्तिबाट नेताहरू बाहिरिएका यो पहिलो घटना भने होइन । यसअघि रामेश्वर खनाल, निर्मल भट्टराई, मुमाराम खनाललगायतले नयाँ शक्ति छाडेका थिए । धु्रव पराजुलीले पनि पहिला नै नयाँ शक्ति छाडेका छन् । निर्मलले नयाँ पार्टी खोल्ने घोषणा गरिसकेका छन् । केही दिनअघि उनले भक्तपुरमा भेला बोलाएका थिए ।

कर्मोचाले नयाँ शक्तिमा भन्दा फोरम लोकतान्त्रिकमा काम गर्न सजिलो हुने ठानेर आफू प्रवेश गरेको बताए। ‘यतिखेर म बाबुरामजीप्रति कुनै टिप्पणी गर्न चाहन्नँ । नयाँ शक्तिमा रहेरभन्दा पनि लोकतान्त्रिक फोरममा बसेर काम गर्न सजिलो ठानेकाले प्रवेश गरेको हुँ’, फोरम लोकतान्त्रिक प्रवेशपछि नागरिकसँग उनले भने ।

स्रोत अनुसार गच्छदारले पार्टी नामबाट ‘मधेसी’ शब्द हटाउने भनेपछि कर्मोचालगायत नेता सो पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा कर्मोचाले आफू नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेको बताएका थिए ।

नयाँ शक्ति  सचिवालय सदस्य पर्शुराम खापुङले भने पार्टी छाडेका मध्ये अधिकांश अनुशासनको कारबाहीमा परेको बताए । केही नेताले छाड्दैमा पार्टीको शक्तिमा कुनै फेरबदल नहुने उनले बताए । ‘हाम्रो पार्टीमा मात्र होइन, अरु पार्टीमा पनि बेलाबेलामा अनुशासनको कारबाही हुन्छ । कारबाहीमा परेकाले पार्टी छाडेका हुनु’, खापुङले भने ।

 नयाँ शक्ति २०७२ साल जेठ ३० गते स्थापना भएको थियो । नयाँ शक्ति पार्टी स्थापना गर्नुअघि भट्टराईले सांसद पदबाट राजीनामा दिएका थिए ।

नेताहरूले  छाड्ने क्रम बढेपछि संयोजक भट्टराईले संघीय समाजवादी फोरम नेपाल अध्यक्ष्य उपेन्द्र यादवसँग पार्टी एकता प्रयास गरेका छन् । अघिल्लो महिना उनले संसद्मा एक सिट भएको गंगा चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपालसँग पार्टी एकीकरण गरेका थिए । यो एकतापछि नयाँ शक्तिको संसद्मा एक सिट भएको छ।

निर्वाचन आयोगले भने नयाँ शक्तिलाई दलीय चुनाव चिह्न दिएको छैन । भट्टराइले नयाँ शक्तिलाई दलीय आधारमा स्थानीय तह चुनाव लड्न चुनाव चिह्न नदिएको भन्दै निर्वाचन आयोगविरुद्ध आन्दोलन गरिरहेका छन् ।

प्रकाशित: २१ चैत्र २०७३ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App