१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेल किनबेच प्रकरण अनुसन्धान हुन्छः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एनसेलको किनबेचमा पुँजीगत लाभकर उठाउन प्रतिवद्ध रहेको बताएका छन्। टेलिया सोनेराले गत वर्ष एक्जियाटालाई उक्त कम्पनी बिक्री गर्दा सरकारले पाउनुपर्ने करिब ४५ अर्ब पूँजीगत लाभकर उठ्न सकेको छैन।

नेपाल टेलिभिजनमा प्रसारण हुने 'प्रधानमन्त्रीसँग सिधा कुरा' कार्यक्रममा शनिबार बोल्दै प्रधानमन्त्री दाहालले पूँजीगत लाभकर नलिइकन कम्पनीको बेचविखन अनुमति किन दिइयो भन्नेबारे अनुसन्धान गर्ने समेत बताए।

'कर उठाउने सन्दर्भमा विगतमा कहाँ त्रुटि भयो ? हाम्रो कानुनले बिक्रेताबाट लाभकर उठाउनु पर्ने भन्छ। बिक्रेताबाट कर उठाउन छोडेर उसलाई फुत्कन कसले दियो ? किन फुत्कन दिइयो यसको पनि अनुसन्धान हुनु पर्छ।'

'सरकारले कर तिर्नै पर्छ भन्ने निर्णय गरेको छ। कर तिर्न पर्दैन भने जस्तो गर्नु गलत हो', उनले भने, 'कर उठाउने सन्दर्भमा विगतमा कहाँ त्रुटि भयो ? हाम्रो कानुनले बिक्रेताबाट लाभकर उठाउनु पर्ने भन्छ। बिक्रेताबाट कर उठाउन छोडेर उसलाई फुत्कन कसले दियो ? किन फुत्कन दिइयो यसको पनि अनुसन्धान हुनु पर्छ।'

प्रधानमन्त्रीले एनसेल खरिदबिक्रीमा सरकारले लाभकर उठाएरै छोड्ने दोहोर्‍याए। 'यहाँ भित्र विभिन्न खालका चलखेल र खेलहरु देखिएका छन् योबारेमा पनि सरकारले गम्भीररुपमा अध्यान गर्छ,' दाहालले भने।

मलेशियन टेलिकम्युनिकेसन कम्पनी एक्जियटालेले टेलियासोनेराबाट रेनोल्डस् होल्डिङ गत बर्ष अप्रिलमा खरिद गरेको थियो। एक्जियटाले टेलिया सोनेरबाट एनसेल १.०३ विलियन डलरमा खरिद गरेको थियो। टेलिया सोनेराले सेन्ट किट्स एण्ड नेभिसमा दर्ता भएको अफसोर कम्पनी रेनोल्ड होल्डिङ्स मार्फत एनसेलमा लगानी गरेको थियो।

गत वर्ष पुसमा स्विडिस कम्पनी टेलियासोनेरा (हालको टेलिया) ले मलेसियन कम्पनी एक्जियटालाई एनसेल बिक्री गर्दा नेपाल सरकारले पाउनुपर्ने पुँजीगत लाभकर छलेको हो। झन्डै १ खर्ब ४० अर्ब रुपैयाँमा कारोबार भएको नेपालको सबैभन्दा ठूला कर्पोरेट किनबेचमा दुवै कम्पनी विदेशी भएको र 'अफसोर डिलिङ' भएको भन्दै टेलियासोनेराले पुँजीगत लाभकर नबुझाए नेपालबाट बाहिरिएको थियो। नेपाली कर प्रशासनले टेलिया नेपालबाट बाहिरिएपछि मात्रै कर उठाउने प्रक्रिया सुरु गरेको थियो। अहिले एनसेलको सम्पूर्ण सेयर एक्सियटा (८० प्रतिशत) र भावना श्रेष्ठ (२० प्रतिशत) मा छ।

कानुनअनुसार विदेशी लगानी भएको कुनै पनि कम्पनीमा नेपाली नागरिकको कम्तिमा २० प्रतिशत सेयर हुनुपर्ने नियम छ। एनसेलको सञ्चालक टेलिया र एक्जियटाबीच १ खर्ब ४० अर्ब रुपैयाँमा कम्पनी खरिदबिक्री भएकोमा उक्त कारोबारमार्फत करिब ४४ अर्ब ९३ करोड रुपैयाँ लाभकर राज्यले पाउनुपर्ने ठहर गरिएको छ।

केही सरकारी अधिकारीसँगको मिलेमतोमा लाभकर नतिरी नेपाल छाडेको टेलियाले जस्तोसुकै संरचनामार्फत लगानी गरेको भए पनि एनसेल नेपालमा रहेको कम्पनी भएकोले नेपालमा उसले लाभकर तिर्नु पर्नेहुन्छ।

प्रकाशित: २० चैत्र २०७३ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App