१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भत्काउन हतार, कालोपत्रे सुस्त

काठमाडौं-मेलम्चीको पानी काठमाडौंमा ल्याउने भन्दै सडकमा धमाधम पाइप बिछ्याइएको छ। जसले उपत्यकामा बाक्लिँदै गएको धुलोले सर्वसाधारण अक्रान्त भइरहेका छन्। जुन रफ्तारले पाइपलाइन बिछ्याउनका लागि चिल्ला सडक भत्काइएका छन्, त्यसको उल्टो गतिमा कालोपत्रे भइरहेको छ।

मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयले जताततै पाइप बिछ्याउन सडक भत्काउने गर्छ । तर, सोही अनुपातमा सडक कालोपत्रे नगर्दा उपत्यकाको आकासमा कुहिरोमण्डल छाइरहेको छ । आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार अहिले उपत्यकामा खानेपानी वितरण प्रणाली सञ्जालअन्तर्गत ६ सय ७० किलोमिटरअन्तर्गत पाँच सय ५० किलोमिटर सडकमा पाइपलाइन बिछ्याइएको छ । थोकलाइन ६० किलोमिटरमध्ये ४२ किलोमिटर पाइप बिछ्याइसकिएको छ । आयोजनाले ८ किलोमिटर र सडक विभागले साढे तीन किलोमिटर पाइपलाइन् बिछ्याएको सडकमा कालोपत्रे गरिएको निर्देशनालयले जनाएको छ।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले पाइपलाइन बिछ्याए अनुसारको कालोपत्रे गर्न नसकिएको स्वीकार गरे । ‘पाइप ओछ्याउने बित्तिकै कालोपत्रे गर्न मिल्दैन् ,केही समय  लागिहाल्छ नि !’ उनले भने, ‘तत्कालै पिच गर्दा सडक नै दब्ने समस्या हुन्छ । त्यसैले सडकलाई कम्प्याक्सन गरेर मात्रै पिच गर्नुपर्ने हुन्छ ।’

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक अयोध्याप्रसाद श्रेष्ठले आयोजना कार्यान्वयन निर्देशनालयले समयमा नै सडक उपलब्ध गराउन नसक्दा पाइप ओछ्याइएका सडक कालोपत्रे गर्न ढिलाइ भइरहेको बताए ।

‘मुख्य सडक कालोपत्रे गर्ने जिम्मा मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयको हो । तर, जनताले भने सडक कालोपत्रे नभएको दोष सडक विभागलाई दिइरहेका छन्,’ उनले भने ‘पाइपलाइनका लागि भत्काइएका सडक ग्राभेल तथा कम्प्याक्सन गरेर मात्रै उपलब्ध गराउनुपथ्र्यो तर कतिपय ठाउँमा प्रेसर टेष्ट नभएको भनेर सडक उपलब्ध भएको छैन ।’

मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालय र सडक विभागबीच उपत्यकामा ५७ वटा सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो ।  जसअनुसार झण्डै ६० किलोमिटर सडक पिच गर्ने जिम्मेवारी सडक विभागको रहेको छ ।

‘साढे पाँच किलोमिटर सडकमध्ये साढे तीन किलोमिटर कालोपत्रे गरिसक्यौं,’ निर्देशक श्रेष्ठले भने,‘निर्देशनालयले जति छिटो सडक उपलब्ध गराउँछ त्यति नै छिटो कालोपत्रे गछौं । ‘मेलम्ची आयोजनाले सडक सामान्य पुरेर मात्रै उपलब्ध गराउँदा तत्कालै कालोपत्रे गर्न सकिँदैन ।’

सडक विभागका अनुसार लैनचौर– पानी पोखरी, माइतीघर– थापाथाली सडक, पद्मोदय मोडदेखि सिंहदरबार दक्षिणीढोका सम्म कालोपत्रे गरिसकिएको छ ।

‘भत्काइएका सडक पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइसकेका छौं,’ प्रवक्ता ढकालले भने, ‘असारभित्रै भत्किएका सडक बनाइसक्छौं ।’ निर्देशनालयले पाइपलाइन विस्तार भइसकेको सडकमा कालोपत्रे गर्न सबबेस र सबग्रेड तयार भइरहेको जनाएको छ । बहुप्रतीक्षित मेलम्ची खानेपानीलाई सरकारले आगामी असोजभित्रै काठमाडौं उपत्यकामा ल्याउने तयारी गरिरहेको छ । दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ । सरसफाइ तथा खानेपानी मन्त्रालयले असार मसान्तभित्रै पाइपलाइन बिछ्याइएका सडकको पुनर्निर्माण गर्न सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपलिका र अन्य ठेकेदार कम्पनीलाई जिम्मा दिइसकेको छ।

 

प्रकाशित: २० चैत्र २०७३ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App