१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्प पीडितको लगत लिन अझै पुगेनन् प्राविधिक

ग्रिन भ्यालीको उपमा पाएको खुम्जुङ गाउँ । तस्विर : राधा ढुंगाना

सोलुखुम्बु – भूकम्प गएको दुई वर्ष बित्न लाग्दा समेत सोलुखुम्बुको पर्यटकीय खुम्बु क्षेत्रका भूकम्प प्रभावितहरूको लगत संकलनमा सरकारले चासो दिएको छैन् । 
जिल्लाको तल्लो क्षेत्रको सबै भूकम्प पीडितहरूको लगत संकलन गरिएपनि उच्च हिमाली क्षेत्रको खुम्जुङ, नाम्चे र चौरीखर्क गरी ३ गाविसमा भने अझै लगत संकलनको काम सुरु हुन सकेको छैन् । त्यस क्षेत्रका भूकम्प पीडितहरूको लगत संकलनका लागि प्राविधिक पठाउने निर्णय कागजमै सिमित बनेको छ । 


‘कतिपय ठाउँमा घर बनाएर आधा भइसक्यो, खुम्बुमा प्राविधिकले खुट्टा समेत टेकेको छैन’ – पेम्बाछिरिङ शेर्पा

करिव दुई महिना अघि नै जिल्लाको तल्लो क्षेत्रमा प्राविधिकहरू खटाइए पनि चिसोको कारण देखाएर जिल्लाको माथिल्लो क्षेत्र खुम्बुका तीन गाबिसमा फागुन १५ गतेबाट  प्राबिधिक खटाउने जिल्लाका सरोकारवालाहरूले निर्णय गरेका थिए । तर चैत्र १५ बितिसक्दा सम्म प्राविधिक खटाइएको छैन । साथै संगै खटिने सामाजिक परिचालकलाई तालिम दिनेदेखि प्राविधिक झिकाउने सम्मका काम पनि भएको छैन् । उच्च हिमाली क्षेत्रमा हिमपात हुने, त्यहाँका सर्वसाधरण समेत चिसोमा नबस्ने कारण भूकम्प पीडितहरूको लगत संकलन कार्य फागुन १५ गतेबाट मात्रै गर्ने गरी जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वपक्षीय छलफलले सुझाव सहितको निर्णय पुनःनिर्माण प्राधिकरणलाई पठाएको थियो । 
तर सो निर्णय कार्यन्वयन गर्न आजसम्म कुनै पक्षले चासो दिएको छैन । प्राविधिक झिाकाउन ताकेता गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । चौरीखर्क र नाम्चेमा सामाजिक परिचालक भए पनि खुम्जुङमा सामाजिक परिचालक समेत छैनन् । न्यानो सुरु भइ त्यस भेगका नागरिकहरू गाउँ फर्किसक्दा समेत तथ्याङ्क विभागले प्राविधिक पठाउन चासो नदिएको हो । ‘कतिपय ठाउँमा घर बनाएर आधा भइसक्यो, खुम्बुमा प्राविधिकले खुट्टा समेत टेकेको छैन’ खुम्जुङका पेम्बाछिरिङ शेर्पाले बताए । 
उता तथ्याङ्क विभागको लगत संकलन कार्यालयले प्राविधिक पठाउन ढिलाइ नहुने बताएको छ । चैत्र २५ गते १० प्राविधिकहरू सोलुखुम्बु आएर काम थाल्ने तथ्याङ्क विभागको लगत संकलन कार्यलय ओखलढुंगाका तथ्यांक अधिकृत राजेश दासले जानकारी दिए । खुम्बु क्षेत्रका भूकम्प प्रभावितहरूको लगत संकलनका लागि १० जना प्राविधिक सोलुखुम्बु आउने भएका छन् । यस अघि खटिएका ४२ जना प्राविधिकले सोलुखुम्बुको तल्लो क्षेत्रका १७ हजार ८९ परिवारको लगत संकलन गरेको छ । सोलुमा जम्मा १८ हजार ३ सय ८४ परिवार रहेकोमा खुम्बु क्षेत्रका साविकका ३ गाविसमा १२ सय ९५ घरपरिवारको भूकम्प प्रभावितहरूको लगत संकलन बाँकी रहेको छ । 
 

 

प्रकाशित: १८ चैत्र २०७३ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App