१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल प्रतिष्ठा जोगाउन सफल

काठमाडौं- कप्तान ज्ञानेन्द्र मल्लको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले बिहीबार एसिसी इमर्जिङ कपमा हङकङमाथि ७ विकेटको जित निकालेको छ। बंगलादेशको कक्स बजारस्थित शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई जिताउन ज्ञानेन्द्रले ७० रन बनाए भने महत्वपूर्ण २ विकेट पनि लिए। टस हारेर ब्याटिङका लागि निम्त्याइएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। २ सय १५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

पहिलो खेलमा पाकिस्तानसँग ६ तथा दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि बिहीबारको खेल प्रतिष्ठामा सीमित बनेको थियो। एसोसिएट राष्ट्रमा परिचित प्रतिद्वन्द्वीका रूपमा रहेको नेपालले हङकङमाथि विजय हासिल गरेको यो छैटौं खेल हो। १० एकदिवसीय खेलमा नेपाल ६ मा विजयी भएको छ भने ४ खेलमा पराजित भएको थियो। यस जितले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हुने खेलमा नेपालको मनोबल बढेको छ।

ओपनरद्धय क्यामेरुन म्याकऔसलन र अंशुमन रथले हङकङलाई राम्रो सुरुआत दिलाएका थिए। दुईले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गर्दै नेपाली बलरलाई निराश पारेका थिए। ६० बलमा ७ चौकासहित ५१ रन बनाएका अंशुमनलाई ज्ञानेन्द्रले ‘कट एन्ड बोल्ड’ गरेपछि हङकङले निरन्तर विकेट गुमायो।

२१औं ओभरको अन्तिम बलमा अंशुमनलाई आउट गरेका ज्ञानेन्द्रले २३औं ओभरको दोस्रो बलमा म्याकऔसलनलाई पनि ‘कट एन्ड बोल्ड’ गरेका थिए। म्याकऔसलनले ७३ बलमा ५ चौकासहित ४३ रन बनाएका थिए। ९ बलअन्तरमा ओपनरद्वयलाई गुमाएपछि हङकङका कुनै पनि ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन्।

६ रन बनाएका निजाकत खानलाई सन्दीप लामिछानेले ज्ञानेन्द्रमार्फत क्याच गरे। २० ओभरसम्म ९५–० को स्थितिमा रहेको हङकङले २४औं ओभर सकिँदासम्म थप ११ रन मात्र जोड्दै ३ विकेट गुमाएको थियो। वाकस खानले बाबर हायतसँग चौथो विकेटका लागि २६ तथा वाजिद शाहसँग पाँचांै विकेटका लागि २८ रनको साझेदारी गर्दै हङकङको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। बाबरलाई बायाँहाते स्पिनर भुवन कार्कीले सुसन भारीबाट क्याच गराए भने वाकसलाई सुसनले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए।

बाबर ९ रनमा पवेलियन फकर्िंदा वाकसले ३ चौकासहित ३० रन जोडे। हङकङका शाहिद वासिफले २२, एसन खानले १८ र वाजिद शाहले १६ रन बनाए।

नेपालका अविनाश कर्णले ५ ओभरमा २९ रन दिएर ३ विकेट लिए। प्रतियोगितामा अविनाश नेपालबाट धेरै विकेट लिने खेलाडी हुन्। २ खेलमा १३ ओभर बलिङ गरेका अविनाशले ७५ रन दिएर ६ विकेट लिए।

१० ओभर बलिङ गरेका ज्ञानेन्द्रले २५ रन दिएर २ विकेट लिए। त्यस्तै भुवन र सुसनले समान २/२ विकेट लिए भने सन्दीपको नाममा १ विकेट रह्यो। ज्ञानेन्द्र र सन्दीपले प्रतियोगितामा समान ५/५ विकेट लिए।

ओपनिङमा समस्या देखिएको नेपालले बिहीबार आसिफ शेखलाई मौका दिएको थियो। त्यसअघि ओपनिङ गरिरहेका सुनील धमला टोलीमा अटेका थिएनन्। पछिल्लो २ खेलमा ३ रन मात्र बनाउन सकेका कप्तान ज्ञानेन्द्र र आसिफले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे। ११औं ओभरमा आसिफ झटभेध सुब्रह्मण्यम्को बलमा एलबिडब्लु आउट भए। आसिफले २३ बलमा १ चौकासहित ८ रन बनाए।

त्यसपछि ज्ञानेन्द्रले दिलीप नाथसँग दोस्रो विकेटका लागि ४४ रनको साझेदारी गरे। २०औं ओभरमा निजाकतको बलमा एलबिडब्लु आउट भएका दिलीपले १२ रन जोडे। लगत्तै ८२ बलमा ११ चौकासहित ७० रन जोडेका ज्ञानेन्द्र पनि सुब्रह्मण्यम्को बलमा बोल्ड भएपछि नेपालको इनिङ लडखडाएको थियो।

तर, युवा खेलाडी दीपेन्द्रसिंह ऐरी र अनुभवी शरद भेषावकरले नेपालका लागि विजयी इनिङ खेले। दुईले पाँचौं विकेटका लागि अविजित १ सय ५ रनको साझेदारी गरे। दीपेन्द्रले ८३ बलमा ५ चौका र १ छक्कासहित अविजित ६० रन बनाए भने शरदले ५१ बलमा ३ चौका र ३ छक्का हान्दै ५५ रन बनाए।

प्रतियोगितामा दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो भने राष्ट्रिय टोलीबाट पाँच खेलमा उनको यो तेस्रो अर्धशतक हो। प्रतियोगितामा १ सय ३० रन जोडेका दीपेन्द्रसिंह नेपालबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। दीपेन्द्रसिंहपछि शरदले ९५ रन र ज्ञानेन्द्रले ७२ रन बनाएका छन्।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा डेब्यु गरेका दीपेन्द्रसिंहले यसअघि बंगलादेशविरुद्ध ५६ र केन्याविरुद्धको दोस्रो खेलमा ६२ रन जोडेका थिए। राष्ट्रिय टोलीमा ५ खेलबाट उनले २ सय ११ रन जोडिसकेका छन्।

नेपाल सम्मिलित समूह ‘बी’ बाट पाकिस्तान र आयोजक बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन्। बिहीबार समूहको अन्तिम खेलमा पाकिस्तान र बंगलादेशको खेल ‘टाई’ भएको छ। टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो। २ सय ३४ रनको लक्ष्य पछ्याएको बंगलादेशले पनि ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३३ रन नै बनाएपछि खेल टाई भएको थियो। समान ५ अंक भए पनि पाकिस्तान रनरेटका आधारमा शीर्ष टोलीको हैसियत लिई सेमिफाइनल प्रवेश गरेको छ भने बंगलादेश उपविजेता बनेको छ।

पाकिस्तानले समूह ‘ए’ को उपविजेता अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने बंगलादेशले श्रीलंकाविरुद्ध खेल्नेछ।

बिहीबारै भएको समूह ‘ए’ मा श्रीलंकाले मलेसियालाई २ सय ५ रनले हरायो भने अफगानिस्तानले अघिल्लो संस्करणको विजेता भारतलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

चित्तागोङस्थित एमए अजिज रंगशालामा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो। श्रीलंकाका सदिरा समरविक्रमाले १ सय २१ रन बनाए भने चरिथ अशलंकाले ७८ रन बनाए। ३ सय १२ रनको लक्ष्य पछ्याएको मलेसियाले २७.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो। श्रीलंकाका अमिला एपोन्सोले ५ विकेट लिए भने वानिदु हसरंगाले ३ विकेट लिए।

चित्तगोङकै जहुर अहमेद चौधरी रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो। २ सय ४३ रनको लक्ष्य अफगानिस्तानले २१ बलअघि ८ विकेट गुमाएर पूरा गरेको थियो। पराजयसँगै अघिल्लो संस्करणको भारत समूहचरणबाटै बाहिरियो। सिंगापुरमा भएको पहिलो संस्करणमा भारतले पाकिस्तानलाई ९ विकेटले हराउँदै उपाधि जितेको थियो।

प्रकाशित: १८ चैत्र २०७३ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App