१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको आग्रह (भिडियाे)

पत्रकार सम्मेलनमा माअाेवादी नेता कृष्णबहादुर महरा तथा प्रवक्ता पम्फा भुषाल

काठमाडौं– ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेको छ। समर्थन फिर्ता लिए लगत्तै सिंहदरबारस्थित पार्टी संसदीय दल कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादीले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको हो।

‘सहमतीय सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा एमालेकै समर्थन पनि हुने सम्भावना छ’, माओवादी नेता कृष्णबहादुर महराले भने, ‘त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशसस्त गरिदिनु पर्छ। त्यसका लागि हामी आग्रह गर्दछौं।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन गर्न नेपाली कांग्रेससँग लिखित सहमति भएको दाबी महराले गरे। सरकारको नेतृत्व कांग्रेससँग आलोपालोमा गर्ने सहमति भएको उनले बताए। ‘कति समय कसले नेतृत्व गर्ने भन्ने कुरा तपाइँहरुले भोलिसम्म थाहा पाउनुहुन्छ’, उनले भने, ‘कांग्रेसले यसबारेमा जानकारी गराउनेछ।’
सहमतिका विस्तृत बुँदा बुधबार संयुक्त रुपमा सार्वजनिक गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया सुरु भएकाले यसमा एमाले पनि सहभागी हुनसक्ने उनको भनाइ थियो। आजै साँझ बस्ने एमाले स्थायी कमिटी बैठकले दाहाल नेतृत्वलाई समर्थन गर्ने सम्भावना समेत रहेको उनले दाबी गरे।

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्रमा हस्ताक्षर गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल पत्रकार सम्मेलनमा उपस्थित भएनन्। नेता महरा र प्रवक्ता पम्फा भुसाल पत्रकार सम्मेलनमा थिए।

कांग्रेस र माओवादी मिल्दा समेत सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने अवस्था छैन। तपाइँहरु कसरी सरकार बनाउनुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले भने, ‘हामीलाई आवश्यकताभन्दा बढी नै समर्थन प्राप्त हुन्छ।’ कुन कुन पार्टीको समर्थन हुन्छ भन्ने उनले खुलाएनन्।

भिडियाे

प्रकाशित: २८ असार २०७३ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App