१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ठेकेदारको लापरबाहीले यात्रुलाई सकस

काठमाडौं- चक्रपथ चोकबाट चप्पल कारखानासम्मको सडकको दुरी करिब एक किलोमिटर छ। अहिले यो सडक पार गर्न घन्टाभन्दा बढी समय लाग्छ। नलागोस् पनि कसरी? सडकको आधाभन्दा बढी भागमा माटो र रोडा थुपारिएर सडक साँघुराइएको छ।

सडक नै साँघुरो हुने गरी माटो थुपार्ने निकाय हो– काठमाडौं उपत्यका खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची–२।

सडक नै साँघुरो हुनेगरी माटो थुपार्ने निकाय हो– काठमाडौं उपत्यका खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची–२। यो निकायले अहिले उपत्यकाभित्र मेलम्चीको पानी ल्याउन सडक खनेर पाइप बिछ्याउने काम गरिरहेको छ। यही पाइप बिछ्याउँदा खनेको माटो ल्याएर चक्रपथमा थुपार्दा सर्वसाधारणले सास्ती खेपिरहेका छन्। सडक साँघुरो हुने गरी माटो राखेको १० दिनभन्दा बढी भइसकेको छ।

‘सडकमा माटो थुपारेपछि सवारी गुडाउन सकस भएको छ। जाम त हुने नै भयो। घाममा उड्ने धुलो र पानी पर्ने बेलाको हिलो पनि काठमाडौंको परिचय भइसक्यो। जनताको सास्ती त छँदैछ,’ चक्रपथमा बस गुडाउँदै आएका चालक रामशरण अधिकारीले भने, ‘सडकमा यसरी माटो थुपारिएको १० दिनभन्दा बढी भइसकेको छ।’

आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेश खत्रीले 'निर्माण कम्पनीलाई त्यसो नगर्न भन्दा पनि गम्भीर लापरबाही गर्दै आएको' बताए। खत्रीका अनुसार चक्रपथ आसपासको क्षेत्र भारतीय निर्माण कम्पनी जेआइटिएफले जिम्मा लिएको छ। जेआइटिएफ र अर्को निर्माण कम्पनी बिकोईले यसरी सडक साँघुरो बनाएर माटो थुपारेका हुन्।

जेआइटिएफ तथा उक्त कम्पनीको सब कन्ट्रयाक्टर बिकोईले भने चक्रपथ–बाँसबारी क्षेत्रमा पाइप बिछ्याउने क्रममा सडकमा भएको माटो चक्रपथ–चप्पल कारखाना सडकमा थुपारेको जनायो। बिकोई कम्पनीका होमनाथ कोइरालाका अनुसार चक्रपथ–बाँसबारी भिआईपी हिँड्ने सडक भएकाले आवतजावतमा असर नपरोस् भनेर अर्कोतिर ल्याएर माटो थुपारिएको हो। खनेको माटो तथा बेसमेन्ट समेत थुप्रिएको हुँदा सडक बढी अवरुद्ध भएको उनले स्विकारे। जेआइटिएफका पिज ढकालले केही दिनभित्र सडकको माटो हटाउने बताए।

प्रकाशित: १८ चैत्र २०७३ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App