१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

'साँघुरो विमानस्थलले बढी पर्यटक ल्याउन सकिएन'

काठमाडौं- होटल व्यवसायीहरूले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो र अव्यवस्थित हुँदा चाहेर पनि धेरै पर्यटक ल्याउन नसकेको गुनासो गरेका छन्।

हवाई मार्गबाट आउने विदेशी पाहुनाको पहिलो पाइला पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र व्यवस्थित हुन नसक्दा विश्व पर्यटन बजार र पर्यटकमाझ नेपालको छवि धुमिल हुँदै गएको समेत उनीहरूको भनाइ छ।

'जबसम्म त्रिभुवन विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन सकिँदैन तबसम्म हामीले दसौं लाख पर्यटक ल्याउने सपना नदेखे पनि हुन्छ,' होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले बुधबार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष अमरमान शाक्यले भने, 'सँगसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र क्षेत्रीय विमानस्थल निर्माणकार्य पनि तीव्र गतिमा अगाडि बढाउनुपर्छ।'

सन् २०२० भित्र तीन दर्जनजति अन्तर्राष्ट्रिय मापदण्डका होटल सञ्चालनमा आउन लागेको शाक्यले जानकारी दिए। 'होटल उद्योगमा ठूला व्यापारिक घराना पनि संलग्न हुनु यो क्षेत्रमा विश्वास गरेको उदाहरण हो,' उनले भने, 'नयाँ होटल आउनु राम्रो भए पनि तिनले पाहुनालाई दिने सेवा गुणस्तरीय बनाउने चुनौती प्रमुख कुरा हो।'

पछिल्लो पटक काठमाडौंका प्रमुख पर्यटन गन्तव्यमा खुलेका अनधिकृत 'होमस्टे' जसले सरकारलाई कर तिर्दैनन्, तिनका कारण होटल उद्योग समस्यामा परेको उनको भनाइ छ। होटल उद्योगको भविष्य उज्ज्वल बनाउन सबैसँग हातेमालो गर्दै अगाडि नबढे समस्या जटिल हुने उनले बताए।

होटल उद्योगमा पहिलो पटक हात हालेको एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले होटल निर्माण सुुरु गर्नुअघि बैंकको ब्याज दर ७ प्रतिशत तोकिए पनि निर्माण हुन थालेपछि बढेर १२ प्रतिशत पुगेको गुनासो गरे। 'यस्तो अवस्थामा सकारले लगानीकर्तालाई वित्तीय सहयोग दिनुपर्छ,' उनले भने।

त्यसैगरी अन्तर्राष्ट्रिय होटल चेन हायात र हिल्टनमार्फत दुईवटा होटल निर्माण गरिरहेको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले पर्यटक वृद्धि गर्न त्रिभुवन विमानस्थल सुधार र विस्तार गर्नैपर्ने र थप दुई/चारवटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने सुझाव दिए। 'नेपाललाई एक उत्कृष्ट गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन र बजारीकरण गर्न सकिएको छैन,' उनले भने।

एसियन ट्रेकिङ प्रालिका अध्यक्ष आङछिरिङ शेर्पाले त्रिभुवन विमानस्थल असाध्यै साँघुरो भएका कारण पर्यटकदेखि लाखौं यात्रुलाई समस्या परेको बताए। 'विमानस्थलमा दिउँसो खुट्टा टेक्ने ठाउँ हुँदैन तर राति भुसुना पनि हुँदैन,' उनले भने, 'यसलाई चौबीसै घन्टा सञ्चालन गर्ने व्यवस्था हुनुपर्‍यो र आन्तरिक उडान सञ्चालन यसबाट हटाएर अन्तै लगेमात्र केही राहत हुने छ।'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले त्रिभुवन विमानस्थल विस्तारका लागि पुनः काम सुरु भएको जानकारी दिए। भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण कार्य २५ प्रतिशत पूरा भएको र दुई वर्षभित्र सबै काम सकिने उनको भनाइ छ। त्यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम आगामी जुलाई १ बाट सुरु हुने उनले बताए।

'विगतमा होटलहरूले पर्यटक तान्न सस्तो मूल्यमा कोठा बेचेर गलत कदम चाले,' उनले भने, 'तपाईंहरू आफ्नो मापदण्ड र गुणस्तर कायम राख्नुस् र मूल्य घटाउने काम गर्दै नगर्नुस्।'

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले त्रिभुवन विमानस्थलको धावनमार्ग असाध्यै जीर्ण भए पनि अर्को विकल्प नभएका कारण यसलाई मर्मत गर्न द्रुत गतिमा काम गर्न नसकिएको बताए। 'त्यही भएर १ सय ९८ टनसम्म तौल भएका जहाजलाई मात्र अवतरण अनुमति दिइएको छ,' उनले भने, 'विमानस्थलको वर्तमान समस्या समाधान गर्न मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले काम गरिरहेका छन्। केही अवधिमा समस्या समाधान हुने छ।'

प्रकाशित: १७ चैत्र २०७३ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App