१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोखरा-लेखनाथ महानगरमा उम्मेदवार बन्न दौडधुप

पोखरा- पोखरा-लेखनाथ महानगरपालिका बनेपछिको पहिलो निर्वाचनमार्फत महानगर प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) बन्ने आकांक्षा बोकेका राजनीतिक दलका नेताबीच उम्मेदवारीको दौडधुप सुरु भएको छ। महानगरको पहिलो मेयर र उपमेयर बन्ने चाहना बोकेका नेताहरु अहिले आफ्नो पक्षमा समर्थन जुटाउन आन्तरिक लबिङमा व्यस्त छन्।

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको माहोल बढ्दै जाँदा राजनीतिक दलमा उम्मेदवार चयनको चर्चा बढेको हो। दलले आधिकारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि सम्भावित उम्मेदवारको चर्चा यतिबेला बजार, चोक, चियापसल, होटल, रेस्टुरेन्ट जताततै छ। दलका प्रभावशाली नेता नै पोखराको प्रमुख र उपप्रमुखको उम्मेदवारको चर्चामा छन्। 

कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका नेताकार्यकर्ताबीच मेयर र उपमेयर उम्मेदवारको चर्चा बढेको छ। कांग्रेसभित्र महानगर प्रमुखका लागि आधा दर्जन बढीको चर्चा छ। पोखरा नगर सभापति बजिरमान श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिन्दुकुमार थापा, महाधिवेशन प्रतिनिधिद्वय वीरेन्द्रनारायण बिजुक्छे र बाबुराम आचार्य, कास्कीका पूर्वउपसभापति विष्णु बाँस्तोला, टे्रड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवर र पूर्वसचिव नन्दु तिवारी इच्छुक छन्। यसअघि राप्रपाका केन्द्रीय कोषाध्यक्षसमेत रहेका उद्यमी सूर्यबहादुर केसीलाई भिœयाएर मेयरको उम्मेदवार बनाउने चर्चा पनि कांग्रेसमा छ।

एमालेभित्र पनि उम्मेदवारको चर्चा निकै पलाएको छ। अध्यक्ष तथा पूर्वमेयरसमेत रहेका कृष्ण थापा, निवर्तमान अध्यक्ष मानबहादुर जिसी, युवासंघ अध्यक्ष राजीव पहारी, जिविसका पूर्वउपसभापति श्रीनाथ बराल र नेता धनराज आचार्यको चर्चा बढी छ।

माओवादी केन्द्रमा पनि मेयरका आकांक्षी धेरै छन्। माओवादी केन्द्र कास्की अध्यक्ष दीपक कोइराला, पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, नेताहरू कोमलनाथ बराल, झलकपाणि तिवारी, रामजी बराललगायतले महानगर प्रमुखमा उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।

राप्रपामा दुई नम्बर क्षेत्रीय अध्यक्ष गीता गुरुङ, कास्की कोषाध्यक्ष रञ्जना सेन पौडेल, जिल्ला उपाध्यक्ष हरिदेवी अधिकारी र सहसचिव धनुमाया कोइरालाको मेयरमा चर्चा छ। उम्मेदवारको चर्चा व्यापक भए पनि आधिकारिक निर्णय भइनसकेको दलका नेताहरू बताउँछन्।

कांग्रेस कास्कीका प्रचार संयोजक तथा सदस्य नवीन सिग्देलले अहिलेसम्म कसलाई मेयर र उपमेयरको उम्मेदवार बनाउने भन्ने निर्णय नभएको बताए। 'व्यक्तिगत रूपमा आकांक्षी हुन पाइन्छ। विभिन्न तहका नेताहरूले आफ्नो पक्षमा लबिङ गरेका छन्', सिग्देलले भने, 'कार्यकर्ताका बीच जोकोही जान पाइन्छ। त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ।'

एमाले अध्यक्ष कृष्ण थापाले उम्मेदवारको मापदण्ड बनाएको बताए।  'निष्पक्ष, इमानदार र जित सुनिश्चित गर्ने व्यक्ति नै महानगर प्रमुखको उम्मेदवार हुन सक्छन्', थापाले भने, 'अनुभवी व्यक्ति उम्मेदवार बन्नेछन्। जनताबीच लोकप्रिय व्यक्ति महानगरको दाबेदार हुन्।' मापदण्डअनुसार जिल्लाले मेयर तथा उपमेयरका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने उनले बताए।

माओवादी केन्द कास्की अध्यक्ष दीपक कोइरालाले पनि उम्मेदवारको चर्चा बढ्नु स्वाभाविक रहेको बताए। 'जिल्लाको सिफारिसमा केन्द्रले निर्णय गर्ने हो। अहिले हामी त्यसकै गृहकार्यमा छौं',  उनले भने, 'उम्मेदवार बन्छु भन्न जो कोहीले पाउँछ। तर जित्ने व्यक्ति मात्र उम्मेदवार हुने हो।'

राप्रपका अध्यक्ष जयलाल पुनले केही दिनमै उम्मेदवार टुंगो लगाउने बताए। 'हामीले उम्मेदवार तय गरिसकेका छौं। केही समयमै सार्वजनिक गर्छौं', पुनले भने। उनले मेयरमा महिलालाई प्राथमिकता दिने बताए। 'महिलालाई प्रमुख र पुरुषलाई उपप्रमुखको उम्मेदवार बनाउने हो,' उनले भने।

उपमेयरमा पनि अहिले चर्चा बढेको छ। उपमेयरमा दलले बढीजसो महिलालाई अघि सारेका छन्। कांग्रेसभित्र उपमेयरमा महिला संघ कास्की सभापति कोपिला रानाभाट, महाधिवेशन प्रतिनिधि खिमकुमारी बराल र कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डेको चर्चा छ।

त्यस्तै एमालेमा कास्की उपमहासचिव प्रभा कोइराला, अखिल नेपाल महिला संघ कास्की अध्यक्ष मञ्जु गुरुङसहित देवका पहारी, मीना गुरुङ र नेत्रकुमारी सुवेदी गुरुङको चर्चा छ। माओवादी केन्द्रमा उपमेयरमा गोमा ढकालको चर्चा छ।

राप्रपाभित्र शिवकुमार बाँस्तोला, कृष्णराज रेग्मी र रमेशबहादुर खत्री, अशिलकुमार शाहीमध्ये एकजना उपमेयरमा उठ्ने चर्चा छ। बाँस्तोला पूर्वआमन्त्रित केन्दीय सदस्य हुन्। रेग्मी लेखनाथ र खत्री पोखरा नगर अध्यक्ष हुन्। शाही कास्की ३ का क्षेत्रीय अध्यक्ष हुन्।

प्रकाशित: १७ चैत्र २०७३ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App