१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेसी मोर्चाको दोहोरो चरित्र

लहान- स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गराएर चुनाव प्रक्रियामा सामेल भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरू चुनावकै विरोधमा जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न थालेका छन्।

दुई नम्बर प्रदेशअन्तर्गतका बाराबाहेक सबै जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध मधेस केन्द्रित दल निर्वाचन कार्यालयमा दर्ता भएका छन्।

मोर्चाले मंगलबार चुनावको विरोध गर्दै दुई नम्बर प्रदेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्‍यो। जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराइसकेका दलहरूले चुनावको विरोधमा कार्यालय घेराउ गरेर जनताको आँखामा छारो हालेको टिप्पणी मतदाताले गर्न थालेका छन्।

निर्वाचनसम्बन्धी बैठकमा भाग लिने, दल दर्ता गराउने, तर निर्वाचनको विरोध गर्ने मोर्चाको कार्यशैली मधेसी जनताले नै मन पराएका छैनन्। मोर्चाको कार्यशैली हेर्दा ढिलोचाँडो चुनावमा सहभागी हुने विश्वास मतदाताको छ।

दुई नम्बर प्रदेशअन्तर्गतका बाराबाहेक सबै जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध मधेस केन्द्रित दल निर्वाचन कार्यालयमा दर्ता भएका छन्।

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको माघ १७ गते दल दर्ता गराउने समय सीमाभित्रै दुई नम्बर प्रदेशको सात जिल्लामा मोर्चा सम्बद्ध मधेस केन्द्रित दलले सम्बन्धित निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन्।

जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार तराईमधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबाहेक मोर्चा सम्बद्ध सबै दल दर्ता भएका छन्। तोकिएको समयसीमाभित्र ३० वटा दल दर्ता भएको कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार मोर्चा सम्बद्ध सबै दल तोकिएकै मितिमा दर्ता भएका छन्। कार्यालयमा कुल ३१ दल दर्ता भएको निर्वाचन कार्यालयका नासु दिलीप यादवले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालय धनुषाका अनुसार मोर्चा सम्बद्ध सबै दल तोकिएकै मितिमा दर्ता भएका छन्। महोत्तरीमा पनि मोर्चा सम्बद्ध सबै दलले तोकिएकै मितिमा दल दर्ता गरइसकेका छन्। सर्लाहीमा मोर्चा सम्बद्ध सबै दलले तोकिएकै मितिमा दल दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। सर्लाहीमा ३७ वटा दल दर्ता छन्।

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार मोर्चा सम्बद्ध सबै दल तोकिएकै मितिभित्र दर्ता भएका छन्। रौतहटमा ३५ वटा दल दर्ता छन्। पर्सामा पनि मोर्चा सम्बद्ध सबै दल निर्वाचन कार्यालयमा दर्ता छन्। कार्यालयमा ४० वटा दल दर्ता भएका छन्।

 पर्सा जिल्ला निर्वाचन कार्यालयका नायबसुबा मोहम्मद महिनुदिनका अनुसार मोर्चाका जिल्ला प्रतिनिधि निर्वाचनसम्बन्धी छलफलमा सहभागी हुँदैनन्। आफ्ना माग सम्बोधन नहुन्जेल निर्वाचनसम्बन्धी छलफलमा सहभागी नहुने मोर्चाको अडान छ।

मतदाता पुनरावलोकनमा समेत मोर्चाका प्रतिनिधिले सहयोग नगरेको उनले बताए। मोर्चा सहभागी नभएपछि अन्य दलको सहभागितामा मतदाता नामावली निर्वाचन आयोगमा पठाइसकिएको उनले बताए।

जिल्ला निर्वाचन कार्यालय सिरहाका नासु दिलीप यादव भन्छन्, 'मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सामाजिक शिक्षा कार्यकर्ता तालिम सुरु हुँदैछ। मतदान केन्द्र पुनरावलोकन बैठकमा मोर्चाका प्रतिनिधि सहभागी हुन्छन् तर विरोध जनाएर बाहिरिन्छन्।'

सिरहा विष्णुपुर–४ का रामलखन महरा भन्छन्, 'जनतालाई देखाउन चुनावको विरोध गरिरहेको मोर्चा अन्ततः चुनावमा सहभागी हुन्छ। समय नजिकिएपछि सबै चुनावमा होमिन्छन्।’ धेरै समय स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा जनताले दुःख पाएको उनले बताए। उनले भने, ‘जनताले चाहेको चुनावमा नेता सहभागी नभई धरै छैन।’

जनता चुनावप्रति जति आतुर छन्, नेताहरू यसलाई उपयोग गर्न नसकेको उनको गुनासो छ। अहिले नेता गाउँ आएर जनतामा चुनावबारे जनचेतना फैलाउनुपर्ने उनको सुझाव छ।

कांग्रेस सिरहा सभापति एवं सांसद रामचन्द्र यादव आफ्नो पार्टी चुनावी कार्यक्रम लिएर छिट्टै गाउँ पस्ने तयारीमा रहेको बताए। पार्टी प्रवेशलगायतका कार्यक्रम गाउँगाउँमा विस्तार भइरहेको उनले जानकारी दिए। 'चुनाव आउन डेढ महिना बाँकी छ, समय नजिकिँदै गएपछि चुनावी वातावरण तात्दै जान्छ।’

एमाले सिरहा अध्यक्ष प्रमोद यादवका अनुसार गाउँगाउँमा चुनाव केन्द्रित छलफल भइरहेका छन्। उनले भने, 'अब चुनावी कार्यक्रम लिएर गाउँ देहातमा सभा सम्मेलनको तयारी हुँदैछ।' गाउँमै जनताले सरकार पाउने स्थानीय तहको चुनावप्रति कार्यकर्तादेखि जनता सबै उत्साही छन्। उनी भन्छन्, ‘चुनावी अभियान छिट्टै गाउँ प्रवेश गराउँदैछौं।’

माओवादी केन्द्रका केन्द्रीय सदस्य जगत यादवका अनुसार आन्तरिक चुनावी गतिविधि तीव्र पारिएको छ। ‘कार्यकर्तालाई प्रशिक्षण दिइसकेका छौं’, उनले भने, ‘अब गाउँगाउँमा चुनावी सभाको तयारी हुँदैछ।’

प्रकाशित: १७ चैत्र २०७३ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App