१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जुर्मुराउन थाले दलहरू

नुवाकोट –  नेकपा (एमाले) विदुर नगरपालिका कमिटीले शिवपुरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारमा र नेपाली काँग्रेसले शिवपुरीमै कार्यकर्ता भेटघाट गरिसकेको छ । 

अहिले नुवाकोटका विभिन्न राजनीतिक दल स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर आआफ्नो पार्टीको सङ्गठन विस्तार र कार्यकर्ता भेलामा सक्रिय भइरहेका छन् । झन्डै दुईदशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनले गाउँगाउँमा राजनीतिक सरगर्मी निकै बढाएको छ । 

जिल्लामा अहिले नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आफ्नो निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिइरहेका छन् । निर्वाचनलाई केन्द्रित गरेर नेकपा (एमाले)ले गाउँपालिका अनुसारको पदाधिकारी चयन गरी कार्यक्षेत्रमा खटाइसकेको छ भने नेकपा (माओवादी केन्द्र)ले पनि नयाँ संरचनाअनुसारको गाउँपालिका र नगरपालिकामा संयोजक र इन्चार्ज तोकिसकेको छ । 

नेकपा (एमाले)का जिल्ला सचिव बुद्धि प्रधानले निर्वाचन केन्द्रित अभियानअन्तर्गत कार्यक्रम सञ्चालन भइरहेको बताए। “हामीले वडा र गाउँपालिकास्तरमा कार्यकर्ता भेटघाट, अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने – “वडास्तरदेखि गाउँपालिका÷नगरपालिकास्तरका निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छौँ ।” 

नेपाली काँग्रेसले पुनःसंरचनाअनुसारको नयाँ कार्यसमिति चयन नगरे पनि कार्यकर्ता भेला र अन्तक्र्रिया भन्दै गतिविधिलाई तीव्रता दिएको जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले बताए । उक्त दलले तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिकाका कार्यकर्ता भेटघाट कार्यक्रम गरिसकेको छ । 

नेकपा (माओवादी केन्द्र)ले पनि निर्वाचन केन्द्रित अभियानलाई गाउँगाउँमा सञ्चालन गरिरहेको छ । केन्द्रका जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले नयाँ संरचनाअनुसारका सङ्गठन निर्माण र निर्वाचनलाई ध्यानमा राखी अभियान चलाइरहेको बताए । 

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा ८८ वटा वडा छ । राजनीतिक दलका कार्यकर्ताहरुमा वडा, गाउँ/नगरपालिकाका कसलाई उम्मेदवार बनाउने भन्ने बहससमेत चल्न थालेको छ । 

लामो समयको चुनावी मौनता तोडिन लागेकाले अहिले पार्टीका कार्यकर्ता मात्र होइन, सर्वसाधारण मतदातामा समेत उत्साह थपिएको नेकपा (एमाले)सँग आबद्ध युवा राजकृष्ण राजभण्डारीले बताए । “दलका कार्यकर्तालाई चुनावी रौनक लाग्ने नै भयो । त्योभन्दा बढी सामान्य मतदातामा उत्साह रहेको पाइएको छ”, उनले भने – “लामो समय निर्वाचन नभएको कारण हुनसक्छ । सर्वसाधारण बढी उत्साही देखिएका ।” 

निर्वाचनको उत्साह विशेष गरी युवामा देखिएको छ । अहिलेसम्म स्थानीय तहमा आफूले नेतृत्व छान्ने अवसर नपाएका युवाले यसपालिको निर्वाचनमा हुने सहभागितालाई महत्वपूर्ण रुपमा लिएको खानीगाउँका युवा क्षितिज थापामगरले बताए । 

विसं २०५६ मा १७ वर्ष उमेर भएका कारण स्थानीय निकायको निर्वाचनमा मतदान गर्न नपाएका युवा अहिले ३६ वर्षको भइसकेका छन् । दुईदशकदेखिको निर्वाचनको रित्ततालाई अहिलेको निर्वाचनले भर्न लागेका कारण पनि युवामा बढी उत्साह थपिएको सूर्यमतिका धनबहादुर मिजारले बताए। 

एक लाख ८९ हजार ५९० मतदाता रहेको नुवाकोटमा १२८ निर्वाचनस्थल र २५१ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रकाशित: १६ चैत्र २०७३ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App