१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तिमतिर रन रोक्न नसक्नु दुर्भाग्य

काठमाडौं– नासिर हुसेनको अविजित शतकप्रेरित बंगलादेशसँग ८३ रनले पराजित भएसँगै नेपालको एसिसी इमर्जिङ कप यात्रा टुंगिएको छ।

पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको नेपाल आयोजक बंगलादेशसँग पनि हारेपछि प्रतियोगिताबाट बाहिरिएको हो। यस पराजयपछि नेपालका लागि समूहचरणको अन्तिम खेल अर्थहीन बनेको छ । अन्तिम खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

आसिफ शेख र दिलीप नाथलाई डेब्यु गराएको नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालले बलिङमा राम्रो सुरुआत गरे पनि अन्तिम ९ ओभर रन रोक्न नसक्दा बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

नेपालले पछिल्लो ९ ओभरमा  ८२ रन दिएका थियो । ४०.२ ओभरमा राहतुल फेरडौस आउट हुँदा बंगलादेश १७५–८ को स्थितिमा थियो । त्यसपछि नेपालले रन रोक्न सकेन । २०१५ जुनपछि पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका अविनाश कर्णले बंगलादेशको अग्रपंक्तिका ब्याट्सम्यानलाई आउट गर्दै राम्रो सुरुआत गरेका थिए । अविनाशले ओपनर अजमिर अहमेदलाई शून्यमा पवेलियन फर्काएका थिए भने शैफ हसनलाई ७ रनमा शरद भेषावकरबाट क्याच गराएका थिए ।

अविनाशले पाँचौं ओभरको तेस्रो बलमा मोहम्मद मिथुनलाई शून्य रनको अवस्थामा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराएका थिए । ८ ओभर बलिङ गरेका अविनाशले ४६ रन दिएर ३ विकेट लिए । दशौं ओभर लिएर आएका मेहबुब आलमले अन्तिम बलमा ४ रन बनाएका नाजमुल हुसैन शान्तोलाई बोल्ड गरे । त्यति बेला बंगलादेश ३३–४ को अवस्थामा थियो ।

त्यसपछि बंगलादेशका कप्तान मोमिनुल हक र नासिर हुसैनले बंगलादेशको इनिङ सम्हाले । दुईले पाँचांै विकेटका लागि ७८ रनको साझेदारी गर्दै बंगलादेशलाई १ सय ११ रनको स्थितिसम्म डोे¥याए । दुईको साझेदारीलाई स्पिनर सन्दीप लामिछानेले तोडेका थिए । ७८ बलमा ७ चौकासहित ६१ रन बनाएका मोमिनुललाई सन्दीपले कप्तान ज्ञानेन्द्र मल्लबाट क्याच गराए ।

त्यसपछि निरन्तर ३ विकेट गुमाएको बंगलादेशका नासिर हुसैन र अबुल हसनले नवौं विकेटका लागि ७६ रनको साझेदारी गरेपछि बंगलादेश ठूलो योगफल बनाउन सफल भएको थियो । ३० बलमा १ चौका र १ छक्कासहित २९ रन बनाएका अबुल हसनलाई दीपेन्द्रसिंहले अन्तिम ओभरमा आउट गरेका थिए । १ सय ९ रनमा अविजित रहेका नासिर हुसेनले १ सय १५ बलमा १२ चौका र २ छक्का प्रहार गरे ।

नेपालका अविनाशले ३ विकेट लिँदा सन्दीपले २ विकेट लिए । मेहबुब, दीपेन्द्र र ज्ञानेन्द्र मल्लको नाममा १÷१ विकेट रह्यो ।

२ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुआत गर्न सकेन । दोस्रो ओभरमै कप्तान ज्ञानेन्द्र शून्य रनमा पवेलियन फर्किए । अर्का ओपनर सुनील धमलाले पनि लामो इनिङ खेल्न सकेनन् । १३ बल खेलेका सुनील १ रनमा आउट भए । लगत्तै डेब्यु गरेका आसिफ शेख पनि १५ बलमा ३ चौकासहित १२ रन बनाएर आउट भए । सातौं ओभरको अन्तिम बलमा आसिफ आउट हुँदा नेपाल १६–३ को अवस्थामा थियो।

धराशयी भएको नेपालको इनिङ डेब्यु गरेका दिलीप नाथ र दीपेन्द्रसिंह ऐरीले सम्हाल्ने प्रयास गरेका थिए। दुईले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेपछि नेपालको आशा जागेको थियो । दिलीप र दीपेन्द्रसिंहले १ सय १४ रनको स्कोरसम्म डो¥याएका थिए । तर, ६२ बलमा ४ चौका र १ छक्कासहित ४१ रन बनाएका दिलीप आउट भएपछि नेपालले निरन्तर विकेट गुमायो । दिलीप राहतुल फेरडौसको बलमा बोल्ड भएका थिए ।

अर्का अनुभवी ब्याट्सम्यान शरद २ रनमा आउट भए लगत्तै अर्धशतक पूरा गरेका दीपेन्द्रसिंह पनि आउट भएपछि नेपालको सम्भावना कमजोर भएको थियो । दीपेन्द्रले ८५ बलमा ६ चौकासहित ५६ रन बनाएका थिए । भेट्रान अलराउन्डर मेहबुब १० रनमा पवेलियन फर्किए । विकेटकिपर विनोद भण्डारीले २३ बलमा ६ चौका र १ छक्कासहित ३३ रन बनाए । भुवन कार्कीले ६, अविनाश कर्णले १ रन बनाउँदा सन्दीप ३ रनमा अविजित रहे ।

बंगलोदशका फेरडौसले ४ विकेट लिए भने मोहम्मद सेफुद्दिनले ३ विकेट लिए । अबुलको नाममा २ विकेट रह्यो ।

जितसँगै आयोजक बंगलादेश ४ अंकका साथ शीर्ष स्थानमा छ भने समान ४ अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ । नेपाल र हङकङ क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

मंगलबारै पाकिस्तानले हङकङलाई २ सय ४८ रनले पराजित ग¥यो । ओपनरद्वय इमाम उल हक र इमरान बटले शतक पूरा गरेपछि टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले ४ विकेट गुमाएर ३ सय २७ रन बनाएको थियो । पाकिस्तानका उस्मा मिरले ८.२ ओभरमा १४ रन दिएर ७ विकेट लिएपछि ३ सय २८ रनको लक्ष्य पछ्याएको हङकङले ३१.२ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।

समूह ‘ए’ को शीर्ष टोली भारतले मलेसियालाई ७ विकेटले पराजित गर्दा श्रीलंकाले अफगानिस्तानलाई ३५ रनले हरायो । हारका बावजुद अफगानिस्तान दोस्रो स्थानमा छ भने श्रीलंका तेस्रो र मेलेसिया चौथो स्थानमा छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। 

भारतले मलेसियालाई ७ विकेटले हरायो । टस हारेर ब्याटिङका लागि निम्त्याइएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । सुबमान गिलको अविजित अर्धशतकप्रेरित भारतले १ सय ६४ रनको लक्ष्य ३०.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

मंगलबारै समूह ‘बी’ को श्रीलंकाले अफगानिस्तानमाथि ३५ रनको जित निकाल्यो। टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाएर ३ सय २० रन बनाएको थियो। ३ सय २१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४७.१ ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रनमात्र बनाउन सक्यो।

प्रकाशित: १६ चैत्र २०७३ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App