१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सेमिफाइनलमा फेरि असफल

काठमाडौं– नेपाल किर्गिस्तानसँग लगातार दोस्रो खेलमा हारको सामना गर्दै एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।
माल्दिभ्सको मालेमा भैरहेको प्रतियोगिताको सेमिफाइनलमा किर्गिस्तानले नेपाललाई २५–१६, २५–२३, २५–२० ले हरायो । सोमबार लिगचरणको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँगै २५–२०, १३–२५, १५–२५, ११–२५ ले पराजित भएको थियो । राउन्ड रोबिन लिगको आधारमा भैरहेको प्रतियोगितामा किर्गिस्तान दोस्रो र नेपाल तेस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । लगातार तीन खेल जितेको तुर्कमेनिस्तान यसअघि फाइनलमा पुगिसकेको छ । अब किर्गिस्तानले फाइनलमा तुर्कमेनिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
सेन्ट्रल जोन भलिबलमा नेपाल लगातार तेस्रो पटक सेमिफाइनलबाट बाहिरिएको हो । यसअघि बंगलादेशमा भएको पहिलो र दोस्रो संस्करणमा पनि नेपाल सेमिफाइनलमा पुगेको थियो । तर नेपाल सेमिफाइनलबाट अगाडि भने बढ्न सकेको छैन ।
नेपाल सेमिफाइनलबाट बाहिरिए पनि यस पटकको सेन्ट्रल जोन भलिबल नेपालका लागि सुखद बन्यो । चार टोलीले भाग लिएको प्रतियोगितामा नेपालले कांस्य पदक जितेर फर्कंदै छ । जुन नेपालको अन्तर्राष्ट्रिय भलिबलमा पहिलो आधिकारिक पदक हो । प्रतियोगितामा आयोजक माल्दिभ्ससँगै तुर्कमेनिस्तान, नेपाल र किर्गिस्तानले भाग लिएका थिए ।
माल्दिभ्स लगातार तीन खेलमा पराजित भएपछि नेपालले कांस्य पदक जित्ने पक्का भएको थियो । प्रतियोगितामा नेपालले एक खेल मात्र जित्ने क्रममा आयोजक माल्दिभ्सलाई हराएको थियो । माल्दिभ्सलाई हराएपछि नेपालको फाइनल खेल्ने सम्भावना पनि बढेको थियो । तर लगातार किर्गिस्तानसँग पराजित भएपछि नेपालले सेमिफाइनलबाट अगाडि बढ्ने लक्ष्य पूरा गर्न सकेन ।
पाकिस्तानमा ४१ वर्षअघि भएको काइदे आजम आमन्त्रण भलिबलबाट नेपालले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न सुरु गरेको थियो ।  सन् १९७८ मा बंैककमा पहिलो आधिकारिक प्रतियोगिता खेल्ने क्रममा नेपाल आठौं एसियाली खेलकुदमा सहभागी भएको थियो । तर भलिबलको आधिकारिक प्रतियोगिताको पदक जित्न भने नेपाल असफल हँुदै आएको थियो । राष्ट्रिय टोलीका कप्तान इम रानाले माल्दिभ्स जानुअघि पदक जित्ने लक्ष्य रहेको बताएका थिए । एक दशकदेखि भलिबल खेलिरहेका इमले प्रतियोगिता नेपाली भलिबलका लागि अविस्मणीय बनेको बताए । उनले भने, ‘हामीले आफ्नो स्तरअनुसार खेलेका हांै । कुनै पनि टोलीसँग कमजोर प्रदर्शन भएन । सक्दो राम्रो खेल्यौं । पदक जित्न नसक्दा हामीलाई मानसिक रूपमा पनि दबाब थियो । तर अब हामीले त्यो दबाबलाई जितेका छौं ।’
 

प्रकाशित: १६ चैत्र २०७३ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App