१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला क्रिकेट लिग हुने

काठमाडौं- युनाइटेड अत्तरिया स्पोटर्स क्लबले वैशाख १० गतेबाट क्बलस्तरीय महिला लिग प्रतियोगिता गर्ने भएको छ। ट्वान्टी–२० स्वरूपमा खेलाइने अत्तरिया कप प्रतियोगिता स्थानीय सशस्त्र प्रहरी बल (एपिएफ) को क्रिकेट मैदानमा खेलाइनेछ।

वैशाख २० गतेसम्म हुने प्रतियोगतिामा ६ क्लबले प्रतिस्पर्धा गर्ने युनाइटेड अत्तरिया स्पोटर्स क्लबका अध्यक्ष रवि खलानले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोबिनका आधारमा खेलाइनेछ। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

सहभागी नेपाल एपिएएफ क्लबको कप्तानी बीना बुढामगरले गर्नेछिन् भने काँकरभिट्टाको मिलन क्रिकेट एकेडेमीको कप्तानी राष्ट्रिय टोलीकी कप्तान रुविना क्षत्रीले सम्हाल्नेछिन्। काठमाडौंको राइजिङ क्रिकेट वुमनलाई आरती विडारीले नेतृत्व प्रदान गर्नेछिन् भने केडिसिए कैलालीको कप्तानी अन्जली चन्दले गर्नेछिन्। कञ्चनपु्र ११ को कप्तानी विन्दु रावलले गर्नेछिन् भने बारा क्रिकेट क्लबको कप्तानी मनीषा चौलागाईंले गर्नेछिन्।

आयोजक युनाइटेड अत्तरिया क्लबका अध्यक्ष खनालले महिला क्रिकेट प्रतियोगिता थोरै हुने भएकाले निजी क्षेत्रबाट पहल थालिएको बताए। उनले कस्तो खेलाडी टिममा समावेश गर्नेबारे क्लब स्वतन्त्र भए पनि खेलमा एक टोलीबाट ४ जना मात्र विदेशी खेलाडी खेल्न पाउने बताए। ‘नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता निलम्बन भएको एक वर्ष पुग्न लागिसकेको छ। यस्तो अवस्थामा महिला क्रिकेट प्रतियोगितामा कमी आएको छ,’ अध्यक्ष खनालले भने, ‘महिला क्रिकेट विकासमा सहयोग पुगोस् भनेर हामीले यो प्रतियोगिता गर्न लागिरहेका छौं र यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता गर्दछु।’

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् भने उपविजेताले १ लाख रुपैयाँ नगद हात पार्नेछन्।  प्लेयर अफ दी सिरिजले २५ हजार रुपैयाँ जित्नेछन्। त्यस्तै उत्कृष्ट ब्याटिङ, बलिङ र विकेटकिपरले समान १०/१० हजार रुपौयाँ नगद पुरस्कार जित्नेछन्। हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ नगद पाउनेछन्।

मिलन क्रिकेट एकेडेमीकी कप्तान रुविनाले यस्तो प्रतियोगिता हुनु खुसीको कुरा भए पनि प्रायोजकले पुरुषको दाँजोमा महिला क्रिकेटप्रति चासो नेदाउनु दुखद पक्ष भएको बताइन्।

‘अरूले पनि यस्तो प्रतियोगिता गरे आफूहरू सरकारी निकायले गर्ने प्रतियोगिता कुर्न बाध्य हुनुपर्दैनथ्यो,’ राष्ट्रिय टोलीको समेत कप्तान रहेकी रुविनाले भनिन्, ‘धेरैधेरै क्रिकेट खेल्ने हाम्रो चाहना हो। हाम्रो क्लबमा दिल्लीका ३ खेलाडी समावेश गर्ने प्रयास भइराखेको छ।’

एपिएफकी कप्तान बीना बुढामगरले आयोजकको सुरुआत सराहनीय भएको भन्दै यसले राम्रो सन्देश प्रवाह गर्ने बताइन्। त्यस्तै राइजिङ क्रिकेटकी कप्तान आरती विडारीले खेलाडीले निरन्तर क्रिकेट खेल्न पाउनु खुसीको विषय भएको भन्दै पुरस्कार राशिभन्दा मञ्च पाउनु राम्रो पक्ष भएको बताइन्। उनले बंगलादेशको राष्ट्रिय टोलीकी कप्तान र उपकप्तानका साथै भारत र श्रीलंकाबाट पनि खेलाडी ल्याउने प्रयास भइरहेको बताइन्।

प्रकाशित: १५ चैत्र २०७३ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App