१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ठूला दलमा खिचातानी

रौतहट- स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवार बन्न ठूला दलका कार्यकर्तामा खिचातानी सुरु भएको छ। मधेसी दलले निर्वाचन बहिष्कार गर्ने बताइरहे पनि कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलमा स्थानीय तहको प्रमुख, उपप्रमुख तथा वडा प्रमुखका लागि उम्मेदवार बन्न कार्यकर्ताबीच खिचातानी सुरु भएको हो।

विभिन्न गाविस मिलाएर गाउँपालिका र नगरपालिकाको बनाइएकाले पहिलेका गाविस अध्यक्ष, पार्टी अध्यक्ष तथा प्रमुख र स्थानीय स्तरमा पहुँच राख्ने पार्टीका कार्यकर्ता उम्मेदवार बन्न पार्टीका जिल्ला सभापति एवं अध्यक्षलाई दबाब दिन थालेका छन्। जिल्लाबाट संसद्मा प्रतिनिधित्व गर्ने नेता तथा पार्टीका केन्द्रीय सदस्यसमेतलाई स्थानीय तहमा उम्मेदवार बन्न चाहनेले दबाब दिइरहेको पाइएको छ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सांसद अशोक जयसवालले स्थानीय तहको प्रमुख तथा उपप्रमुख र वडा प्रमुखका लागि टिकटको सिफारिस गर्न कार्यकर्ताले दबाब दिन थालेको बताए। उनका अनुसार कार्यकर्तास्तरमा उम्मेदवार बनाइदिन आइरहेको दबाबले निर्वाचनको वातावरण बनिरहेको स्पष्ट पारेको छ। जयसवालले मधेसी असन्तुष्ट दलको माग सम्बोधन गर्दै निर्वाचन हुनुपर्नेमा कार्यकर्ताको जोड रहेको बताएका छन्।

कांग्रेस पार्टी सुदृढीकरणमा लागेको छ। निर्वाचनको वातावरण बनिरहेको कांग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवले बताए। विभिन्न पदमा उम्मेदवार बन्न चाहनेले इच्छा व्यक्त गर्न थालिसकेको जानकारी दिँदैसभापति यादवले त्रुटिपूर्ण तरिकाले गरिएको स्थानीय तहको संरचना सच्याउँदै सरकारले निर्वाचनको वातावरण बनाउन सहयोग गर्नुपर्ने बताए।

स्थानीय तहको निर्वाचनमा योग्य र दक्ष उम्मेदवार छनोट गर्न पार्टी लागिसकेको  एमाले पोलिटब्युरो सदस्य तथा सांसद डा. वंशीधर मिश्रले बताए। नेतृत्व गर्न चाहने कार्यकर्ताको चाहना बढेको बताउँदै डा.मिश्रले गाउँ गाउँमा निर्वाचनको वातावरण बनिरहेको बताएका छन्। असन्तुष्ट पक्षको उचित मागलाई सरकारले पूरा गरी निर्वाचनको वातावरण बनाउनसमेत सांसद डा. मिश्रले माग गरे।

जिल्लाको दक्षिणी भेगमा निर्वाचनका विषयमा सकारात्मक र नकारात्मक दुवै किसिमको चर्चा चलेका छन्। उत्तरी क्षेत्रमा भने निर्वाचनप्रति सर्वसाधारण र राजनीतिक कार्यकर्ताको उत्सुकता बढेको र निर्वाचनका लागि उम्मेदवारले आफ्नो पक्षमा मतदातालाई तान्ने उपायको खोजीमा लागिसकेको पाइएको छ।

स्थानीय तहमा उम्मेदवार बन्न चाहने विभिन्न पार्टीका कार्यकर्ताले आफूले उम्मेदवार बन्न चाहने स्थानीय तहमा आफ्नो जातीय तथा सामाजिक हैसियत पार्टीका नेताहरूसमक्ष बताएर निर्वाचित हुने दाबी गरिरहेका छन्। यसै गरी पार्टीमा आफूले गरेको लगानी र पार्टीका लागि गरेको त्याग पनि नेताहरूसमक्ष उम्मेदवारका आकांक्षी कार्यकर्ताले देखाउँदै दबाब दिन थालेका छन्।

मधेसी दल बहिष्कार गर्ने बताइरहे पनि स्थानीय तहमा प्रभावशाली कार्यकर्ताले भित्रभित्रै उम्मेदवारका लागि दबाब दिन सुरु गरेको बुझिएको छ। पार्टीबाट स्थानीय तहमा उम्मेवार बन्न पाउने आकांक्षाले एउटा मधेसी दलबाट अर्को मधेसी दलमै प्रभावशाली कार्यकर्ता प्रवेश गर्न थालेका छन्। स्थानीय तहमा उम्मेदवारका लागि कार्यकर्ताले दबाब दिइरहेको मधेसी दलका नेताहरूले अस्वीकार गरेका छन्। तर आफ्नो पक्षका उम्मेदवारलाई कसरी विजयी बनाउने भन्ने रणनीतिमा मधेसी दल लागिसकेको बुद्धिजीवीहरूको ठम्याइ छ। राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका केन्द्रीय सहमहासचिव अजय गुप्ताले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनाव बहिष्कार गर्ने र चुनाव हुन नदिने कार्यक्रम लिएर आन्दोलन भइरहेको जानकारी दिए। उनले मधेसी दलमा स्थानीय तहका लागि उम्मेदवारको खोजी भइरहेको कुरा अस्वीकार गरेका छन्। संविधान संशोधन गरेर मोर्चाको माग सम्बोधन भएपछि मात्र चुनाव सम्भव भएकाले मधेसी दलका कार्यकर्ताको ध्यान निर्वाचन असफल बनाउन केन्द्रित रहेको सहमहासचिव गुप्ताले बताए।

प्रकाशित: १५ चैत्र २०७३ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App