१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नौ ठाउँमा चट्याङ मापन केन्द्र

काठमाडौं- चट्याङबाट हुने मानवीय एवं भौतिक क्षति कम गर्न सरकारले देशका नौ स्थानमा चट्याङमापन तथा पूर्वानुमान केन्द्र स्थापना गर्ने भएको छ। विश्व बैंकको करिब अढाइ अर्ब ऋण तथा अनुदानमा चट्याङ मापन सञ्जाल स्थापना गर्न लागिएको हो।

चट्याङबाट बर्सेनि डेढ सयसम्म सर्वसाधारणको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ। भौतिक क्षतिसमेत करोडौंको भइरहेको छ।

चट्याङले चैत दोस्रो सातादेखि जेठ अन्तिम साता (प्रारम्भिक मनसुन) मा सबैभन्दा बढी क्षति पुर्‍याउँदै आएको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले चट्याङ मापन सञ्जाल स्थापनाअन्तर्गत यही मनसुनअघि केही स्थानमा ती केन्द्र स्थापना हुने जानकारी दिए।

'केन्द्र स्थापनाका लागि एलसी खोल्ने काम सम्पन्न भएको छ। यही मनसुनअगाडि नै केही स्थानमा जडान भइसक्छ', उनले सोमबार नागरिकस“ग भने। सामान्यतया मनसुन जेठको अन्तिम साताबाट सुरु हुन्छ।

उनका अनुसार काठमाडौं, पोखरा, भैरहवा, विराटनगर, धनगढी, नेपालगन्ज, सुर्खेत र सिमरामा ती केन्द्र राखिँदैछन्। यस्ता केन्द्रको एउटै सञ्जाल बनाएर आमनागरिकलाई चट्याङबारे जानकारी दिइने तयारी छ। 'यी केन्द्रबाट तत्काल ती ठा“उको वायुमण्डलमा रहेको बादलको अवस्था र चट्याङ पर्ने/नपर्नेबारे जानकारी लिन सकिन्छ। उक्त जानकारी हामीले वेभसाइटमार्फत आम नागरिकलाई तत्काल उपलब्ध गराउ“छौं', शर्माले भने।

गृह मन्त्रालयको तथ्यांकअनुसार सन् १९७१ देखि सन् २०१० सम्म चट्याङ र हुन्डरीबाट एक हजारको निधन भइसकेको छ। त्यसयता वार्षिक एकदेखि डेढ सयसम्म सर्वसाधारणको मृत्यु भएको सरकारी तथ्यांक छ। पछिल्ला दिन मानवीय क्षति बढिरहेको तथ्यांकले देखाउ“छ।

वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले चट्याङको सबैभन्दा बढी जोखिम प्रारम्भिक मनसुनमा हुने बताए। 'यतिबेला क्युमोलोनिम्बस (सिबी) बादल सबैभन्दा बढी सक्रिय हुन्छ। यसले चट्याङ पार्ने, हुन्डरी ल्याउने र मुसलधारे पानी पार्छ', उनले भने।

शाक्यका अनुसार गर्मी मौसममा जमिन तातिएर वाष्पीकरण (संवाहन) प्रक्रियाबाट हावामा जलवाष्पको मात्रा उच्च भएपछि यो बादल बन्छ। यो बादल तलदेखि वायुमण्डलको माथिल्यो तहसम्म ठाडो गरी बसेको हुन्छ र त्यो बादल तल–माथि गरिरहन्छ।

सुर्खेतमा मौसमी राडार

शर्माका अनुसार कुल बजेटमध्ये करिब एक अर्ब अनुदान र डेढ अर्ब ऋणमा यो परियोजना सम्पन्न गर्न लागिएको हो। यही बजेटमा सुर्खेतको रातानाङलामा मौसमी राडार पनि राखिँदैछ। 'पहिलोपटक नेपालले मौसमी राडार स्थापना गर्न लागेको हो। यो पनि मौसम पूर्वानुमानका लागि अत्यावश्यक भइसकेको थियो', उनले भने।

शर्माका अनुसार यो राडारले २ सय किलोमिटरवरपरको आकाशको निगरानी गर्छ। 'विशेष गरी आकाशमा कस्तो बादल लागेको छ। त्यसमा असिना, हिउ“ र पानी के छ भन्ने आँकलन गर्छ', उनले भने, 'त्यस्तो बादल कति दुरीमा छ, त्यसलै कुन–कुन क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्नेसम्मको अनुमान गर्न सकिन्छ।'

प्रकाशित: १५ चैत्र २०७३ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App