१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

६ हजारकाे उपचार गर्दै नेपाली सेनाको स्वास्थ्य शिविर सम्पन्न

रौतहट– छ हजारभन्दा बढीको निशुल्क उपचार गर्दै स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा भएको निशुल्क निशुल्क सघन स्वास्थ्य शिविर रौतहटमा सम्पन्न भएको छ । गत चैत ८ देखि सुरु भएको सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको हो । रौतहटको सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयको व्यारेक फिल्डमा आयोजित शिविरमा शिविरमा ३ हजार २ सय ५४ महिला र २ हजार ८ सय ५० पुरुषलाई स्वास्थ्य परीक्षण गरिएको तथा त्यस मध्ये १०१ जनालाई मेजर अप्रेशन, २९ जना विरामीलाई माइनर अप्रेशन गरिएको फूल कर्णेल दीपकबहादुर अधिकारीले जानकारी दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा अति नै पछाडी परेको रौतहट जिल्लामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको विशेष प्राथमिकता दिँदै गौरमा साता व्यापी निःशुल्क सघन स्वास्थ्य शिविरको आयोजना गरेर समुचित उपचारबाट बञ्चित रहेका महिला, पुरुषहरुलाई उपचार गरी औषधीसमेत उपलब्ध गराएको हो । नागरिक र नेपाली सेनाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गमा विरामीलाई सुलभ किसिमले स्तरीय सेवा दिने उदेश्यले आयोजित निःशुल्क स्वास्थ्य शिविरले अपेक्षित उदेश्य हासिल गरेको कर्णेल अधिकारीले स्पष्ट पारेका छन् ।

सेनाद्वारा सञ्चालित भएको शिविरमा दक्ष चिकित्सकबाट उपचार भईरहँदा महिलाहरु स्वस्फूर्त रुपमा शिविरमा आएर गाइनो डा. ज्योती रायमाझीसँग उपचार गराउन होड नै चलेको थियो। शिविरमा आएका विरामीहरुलाई धैर्यका साथ नेपाली सेनाका दक्ष डा. रायमाझीले राम्ररी परीक्षण गरी विरामीलाई सन्तुष्ट गरेर पठाउने गरेको चिकित्सक रायमाझीले बताए। जँचाउन आएका प्रायः महिला विरामीलाई अल्ट्रासाउण्ड, एक्सरे लगायत विभिन्न ल्याब टेष्ट गरेर औषधी लेख्ने गरेको तथा मेजर अप्रेशन गर्नेहरुलाई जिल्ला अस्पतालको ओटीमा लगेर सफलतापूर्वक शैल्यक्रिया गरेर रोगमुक्त गरेको डा. रायमाझीले बताए।
शिविरका प्रमुख चिकित्सक डा. उदयबज्र बज्राचार्यले साताव्यापी चलेको शिविरमा हाम्रा प्राविधिकदेखि लिएर अन्य सेनाका अफिसर र जवानसम्मले अहोरात्र खटेर यहाँ आएका सबैलाई उपचार गरी पठाउने गरेको बताए । शिविरमा रौतहटबाहेक बारा, सर्लाही, महोत्तरी, पर्सा तथा सीमापारी भारतका विभिन्न जिल्लाबाट आएका विरामीको उपचार गर्न पाएकोमा रायमाझीले खुशी व्यक्त गरे ।

स्थानीय अस्पतालको स्तरोन्नति गरेर दक्ष चिकित्सकहरुलाई राखी जनताहरुको आधारभूत स्वास्थ्य आवश्यक्तालाई पूरा गर्नुपर्ने नितान्त जरुरी रहेको जानकारी दिँदै प्रमुख डा. बज्राचार्यले हामी अझै यहाँ बस्न चाहेको तर सेनाको मोवाइल अस्पताल आउँदो १८ गतेदेखि नेपालगञ्जमा सञ्चालन गर्ने भएको हुँदा बाध्यताबस जानुपरेको बताए। शल्यक्रिया भएका विरामीहरुलाई ड्रेसिङलगायत अन्य सेवा प्रदान गर्न जिल्ला अस्पतालको जिम्मा लगाइएको समेत जानकारी दिए।

रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले नेपाली सेनाद्धारा संचालन गरिएको शिविरबाट रौतहटबासीहरु अत्यधिक फायदा उठाएकोमा खुशी व्यक्त गर्दै कतिपय कमीकमजोरी भए पनि सेनाले धर्यतापूर्वक उपचार गरेकोमा धन्यवाद दिएका छन्। नागरिक समाजले पनि सेनाको कार्यको प्रशंसा गर्दै आगामी दिनमासमेत यसप्रकारको शिविर सञ्चालन गरी सर्वसाधारण नागरिकलाई सेवा प्रदान गर्ने अपेक्षा राखेको छ।

 

प्रकाशित: १४ चैत्र २०७३ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App