१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'प्रहरी मेरो साथी' अभियान सुरु

काठमाडौं- प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणको समान सहभागिता र सहकार्यका लागि 'प्रहरी मेरो साथी' अभियान सञ्चालनमा ल्याएको छ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोमबार एक औपचारिक कार्यक्रमबीच अभियान सुरु गरेका हुन्। प्रहरी मेरो साथी संकेत चिह्नको अनावरणपछि गृहमन्त्री बस्नेतले कार्यक्रमले प्रहरी संगठनको छवि, प्रतिष्ठा र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

प्रहरीले घटनापछि पहिलो सूचना सर्वसाधारणबाट पाउने, अभियुक्तका सम्बन्धमा सुराकी र घटनास्थल सुरक्षासमेतमा सर्वसाधारणको सहयोग अपरिहार्य रहेको सन्दर्भमा योजनाबद्ध रुपमै प्रहरी मेरो साथी सञ्जाल स्थापना अभियान अन्तर्गत गर्नेछ। कार्यक्रममा बोल्दै गृहमन्त्री बस्नेतले राज्य र नागरिकबीच दुरी घटाउन प्रहरी नै सहज र मजबुत माध्यम भएको बताए। उनले अभियानलाई सफल बनाउन सबैको सहयोगको अपेक्षासमेत गरे।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अभियान २०३९ देखि सञ्चालनमा रहेको सामुदायिक प्रहरीको अवधारणाकै व्यापक स्वरुप भएको बताए। उनले प्रहरीले सञ्चालन गरेका विभिन्न कार्यक्रम र अभियानलाई एउटै छातामुनि ल्याउन अभियान सहायक हुने बताए।

प्रहरी मेरो साथी अभियानका परिकल्पनाकार डिएसपी विश्व अधिकारीले दुर्गम स्थानमा प्रहरी पुग्नुअगावै प्रहरीका साथी पुग्नसक्ने र सूचनादेखि सर्वसाधारणमा केही धुमिल भएको छवि सुधार्न कार्यक्रम सञ्चालन हुने बताए। उनले प्रहरीका सबै कार्यक्रमलाई प्रहरी मेरो साथीको एउटै अवधारणमा आबद्ध गर्नु, शान्तिसुरक्षा कायम गर्नमा नागरिकको भूमिकाका विषयमा प्रशिक्षण तथा चेतनामूलक कार्यक्रमका माध्ययमबाट अपराध न्यूनीकरण गर्नु, देशभर प्रहरीका साथीहरुको सञ्जाल बनाई आवश्यक सम्पर्क र सहकार्य गर्नु कार्यक्रमको उद्धेश्य रहेको बताए।

दुई प्रहरी सम्मानित

गृहमन्त्री शक्तिबहादुर बस्नेतले पहिरोमा फसेका बालबालिकालाई ज्यान जोखिममा राख्दै उद्दार गर्ने दुई प्रहरीलाई सम्मान गरेका छन्। असार १८ गते धादिङको 'रि' गाविसको चेप्राङ गाउँमा पहिरो गइरहेको अवस्थामा पहिरोमा फसेका अपांग बालबालिकासहित १४ जनालाई सकुशल उद्धार गर्ने प्रहरी हवल्दार रुद्रबहादुर कुमाल र प्रहरी जवान संदिप कुमाललाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका हुन्।

यसैबीच, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीले माथिको आदेश होइन आफ्नो काम, कर्तव्य र अधिकारअनुसार कार्य गर्ने बताएका छन्। प्रहरी मेरो साथी अभियानको शुभारम्भमा अर्यालले प्रहरीलाई नयाँ अवधारणा अनुसार स्थापित गर्ने जिम्मेवारी आफ्नो भएको बताउदै अबको प्रहरीले आदेश मानेर बस्ने अवस्था नरहेको बताए। उनले भने, 'प्रहरी नयाँ धरातलमा उभिएर अघि बढ्न र स्थापित हुन प्रयासरत छ, संक्रमणकालीन अवस्थामा प्रहरीको भूमिका र जिम्मेवारी फरक हुन्छन्, माथिको आदेश होइन काम, कर्तव्य र अधिकारको पालना गर्ने हो।'

प्रकाशित: २८ असार २०७३ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App