१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

तामाङ नृत्य कार्यशाला

काठमाडौं-  राजधानीमा आयोजित  कार्यशालामा कलाकारहरुले तामाङ जातिका परम्परागत नृत्य प्रस्तुत गरेका थिए। दोलखा, सिन्धुपाल्चोक र रामेछापका कलाकारहरुले डम्फु र टुङ्नाका तालमा ताम्बा नृत्य प्रस्तुत गरेका थिए भने उक्त नृत्यका बारेमा ताम्बा सङ्घका अध्यक्ष एवं कलाकार दावावाङ्गेल मोक्तान र संस्कृतिकर्मी क्रान्ति योन्जनले प्रकाश पारेका थिए।

त्यसैगरी धादिङ र नुवाकोटका कलाकारहरुले सो क्षेत्रमा प्रचलित मानेदोरा र म्हेन्दोमाया नृत्य प्रस्तुत गरेका थिए। ती नृत्यबारे नृत्य अन्वेषक हेम वाइबाले जानकारी गराए, 'प्रस्तुत नृत्य तामाङ जातिको मृत्यु तथा विवाह संस्कारका साथै ठूलठूला समारोहरुमा नाच्ने गरिन्छ।' उनले थप प्रस्ट पारे, 'यो नृत्य समूहमा युवायुवती गोलबन्द भई नाँचिन्छ। तर, अहिले यी नाच लोपोन्मुख बन्दै गइरहेका छन्।'

कुलपति  सरुभक्तले तामाङ विशिष्ट संस्कृति भएको जाति उल्लेख गर्दै तिनको कला, संस्कृति र परम्पराहरुको संरक्षण तथा संवर्द्धन गर्न प्रतिष्ठान लागिपरेको बताए। प्राज्ञ तथा नृत्य विभाग प्रमुख माधव प्रधानले लोप हुने अवस्थामा रहेका तामाङ जातिका यी नृत्यहरु राज्यका अमूल्य निधि भएको बताउँदै तिनको अभिलेखीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे। उनले कार्यशालामा प्रस्तुत नृत्यबारे श्रव्यदृश्य सामग्री निर्माणका साथै पुस्तकका रुपमा पनि प्रकाशन गरिने योजना रहेको बताए।   

       

प्रकाशित: २८ असार २०७३ ०२:३७ मंगलबार

तामाङ नृत्य कार्यशाला