२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लघु उद्योग र उद्यमशीलता नीति बन्दै

काठमाडौं- उद्योग व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ साना तथा लघु उद्योग र उद्यमशीलता सम्बन्धी नीति बन्ने भएको छ। उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योगी र नयाँ उद्यमी विकास गर्न भन्दै दुई नयाँ नीति बनाउन लागेको हो।

मन्त्रालयले दुई नीतिको मस्यौदा तयार बनाइरहेको छ। उद्योग मन्त्री नविन्द्रराज जोशीले दुई नीतिको मस्यौदामा काम भइरहेको बताए। 'साना तथा लघु उद्योग र उद्यमशीलता नीति बनाउन लागिएको छ,' मन्त्री जोशीले भने।

मन्त्री जोशीका अनुसार साना तथा लघु उद्योग नीतिको मस्यौदा बन्दै छ भने उद्यमशीलता नीतिको मस्यौदा तयार भइसकेको छ। उनका अनुसार उद्यमशीलता नीतिको मस्यौदा बनेर कानुन शाखामा गएको छ। साना तथा लघु उद्योगसम्बन्धी नीति बनाउने मस्यौदामा छलफल भइरहेको छ।

'यी दुई नीतिले लघु उद्यमीलाई सघाउन पुर्‍याउने छ,' मन्त्री जोशीले भने, 'स्वदेशी उद्योगलाई विकास र संरक्षण गर्ने नीति अनुरुप यी नीति बन्न लागेका हुन्।'

साना तथा लघु उद्योग सम्बन्धी नीतिले गाउँगाउँमा साना उद्योग स्थापना गर्न सघाउने उनको विश्वास छ। स्थानीय स्तरमा भएका स्रोत साधनको सदुपयोग गर्न यी नीतिले सघाउने विश्वास लिइएको छ।

त्यसैगरी उद्यमशीलता नीतिले युवालाई उद्यमी बन्न प्रेरित गर्ने विश्वास लिइएको छ। 'उद्यमशीलता नीतिको उद्देश्य नयाँ उद्यमी विकास गर्नु हो,' मन्त्री जोशीले भने, 'यसले गाउँगाउँमा रोजगारी सिर्जना गर्नेछ।'

लघु उद्यमीलाई व्यवसायमा उत्साहित गर्न र आफ्नो उद्योगलाई दर्ता गर्न प्रेरित गर्न अभियान चलाएको मन्त्री जोशीको भनाइ छ। मन्त्रालयले ५० दिनमा एक लाख लघु उद्यमी दर्ता गर्ने उद्देश्य लिएर दर्ता अभियान सञ्चालन गरिरहेको छ।

'चैत २६ गतेसम्मको यो लक्ष्य हो। अहिलेसम्म धेरै प्रगति भएको छैन तर हुन्छ, जोशीले भने, 'सबै जिल्लालाई लक्ष्य दिएर काम गरिरहेको छु।' अहिले सबै घरेलु तथा साना उद्योगहरू निःशुल्क दर्ता हुन्छन्। तर, नीतिमा केही अस्पष्टता हुँदा केही उद्यमी अलमलमा परेको पाइएको छ।

लघु उद्योगलाई निःशुल्क दर्ता गर्ने भनिए पनि दर्ता फारमको शुल्क भने लाग्ने भन्दै कार्यालयले सय रुपैयाँ शुल्क लिन लागेपछि दर्तामा कमी आएको बताइएको छ। 'ऐनले निःशुल्क दर्ता गर्ने भन्ने व्यवस्था गरेको छ तर दर्ता गर्ने बेलामा फारमको सय रुपैयाँ लाग्दो रहेछ,' मन्त्री जोशीले भने, 'यस्ता साना समस्याले पनि प्रभाव पारेको रहेछ।'

मन्त्रालयले लघु उद्यमलाई उकास्न महानगरपालिकासँग मिलेर काम गर्न लागेको छ। महानगरपालिका र नगरपालिकासँग मिलेर सबै सहरमा लघु उद्यम उत्पादन प्रर्दशनी गर्ने तयारी मन्त्रालयले गरिरहेको छ। त्यसैगरी, महानगरपालिका र नगरपालिकाका सहरमा एक–एक पसल राख्ने योजना समेत रहेको मन्त्री जोशीले बताए। 

त्यसैगरी नेपालमा घरेलु तथा उघु उद्यमबाट उत्पादन भएका उत्पादनलाई प्रर्वासी नेपाली समूहसम्म कसरी पुर्‍याउन सकिन्छ भनेर योजना बनाइरहेको मन्त्री जोशीले बताए। यसै योजनाअनुसार जापानमा बस्ने नेपाली समक्ष नेपालको घरेलु तथा लघु उत्पादनलाई पुर्‍याउन योजना भइरहेको छ। 'जापानमा बसेका ७० हजार नेपालीले नेपालको लघु उद्यमका केके वस्तु प्रयोग गर्छन् भनेर लागिसक्नुभएको छ,' मन्त्री जोशीले भने, 'त्यहाँका नेपालीहरूले यो काम सुरु गरिसक्नुभएको छ।'

जापानमा नेपाली सामान प्रयोग गर्ने हो भने मार्केट र गुणस्तको जिम्मा लिने गरी काम अघि बढाएको मन्त्रीको भनाइ छ।

यस्तै संसारभर ६० लाख नेपाल छन् भनिएको छ। त्यसमध्ये पनि १० लाखलाई मात्र नेपाली उत्पादन पुर्‍याउन सके नेपालको घरलु तथा सना उद्योगको विकास हुने भएकाले विदेशमा बसेका नेपालीलाई नेपाली उत्पादन पुर्‍याउने अभियान सुरु गर्नुपर्ने मन्त्री जोशीको भनाइ छ। विदेशमा बस्ने नेपालीले नेपाली उत्पादन प्रयोग गर्न थाले भने त्यहाँका बासिन्दालाई पनि यसले प्रभाव पार्न सक्ने भएकाले यो योजना अघि बढाउन लागिएको मन्त्री जोशीको भनाइ छ।  

प्रकाशित: १४ चैत्र २०७३ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App