१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'गुरुमापा दबाउन' सेनाको घोडचढी

काठमाडौ- गुरुमापा नामको दैत्यले दिएको दुःखबाट मुक्ति मिलेको स्मरणमा प्रत्येक वर्ष टुँडीखेलमा मनाइने घोडेजात्राको तयारी पूरा भएको छ। उपयुक्त समय हेरेर मात्र घोडेजात्रा मनाउने परम्पराअनुुसार यस वर्ष तीन बजेपछि जात्रा सुरु हुने नेपाली सेनाका सहायक प्रवक्ता रामनाथ ढंुगानाले जानकारी दिए।

जात्राका लागि आवश्यक सबै तयारी पूरा भएको ढुंगानाले बताए। घोडेजात्राका अवसरमा सेनाले घोडचढीसम्बन्धी विभिन्न खेल आयोजना गर्छ। ढुंगानाका अनुसार यसपटक सेनाले घोडचढीसम्बन्धी १० खेल आयोजना गर्न लागेको छ।  खेलमा उत्कृष्ट हुने घोडालाई पुरस्कृत गरिनेछ। यो वर्ष घोडचढी कला प्रदर्शन गर्ने मैदानमा विगतमा भन्दा केही फेरबदल गरिएको सेनाले जनाएको छ। 

परापूर्वकालमा बालबालिका खाइदिनेगरेको गुरुमापा नामक दैत्यलाई घोडाको टापले कुल्चेर मारेको सम्झनामा घोडेजात्रा मनाइन्छ।

परापूर्वकालमा टुँडीखेलको पूर्व दक्षिणको रुखमा रहेको गुरुमापाले मानव बस्तीमा दुःख दिने तथा बालबालिका खाइदिने गरेकाले सो दैत्यलाई घोडाको टापले कुल्चेर मारिएको सम्झनामा यो पर्व मनाउने गरिन्छ।

नेपाली सेनामा घोढचढीको इतिहास

नेपाली सेनामा घोडचढीसम्बन्धी इतिहास निकै पुरानो छ। नेपालमा अश्वसेना (घोडचढी सैनिक) प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ। आधिकारिक रुपमा भने ७ मंसिर १९०६ मा घोडचढी सैनिक दल स्थापना भएको हो।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार तत्कालीन राजा सुरेन्द्रविक्रम शाह तथा प्रधानमन्त्री जंगबहादुर राणाका पालामा रिसल्ला नामबाट घोडचढी सैनिक टुकडी स्थापना गरिएको थियो। नयाँसडकस्थित भूगोलपार्कमा घोडा तबेला स्थापना गरिएको थियो।

चाँगुनारायणस्थित अभिलेखमा नेपालमा  पाँचौं शताब्दीदेखि नै घोडचढी सैनिक भएको उल्लेख छ। त्यति बेला नेपालमा उत्तर–पश्चिम तथा तिब्बतबाट घोडा आयात हुने गरेको इतिहास भेटिन्छ। १४औं शताब्दीको प्रारम्भबाटै घोडचढी सैनिक प्रयोग हुने गरेको नेपाली सेनाकी मेजर बुद्धकुमारी थेबे बताउँछिन्। १६औं शताब्दीमा पाल्पाली राजा मुकुन्द सेनले नेपाल आक्रमण गर्दा असंख्य घोडचढी सैनिक प्रयोग गरेको पार्वती वंशावलीमा उल्लेख छ।

भारतीय स्वतन्त्रता संग्राममा नेपाली अश्वसेना

सन् १८५७ मा भएको पहिलो भारतीय स्वतन्त्रता संग्राम दबाउन नेपाली अश्वसेना प्रयोग भएको इतिहास छ। त्यति बेला नेपालका तर्फबाट अश्वसेनाको नेतृत्व गर्दै कर्नेल पहलवानसिंह बस्नेत भारत गएका थिए।

प्रधानमन्त्री जंगबहादुरले अंगे्रजलाई सघाउन बस्नेतलाई भारत पठाएका थिए। तत्कालीन घोडचढी सैनिक दल रिसल्ला विसं १९११–१२ मा भएको नेपाल–तिब्बत युद्धका बेला पनि लडेको थियो।

सन् १८४८ मा प्रधानमन्त्री जंगबहादुर राजा सुरेन्द्रविक्रमसँग सिकार खेल्न जाँदा तीन सय घोडचढी सैनिक लगेका थिए।

रिसल्लादेखि नेपाल क्याभलरीसम्म

हाल नेपाली सेनाको मातहतमा रहेको अश्वसेना क्याभलरी रिसल्लाको परिष्कृत स्वरुप हो। रिसल्ला अहिले परिष्कृत हुँदै नेपाल क्याभलरीका रूपमा स्थापित भएको छ। सेनाले यही क्याभलरीमा रहेका तालिमप्राप्त घोडामार्फत घोडेजात्रामा कला–कौशल प्रदर्शन गर्छ।

राणा प्रधानमन्त्री जंगबहादुरका पालामा तालिमे घोडालाई भूगोलपार्कमा राखिने गरेकोमा उनको मृत्युपछि प्रधानमन्त्री रणोद्वीप सिंहले कालिकास्थाननजिकै हाल बन्दोबस्ती कार्य गण रहेको स्थानमा घोडा राख्न लगाएका  थिए।

पछि २०औं शताब्दीको प्रारम्भमा चन्द्रशमशेरले सिंहदरबार निर्माण गरेपछि त्यसको अगाडि (हाल ट्राफिक प्रहरी प्रधान कार्यालयको हाताभित्र) रिसल्ला पल्टन राखियो। सो ठाउँलाई अहिले बग्गीखाना भनिन्छ।

२००९ सालमा नेपाली सेनाको पुनर्गठनपछि यसलाई 'किंग्स हाउस होल्ड क्याभलरी' नामकरण गरिएको थियो। नेपाल गणतन्त्रमा प्रवेश गरेसँगै २०६५ जेठ २३ देखि यसको नाम 'नेपाल क्याभलरी'मा परिणत भयो। हाल यहाँ एक सय घोडा रहेको नेपाली सेनाले जनाएको छ।

सेनामा घोडाको प्रयोग

नेपाली सेनाका यी घोडा मुख्यगरी सैन्य प्रयोजनमा प्रयोग गरिन्छ। घोडचढी फौजलाई महाशिवरात्री तथा सेना दिवस, घोडेजात्रा, विदेशी राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस कार्यक्रम तथा राष्ट्राध्यक्ष एवं विदेशी राष्ट्रप्रमुखका औपचारिक कार्यक्रममा प्रयोग गरिन्छ।  क्याभलरीमा विभिन्न किसिमका घोडा राखिन्छ। हाल बग्गी तान्ने हेभी ब्रिडको घोडा, टेन्ट पेगिङ घोडा, सो जम्पिङ घोडा, फायर एन्ड मुभमा प्रयोग र राइडिङमा प्रयोग हुनेलगायतका घोडा रहेको सेनाले जनाएको छ। क्याभलरीका घोडालाई विभिन्न नाम र नम्बर दिइए पनि पद नहुने सेनाको भनाइ छ। घोडाको दाना, घाँस, स्याहार–सुसार तथा उपचारका लागि वार्षिक रुपमै बजेट विनियोजन गरिन्छ। घोडाको हेरचारका लागि आवश्यक सैनिक पनि खटिन्छन्।

यसरी दिइन्छ तालिम

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार साधारणतः तीन वर्ष उमेर पूरा भएको घोडालाई तालिम दिन सुरु गरिन्छ। कम्तीमा ३४ हप्ते नयाँ घोडा आधार तालिम दिएपछि विभिन्न खेलसम्बन्धी एड्भान्स तालिम पनि दिने सेनाको भनाइ छ। बग्गीतर्फका घोडालाई भने तीन वर्ष पूरा भएपछि बग्गीसम्बन्धी विभिन्न किसिमका तालिम तथा अभ्यास गराइन्छ।

प्रकाशित: १४ चैत्र २०७३ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App