१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मेचीका १५ दलले चुनाव चिह्न नपाउने

इलाम- संसद्मा प्रतिनिधित्व गर्ने दलले मात्रै आफ्नो चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुसार मेचीका १५ दलले आफ्नो चिह्नमा चुनाव लड्न नपाउने भएका छन्। आउँदो वैशाख ३१ को स्थानीय तह निर्वाचनमा आफ्नो चुनाव चिह्नमा लड्न नपाउने दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा मात्रै चुनाव चिह्न दिने भएको छ।

मेचीका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका निर्वाचन कार्यालयमा ३१ दलले आउँदो चुनावी प्रयोजनका लागि विवरण अध्यावधिक गराएका छन्। यीमध्ये १६ दलले मात्रै आफ्नो दलको चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न पाउने भएका हुन्। आयोगले जिल्लास्थित निर्वाचन कार्यालयमा पठाएको विवरणअनुसार झापामा १६, इलाममा ८, पाँचथरमा ७ र ताप्लेजुङमा ५ दलले मात्रै आफ्नो चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न पाउने देखिएको छ।  ताप्लेजुङमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै आफ्नो चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न पाउनेछन्। यहाँको निर्वाचन कार्यालयमा दलको विवरण रहे पनि संसद्मा प्रतिनिधित्व नगर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पुर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेकपा (माले–जनसमाजवादी), नेकपा (मार्क्सवादी), राष्ट्रिय जनमुक्ति पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसनले चुनावमा आफ्नो दलको चुनाव चिह्न पाउने छैनन्।

 पाँचथरमा कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, फोरम लोकतान्त्रिक र नेकपा मालेले आफ्नो चुनाव चिह्नमा लड्न पाउनेछन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेकपा (माले–जनसमाजवादी), राष्ट्रिय जनमुक्ति पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन आफ्नो दलको चिह्नमा चुनाव लड्ने छैनन्।

इलामस्थित जिल्ला निर्वाचन कार्यालयमा १७ दलले विवरण अध्यावधिक गराए पनि आठ दलले मात्रै आफ्नो चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउनेछन्। जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, खम्बुवान राष्ट्रिय मोर्चा र माले दलकै चुनाव चिह्न लिएर प्रतिस्पर्धामा आउनेछन्। नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माले–जनसमाजवादी), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन र नेपाल कम्युनिस्ट पार्टीले चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा मात्रै चुनाव चिह्न पाउने आयोगले जनाएको छ।

आयोगका अनुसार झापामा कांग्रेस, एमाले,  माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, तराईमधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), सद्भावना पार्टी, माले, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेपाल सद्भावना पार्टी, जनजागरण पार्टी नेपाल र राष्ट्रिय मधेस समाजवादी पार्टी दलकै चुनावी चिह्नमा चुनावमा जाँदैछन्।

झापामा  नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल पिपुल्स पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेकपा (मार्क्सवादी), विवेकशील नेपाली, चुरेभाबर राष्ट्रिय एकता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माले–जनसमाजवादी), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रवादी पार्टी र शान्ति पार्टी चुनावमा स्वतन्त्र चिह्न लिएरमात्र चुनावमा उठ्न पाउने भएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ। ‘आयोगले संसद्मा दर्ता नभएका दलका लागि स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न प्रदान गर्नेछ', आयोग प्रवक्ता सूर्य शर्माले भने, ‘आयोगमा दर्ता नभएका तर क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाएका दलले पनि स्वतन्त्र चुनाव चिह्नमा मात्रै उम्मेदवार उठाउन पाउनेछन्।'

आयोगले मतपत्र छपाइ थालेको जनाएको छ। सम्बन्धित जिल्लामा चुनाव लड्ने दल र स्वतन्त्र उम्मेदवारको  संख्या आकलन गरी मतपत्र छाप्ने व्यवस्था आयोगले मिलाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ‘संसद्मा रहेका दलको आफ्नै चुनाव चिह्न हुने भएकाले जिल्लाअनुसार त्यसको गन्ती गरेर मतपत्र छपाइ हुन्छ', जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले भने, ‘स्वतन्त्र उठ्ने उम्मेदवारको संख्या मनोनयन दर्ताभन्दा अघि यकिन नहुने भएकाले अनुमानभन्दा केही बढी चिह्न भएको मतपत्र छापिने बुझेका छौं।'

 आयोगले अघिल्ला निर्वाचनमा आयोगमा दर्ता भएका आधारमा दलहरूको चुनाव चिह्नको क्रम मिलाउने गरेको थियो। आउँदो चुनावका लागि भने संसद्मा भएको सांसद संख्याका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रम मिलाइएको आयोगले जनाएको छ। यो आधारमा नेपाली कांग्रेसको रुख चिह्न सबैभन्दा माथि, दोस्रोमा  एमालेको सूर्य, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडालगायत क्रमशः चुनाव चिह्नका रूपमा मतपत्रमा राखिनेछन्।

प्रकाशित: १४ चैत्र २०७३ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App