१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निगमका ८ मध्ये ६ जहाज थन्किए

क्यापटेन विजय लामाको फेसबुकबाट साभार।

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने ८ मध्ये ६ थान जहाज उड्नै नसक्ने गरी थन्किएका छन्। आम्दानीको मुख्य माध्यम जहाज नै थन्किएपछि निगम अप्ठेरो परिस्थितिमा गुज्रिरहेको छ।

अन्तर्राष्ट्रिय उडान गरिरहेका चारमध्ये तीनवटा र आन्तरिक उडान गर्ने पनि चारमध्ये तीनवटै जहाज एकपछि अर्को गर्दै 'ग्राउन्डेड' भएका हुन्। नयाँ जहाज थपेर बिस्तारै आफ्नो छवि सुधार्दै गइरहेको निगम स्वदेशी तथा विदेशी गन्तव्य दुवैतर्फ लगभग शून्य जहाजको अवस्थामा आएपछि छवि धूमिल मात्र नभई अब व्यापारिक हिसाबमा पनि पछाडि पर्न थालेको छ।

'आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरिरहेका ८ थान जहाजमध्ये अहिले ६ वटा ग्राउन्डेड छन्,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, 'अधिकांश जहाज प्राविधिक समस्याका कारण ग्राउन्डेड भएका हुन् भने अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाजचाहिँ चरा ठोक्किएर थन्किन पुग्यो।'

उनका अनुसार गत बिहीबार (असार २३) मा काठमाडौंबाट हङकङ उडान गर्न धावनमार्गमा कुदिरहेका बेला 'ए३२०–२००' सिरिज जहाजमा चरा ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो। त्यसपछि आइतबार (असार २६) मा एउटा 'बी७५७' सिरिजको जहाजमा प्राविधिक समस्या आएपछि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड भएको छ।

त्यसअघि आन्तरिक उडान गरिरहेका दुईमध्ये एउटा टि्वनअटर पनि प्राविधिक कारणले ग्राउन्डेड भयो। करिब एक महिनाअघि सिंगापुरमा मर्मत गर्न लगिएको अर्को बी७५७ उतै थन्किएर बसेको छ। त्यस्तै दुई थान चिनियाँ जहाजमध्ये 'मोडर्न आर्क' (एमए–६०) पनि करिब दुई साताअघि मर्मतका लागि थन्किएको छ भने अर्को 'वाई१२–ई' थन्किएको ९ महिना भइसक्यो।

सम्बद्ध अधिकारीका अनुसार 'एयरकन्डिसन पाइप' चुहिएपछि कलसाइन ९एन–एसिबी भएको बी७५७ जहाज आइतबार ग्राउन्डेड भएको हो। 'यो जहाज खरिद गरेको झन्डै तीस वर्ष हुन लाग्यो र हालसम्म त्यो पाइपले काम गरिरहेको थियो,' ती अधिकारीले भने, 'अहिले आएर त्यो पाइप चुहिन थाल्यो। जहाज पुरानो भएका कारण हामीलाई व्यवस्थापन गर्न हम्मे पर्न थालेको छ।'

अधिकांश जहाज ग्राउन्डेड भएपछि निगम व्यवस्थापनले आगामी शनिबारसम्मका लागि धेरै उडान रद्द गरेको छ भने मलेसियाको क्वालालम्पुर र कतारको दोहा उडान बन्द नै गरेको छ। अन्तर्राष्ट्रिय उडान गर्न अब एउटा मात्र ए३२० जहाज बाँकी रहेका कारण सबै गन्तव्य पुग्न सकिँदैन। बाँकी एउटा जहाजबाट निगमले दैनिक अधिकतम दुईदेखि तीन उडान गर्न सक्छ।

निगमले क्वालालम्पुरका लागि सातामा तीन तथा दोहाका लागि चार उडान गर्दै आएको थियो। जहाज थन्किएपछि सोमबारको बैंकक उडान रद्द गर्‍यो। त्यस्तै मंगलबार बैङलोर उडान पनि रद्द गरेको छ। 'हामी सकेसम्म नयाँदिल्ली उडान भने नरोक्ने पक्षमा छौं,' सम्बद्ध अधिकारीले भने, 'एउटा जहाजमा खुम्चिनुपर्दा सबै गन्तव्यमा जान सम्भवै छैन। टिकट लिइसकेका यात्रुलाई अन्य कम्पनीका जहाजमा पठाउने व्यवस्था मिलाएका छौं। अब हामीले गुमाउने आम्दानीको हिसाब गर्न बाँकी नै छ।'

आन्तरिकतर्फ पनि एउटा जहाजमा खुम्चिनुपर्दा मुलुकका विभिन्न गन्तव्यका उडान प्रभावित भएका छन्। निगमले दुई दर्जनभन्दा बढी आन्तरिक गन्तव्यमा उडान गरिरहेको थियो। चारमध्ये तीन जहाज थन्किएपछि आन्तरिकतर्फ लगभग उडान ठप्पजस्तै रहेको ती अधिकारीले बताए।

'जहाज थन्किनुमा व्यवस्थापनको दोष छैन,' ती अधिकारीले लाचारी पोखे, 'चिनियाँसहित चार जहाज प्राविधिक कारण थन्किएका हुन् भने एयरबस चरा ठोक्किएर थन्किन पुग्यो। अब सकेसम्म चाँडै मर्मत गरी उडाउने प्रयास भइरहेको छ। मर्मतमा ढिलाइ भयो भने मात्र हाम्रो दोष देखिनेछ।'

गत बिहीबार चरा ठोक्किएर दायाँ इन्जिनमा पुगेको क्षति आँकलन गर्न निगम व्यवस्थापनले इन्जिन निर्माता कम्पनी इन्टरनेसनल एरो इन्जिन (आइएई) बाट एक इन्जिनियर बोलाएको छ। 'इन्जिनको ब्लेड कुच्चिएको भेटिएको छ,' सम्बद्ध अधिकारीले भने, 'आइएईका इन्जिनियरले इन्जिन खोलेर हेरेपछि मात्र यकिन क्षति थाहा हुनेछ।'

निगमसँग अन्तर्राष्ट्रिय उडानतर्फ युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग एक वर्षअघि खरिद गरी ल्याइएका १ सय ५८ सिट क्षमतायुक्त ए३२०–२०० सिरिजका दुई थान, अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमताका दुई थान बी७५७, आन्तरिकतर्फ चीनमा निर्मित एक थान ५८ सिटे एमए–६० तथा १७ सिटे एक थान वाई१२–ई र क्यानडामा निर्मित १९ सिटे दुई थान 'डिएचसी–६' टि्वनअटर जहाज छन्। तीमध्ये बी७५७ करिब ३० वर्ष र टि्वनअटर ४० वर्षभन्दा पुराना हुन्।

निगमले चार ठूला जहाजबाट भारतका नयाँदिल्ली, मुम्बई र बैङलोर, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर, कतारको दोहा र हङकङका लागि सातामा करिब दुई दर्जन उडान गर्दै आएको थियो। दिल्लीमा मात्रै सातामा ११ उडान गर्थ्यो।

प्रकाशित: २८ असार २०७३ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App