१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुधारको फड्को मार्दै वीर

काठमाडौं- सेवा लिनै झन्झट। जताततै फोहोर, अँध्यारा, खिइएका, मैला भर्‍याङ। सानो प्वालबाट हात छिराएर टिकट लिनुपर्ने बाध्यता, लाममा घन्टौं उभिनुपर्ने, केही बेर टुसुक्क बस्ने ठाउँसमेत छैन। वीर अस्पताल सुन्नासाथ धेरैको मस्तिष्कमा आउँने तस्बिर हो यो।

मुलुकको जेठो अस्पतालको सेवा, सुविधा, प्रविधि र पूर्वाधारमा सुधार गर्न थालिएको छ।

मुलुककै पुरानो र ठूलो अस्पताल वीरको अहिले देखिने 'ब्ल्याक एन्ड ह्वाइट पिक्चरजस्तो' यो पहिचान अब रंगीन हुँदैछ। अस्पतालबाट प्राप्त हुने बहुविशेषज्ञ सेवाका लागि आवश्यक पर्ने उपकरण र जनशक्तिसहित वीरको आँखाले देखिने तस्बिरसमेत बदल्ने कार्य सुरु भएको छ। अस्पतालले दिने सेवामा केही हदसम्म सुधार देखिन थालिसकेको छ।

सरकारी स्वास्थ्य प्रणालीको प्रमुख विकल्पका रूपमा रहेको वीरको 'इमेज' बदल्ने भन्दै स्वास्थ्यमन्त्री गगन थापाले 'वीर सुधार' लाई  प्राथमिकतामा राखेर बृहत् योजना अगाडि बढाएका हुन्। थापाले वीरलाई तत्काल र दीर्घकालीन सुधार गर्न योजना बनाई त्यसैअनुरूप काम अघि बढाएका हुन्। वीरमा सेवा, सुविधा, प्रविधिमा गर्न थालिएको सुधारले ओपिडी र अन्तरंग सेवा लिनेको संख्यामा वृद्धिसमेत देखिन थालेको छ।

वरिष्ठ पूर्वाधार तथा योजना सल्लाहकार सुनिल खड्का नेतृत्वमा इन्जिनियर, चिकित्सकलगायतको टोलीले बाहिरका आकर्षक निजी अस्पतालसहित वीरको सेवाका विषयमा सेवाग्राही एवं सेवा प्रदायकहरूसँग चरणबद्ध छलफलपछि मन्त्रालयले यस्तो योजना बनाएको हो। सुरुमा कम्तीमा तीन महिनाभित्रै सकिने गरी अस्पतालको अनुहार टिकट काउन्टर, प्रतीक्षालय, भर्‍याङ र सेवास्थल पहिचान गर्न सहज हुने गरी संकेत बनाउने काम सुरु भइसकेको छ। यसका लागि मन्त्रालयले एक करोड २३ लाख बजेट दिएको छ। 

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार हालको ओपिडी भवनको पहिलो तलामा रहेको प्रवेशद्वार वरपरको क्षेत्र भत्काएर आधुनिक प्रविधि र सामग्री प्रयोग गरी पुनर्निर्माण गरिँदैछ। अस्पताल फार्मेसी भएको ठाउँमा प्रतीक्षा हल, बैंक भएको ठाउँमा क्यास काउन्टर र अर्थोपेडिक्स ओपिडी भएको ठाउँमा ओपिडी टिकट काउन्टर हुने गरी 'लबी' निर्माण गर्न लागिएको अस्पतालले जनाएको छ। लबी कक्षबाट स्पष्ट देखिने गरी भर्‍याङ, अन्य सेवा केन्द्रसहित, भुइँ र भित्ताको रङसमेत चम्किलो र आँखाका लागि अनुकूल हुने खालको बनाइँदैछ।

विभिन्न विभाग, प्रयोगशाला, रेडियोलोजीजस्ता सेवा सहजै पत्ता लगाउने गरी चिह्न र संकेत राखिनेछ। 'अस्पताल भनेको होटलजस्तै हुनुपर्छ, बिरामी भएरै पुगेका मान्छेलाई म सही ठाउँमा आइपुगें, अब निको हुन्छु भन्ने भान आउनुपर्छ', खड्काले भने, 'अहिले वीरमा बिरामी अलमल भइरहेका छन्, बिरामी र कुरुवामैत्री सेवा छैन।'

स्वास्थ्यमन्त्री थापाले वीरलाई पूर्वाधार, सेवा र जनशक्तिको आधारमा पनि प्रमुख अस्पताल बनाउने योजनाअनुसार काम भइरहेको बताए। 'सरकारी सिस्टमको अन्तिम र प्रमुख अस्पताल हो भने 'परर्फमेन्स' पनि सबैभन्दा उत्कृष्ट हुनुपर्छ', थापाले थपे, 'त्यसका लागि जे–जे चाहिन्छ उपलब्ध गराउने जिम्मा मेरो भयो, तपाईंहरू काम देखाउनुस् भनेको छु।'

थापाले जिम्मेवारी सम्हालेयता वीर अस्पतालका लागि अर्थबाट ५० करोड हाराहारीमा अतिरिक्त बजेट व्यवस्था भएको छ। 'जनशक्ति बजेट मागेजति दिएँ, सरसफाइ व्यवस्थापनजस्ता कुरामा रोस्टरै बनाएर यो–यो गर्नुस् भनेको छु', थापाले भने, 'अब भित्रीसँगै ससाना काम गरेर यसको 'आउटलुक' बदल्न काम हुँदैछ।'

अस्पतालका अनुसार २५ करोड मूल्यका  विभिन्न विभाग र वार्डमा आवश्यक पर्ने शल्यक्रिया र परीक्षण उपकरण, क्यान्सर परीक्षणमा प्रयोग हुने १६ करोडको कोबाल्ट मेसिन खरिद प्रक्रिया सुरु भइसकेको छ। पटकपटक योजना बने पनि हालसम्म अगाडि बढ्न नसकेको नयाँ भवन निर्माणसमेत अगाडि बढेको छ। यसअघि नर्सिङ कलेज र क्वाटर रहेको १७ रोपनी क्षेत्रमा नयाँ साततले सर्जिकल ब्लक बनाउन पुरानो भवन भत्काउन थालिसकिएको छ। भूकम्पले भत्काएको आइसियु भवन भएको ठाउँमा जाइकाको सहयोगमा नयाँ भवन बन्दैछ।

अस्पतालमा अत्याधुनिक परीक्षण सेवा इन्टरभेन्सनल रेडियोलोजी, मानसिक र ओपिडी, २४ सै घन्टा हेमोडाइलासिस, लाइनको सट्टा टोकन प्रणाली, युरोलोजी ओपिडी विस्तार भइसकेको छ। अस्पतालको आफ्नै फार्मेसी, क्यास एवं ओपिडी काउन्टरमा टोकन प्रणाली सुरु भएको छ। ओपिडी प्रतीक्षालयमा विभिन्न सेवाबारे जानकारी दिन वृत्तचित्र बनाई प्रसारण गर्ने गरिएको छ। अस्पतालका निर्देशक डा. बस्नेतले सेवा विस्तार, सरसफाइ र राम्रो व्यवस्थापनपछि पछिल्लो समय प्रत्येक महिना पाँचदेखि सात हजार ओपिडी, करिब चार सय आकस्मिक र दुई सय हाराहारीमा भर्ना हुने संख्या बढेको बताए।

उनले अस्पताल हातामा रहेको चमेनागृह पुनर्निर्माण गरी व्यवस्थित र स्तरीय बनाइएको, अस्पतालले यसअघि अक्सिजन बाहिरबाट किनेर बिरामीलाई सुविधा दिइरहेकोमा  अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताल हाताभित्रै राख्ने कार्य अन्तिम चरणमा पुगेको समेत बताए। अस्पतालका अनुसार रोटरी क्लबमार्फत ८ वटा हेमोडायलायसिस मेसिन, कलेजोको कडापन नाप्न प्रयोग हुने फाइब्रो स्क्यान मेसिन ल्याउने प्रक्रिया सुरु भएको छ।

ठूलो निर्माण र खरिदबाहेक अस्पतालमा सामान्य लाग्ने थुप्रै सुधार सुरु भएको पनि डा. बस्नेतले बताए। उनका अनुसार भौतिकतर्फ अस्पतालको मुख्य गेटभित्र नागरिक बडापत्र, महŒवपूर्ण ठाउँमा सिसिटिभी राखी निगरानी, अस्पताल हाताभित्र बिरुवा तथा फूल साथै गमला राखी अस्पताल परिषद्भित्र सफा र हरियालीसमेत बढाइएको बताए। अधिकांश विभाग र वार्डमा नयाँ बोर्ड, वषार्ंैदेखि नफेरिएका बेडमा पर्दा, बेडसाइड टेबलसमेत परिवर्तन गरिएको छ।

अस्पतालका अनुसार इमर्जेन्सीको मुख्य ढोका र ओपिडी टिकट काउन्टर एरियामा मोजाक राखी फ्लोरिङ कार्य गरी सफा गरिएको छ। मूल भवनमा रंगरोगनसँगै लामो समयदेखि मेटिएको नामसमेत पुनर्लेखनका साथै इमर्जेन्सीको माथि वीर अस्पताल र वीर अस्पताल इमर्जेन्सी लेखिएको नयाँ थि्रडी बोर्ड राखिएको छ। अस्पतालका शौचालय पुनर्निर्माण, प्रयोगशाला जाँच गर्ने ठाउँमा एउटा अपांगमैत्री बनाइनुका साथै भएकाको नियमित सफाइ भइरहेको छ।

अस्पतालमा रहेको वर्षौं पुरानो लिफ्ट विस्थापित गरेर नयाँ अत्याधुनिक लिफ्ट र आन्तरिक विभागको भवनमा र्‍याम्प जडान गरिएको  छ। निर्देशक बस्नेतले साना तर महŒवपूर्ण अर्थ राख्ने ओपिडी बस्ने चिकित्सकको नाम प्लेट, २४ घन्टे डिस्चार्ज सुविधा, अल्ट्रासाउन्ड र विभिन्न रिपोर्टसमेत छिट्टो आउने व्यस्था गरिएको बताए।

आइसियु चाप घटाउन आइसियुमा राख्न नपर्ने तर जनरल वार्डमा सार्न नमिल्ने अवस्थाका बिरामी राख्न १० बेडको हाई डिपेन्डेन्टी वार्ड निर्माण कार्य भइरहेको छ। 'पुरानो आइसियुलाई स्तरोन्नति गर्न तीन बेड थप गरी नौ बेडसहितको स्तरीय आइसियु बन्छ', बस्नेतले भने, 'अहिले हामीले टेन्डर गरेका सम्पूर्ण सामान आइपुग्दा अत्याधुनिक उपचारका लागि नेपालमा सम्भव हुने कुनै पनि प्रविधि वीरमा छैन भन्न पर्ने छैन।'

प्रकाशित: १३ चैत्र २०७३ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App