१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ओपनिङमा जम्दै ज्ञानेन्द्र

काठमाडौं- नेपाली क्रिकेटको इतिहास धेरै लामो छैन। छोटै यात्रामा पनि बलिङ नेपालको बलियो पक्षका रुपमा स्थापित छ। नेपाली क्रिकेट भन्नेबित्तिकै बलिङको चर्चा सँगै जोडिन्छ। पछिल्ला वर्षहरुमा नेपाललाई सफलता दिलाउन ब्याटभन्दा बलकै भुमिका बढि हुनुले यस्तो चर्चा स्वभाविक देखाउँछ। तर नेपाली क्रिकेटको समिक्षामा बलिङ एउटा पाटो हो। सँगै राम्ररी चल्न नसकेका ब्याट नेपाली क्रिकेटमा चर्चा हुने अर्को विषय हो।

इनिङ ओपनिङमा समस्या ड्रेसिङ रुमको स्थायी टाउको दुखाईजस्तै बनिसकेको छ। कनिष्क चौगार्इंले ब्याट बिसाएपछि नेपाली क्रिकेटमा उनको अभाव खट्किरह्यो। हरेक खेलपछि क्रिकेटप्रेमी अझै कनिष्कलाई सम्भि्कन्छन्। कारण, यसबीचमा ओपनिङमा देखिएको समस्या। थुप्रै विकल्प प्रयोग गरियो तर समस्याले पार पाउन सकेन। अब भने विस्तारै ओपनिङको समस्या समाधान उन्मुख भएको संकेत देखिन थालेको छ।

पहिले वान डाउन जान्थेँ। प्रशिक्षकहरूले ओपनिङमा समस्या भइरहेको छ, त्यसैले एक इन्डबाट राम्रो भयो भने सही सुरुआत गर्न सकिन्छ भन्नुभयो। उहाँहरूले ममाथि विश्वास गर्नुभयो। त्यसलाई मैले सहज रूपमा लिएँ।

विश्व क्रिकेट लिगअन्तर्गत नेपालले एक वर्षअघि नामिबियालाई घरमा निम्त्यायो। त्यही खेलबाट ब्याटिङ संरचनामा केही परिवर्तन भयो। मध्यक्रममा खेल्ने उपकप्तान ज्ञानेन्द्र मल्ललाई ओपनिङ गराइयो। मध्यक्रममा भरपर्दो ब्याट्सम्यानको रूपमा परिचय बनाएका ज्ञानेन्द्रले ओपनिङको जिम्मेवारी पनि सफलतापूर्वक पूरा गरिरहेका छन्। त्यसयता ज्ञानेन्द्रले ३६.८० (एमसिसीबाहेक)को औसतका साथै ६६.१८(एमसिसीबाहेक)को स्ट्राइक रेटमा रन जोडेका छन्।

‘हाम्रो ओपनिङमा समस्या भइरहेको थियो। नामिबियासँग खेल्दा हामी एउटा ब्याट्सम्यानलाई एडजस्ट गर्नुपर्ने अवस्थामा थियौं,’ नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भने, ‘टिम संयोजन मिलाउन हामीले ज्ञानेन्द्रलाई ओपनिङमा खेलाउने निर्णय गर्‍यौं जुन राम्रो पनि भयो।’

नामिबियाविरुद्धको पहिलो खेलमा २१ रन जोडका ज्ञानेन्द्रले दोस्रो खेलमा २२ रन बनाए। बीचमा नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)सँग मैत्रीपूर्ण एकदिवसीय खेल खेल्यो। त्यसमा पनि उनले ३९ रन जोडे। विश्व क्रिकेट लिग च्याम्पियनसिपकै लागि नेदरल्यान्ड्स भ्रमणमा ज्ञानेन्द्रले पहिलो खेलमा ११ रन मात्र जोड्न सके। ओपनिङमा ब्याटिङ गर्न थालेपछि उनले बनाएको यो सबैभन्दा थोरै रन हो। दोस्रो खेलमा ७५ को स्ट्राइक रेटमा ज्ञानेन्द्रले ३९ रन बनाए।

पछिल्लो समय राष्ट्रिय टोलीमा युवा खेलाडीको आउने क्रम बढ्दो छ। अनुभवी भएकाले टोलीको आवश्यकताअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्ने ज्ञानेन्द्रको तर्क छ।

‘क्रिकेट टिम गेम हो। त्यसैले जुन पोजिसनमा अवश्यकता पर्छ त्यहीअनुसार आफूलाई ढाल्नुपर्छ,’ नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा नेपालको कप्तानी सम्हालिरहेका ज्ञानेन्द्रले भने, ‘पहिले वान डाउन जान्थंे। प्रशिक्षकहरूले ओपनिङमा समस्या भइरहेको छ, त्यसैले एक इन्डबाट राम्रो भयो भने सही सुरुआत गर्न सकिन्छ भन्नुभयो। उहाँहरूले ममाथि विश्वास गर्नुभयो। त्यसलाई मैले सहज रूपमा लिएँ।’

नेपाल क्रिकेट संघ (क्यान) हाल निलम्बनमा छ। त्यसै पनि मैत्रीपूर्ण खेल कम हुने नेपाली क्रिकेट पछिल्लो समय झन् सकसमा छ। नेदरल्यान्ड्सपछि नेपालले एकै पटक केन्याविरुद्ध मात्र खेल्यो। डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत नेपालले केन्यासँग खेल्नुअघि भारत भ्रमण गरेको थियो। नयाँ दिल्लीको नोएडामा नेपालले राजवाडा क्रिकेट टिमसँग २ तथा नोएडा वोन्डर्ससँग १ खेल गरी तीन अभ्यास खेल खेल्यो। राजवडा क्रिकेट टिमसँगको पहिलो खेलमा ज्ञानेन्द्रले शतकीय इनिङ खेले। उनले १ सय २५ बलमा १० चौकासहित १ सय ४ रन बनाए। तथापि नेपालले हारेपछि उनको शतक छायामा पर्‍यो। दोस्रो खेलमा उनी शतकबाट ५ रनले चुके। १ सय १५ बल सामना गरेका ज्ञानेन्द्रले ८ चौका र २ छक्कासहित ९५ रन बनाए। तेस्रो खेलमा युवा खेलाडी आशिफ शेखलाई मौका दिएकाले ज्ञानेन्द्रले ब्याटिङ गरेनन्।

कनिष्क चौगार्इंले ब्याट बिसाएपछि नेपाली क्रिकेटमा उनको अभाव खट्किरह्यो। हरेक खेलपछि क्रिकेटप्रेमी अझै कनिष्कलाई सम्भि्कन्छन्। कारण, यसबीचमा ओपनिङमा देखिएको समस्या।

ओपनिङ ब्याटिङ गर्न थालेपछि ज्ञानेन्द्र दिनप्रतिदिन थप परिपक्व हुँदै आएको मुख्य प्रशिक्षक टमाटाको बुझाई छ। नोएडामा उनको प्रदर्शनले प्रशिक्षकको भनाई पुष्टि गर्छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्धको प्रदर्शनमार्फत ज्ञानेन्द्रको नाममा नेपाली क्रिकेटले भरपर्दो ओपनर पाएको सन्देश थप प्रमाणित भयो।

‘हुन त उनले उमेरसमूहमा पनि ओपनिङमा ब्याटिङ गरेका छन्। तर पछि उनी मध्यक्रममा राम्रो गरिरहेका थिए। वान डाउन र ओपनिङमा धेरै फरक त छैन। त्यसैले उनलाई हामीले माथि पठाउने निर्णय गर्‍यौं। उनी पनि राजी भए,’ मुख्य प्रशिक्षक टमाटाले ज्ञानेन्द्रबारे भने, ‘उनी अनुभवी खेलाडी हुन्। नयाँ ब्याट्सम्यानलाई पनि उनले कसरी इनिङ अघि बढाउने भनेर सम्झाउन सक्छन्। त्यसैले हामीले गरेको प्रयोग सफल भएको छ। नेपाली क्रिकेटका लागि यो राम्रो संकेत हो।’

पटकपटक वर्षाले प्रभावित केन्याविरुद्धको पहिलो खेलमा नेपालले राम्रो ब्याटिङ गर्न सकेन। यद्यपि उक्त इनिङमा नेपालबाट सबैभन्दा धेरै रन बनाउने ज्ञानेन्द्र नै थिए। उनले ३५ बलमा ५ चौकासहित २७ रन बनाए। दोस्रो खेलमा उनले अविजित इनिङ खेल्दै नेपाललाई ५ विकेटको विजय दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरे। ९३ बलमा ८ चौका र १ छक्का प्रहार गरेका ज्ञानेन्द्रले अविजित ६४ रन बनाए। उनले दीपेन्द्रसिंह ऐरीसँग १ सय ११ रनको निर्णायक साझेदारी गरे।

तथापि ओपनिङ साझेदारी भने अझै जम्न सकिरहेको छैन। यसबीचमा उनले नरेश बुढाऐर, अनिल मण्डल र सुनील धमलालाई ओपनिङ जोडीका रूपमा पाए। तर भारतको अभ्यास खेललाई बिर्सने हो भने यी कुनै पनि ब्याट्सम्यानसँग उनको जोडी जम्न सकेको छैन। नामिबियाविरुद्ध उनले नरेशसँग बनाएको ४२ रनको साझेदारी सबैभन्दा धेरै हो। सुनीलले केन्याविरुद्धकै खेलमा 'डेब्यु' गरेका हुन्। उनीबाट नेपालले धेरै आशा गरेको छ। सुनीलले ज्ञानेन्द्रलाई राम्रो साथ दिए नेपालको ओपनिङ समस्या समाधान हुने क्रिकेटकर्मीहरुको विश्वास छ।

‘हामीले परिवर्तन गरिरहेका छौं। विकल्पहरू अपनाइरहेका छौं,’ मलेसियामा सम्पन्न २००६ को एसिसी ट्रफीमा कुवेतविरुद्ध खेल्दै ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय 'डेब्यु' गरेयता राष्ट्रिय टोलीमा नियमित रहेका ज्ञानेन्द्रले भने, ‘नयाँ खेलाडी आइरहेका छन्। एकैचोटि नतिजा नआउन सक्छ। सिक्दै छन्। आशा गरौं बिस्तारै राम्रो हुँदै जान्छ।’

प्रकाशित: १२ चैत्र २०७३ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App