१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एमयुमा अब चिनियाँ भाषा पढाइ हुने

सुर्खेत–  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा चिनियाँ भाषा अध्ययन हुने भएको छ । मप विश्वविद्यालयले चीनको नान्छाङ्गमा रहेको चीउ च्याङ विश्वविद्यालयको भगिनी संस्था ईष्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा चिनियाँ भाषा अध्ययन सुरु गर्न लागेको हो । 

चीउ च्याङ विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय सुर्खेतबीच शुक्रबार चीनमा भएको समझदारीपत्रमा छ महिनाभित्र सुर्खेतमा चिनियाँ भाषा अध्ययन केन्द्र सञ्चालनको प्रक्रिया सुरु गरिनुका साथै मेडिकल कलेज स्थापना गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने उल्लेख छ।

दुबै विश्वविद्यालयबीच शुक्रबार भएको समझदारीपत्र (एमओयू) मा मप विश्वविद्यालयमा चिनियाँ भाषा अध्ययन केन्द्र स्थापना गर्ने, यसका लागि विज्ञ र प्राविधिक सहयोग उपलब्ध गराउने, विद्यार्थी, फ्याकेल्टी, बिशेषज्ञ आदान–प्रदान गर्ने उल्लेख छ। 

चीनको चिउ च्याङ विश्वविद्यालयका उपकुलपति प्रा.डा. छान र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाबीच भएको एमओयूमा संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आदिको आयोजना गर्ने विषय पनि समेटिएका छन्।

समझदारीपत्रको हस्ताक्षरको साक्षीका रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल र डाक्टर्स इन्टरनेशनलका अध्यक्ष डा. रमेश आचार्य रहेका छन् । रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लका अनुसार छ महिनाभित्र चीउ च्याङ विश्वविद्यालयको भगिनी संस्था ईस्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजीको सहयोगमा सुर्खेतमा चिनियाँ भाषा अध्ययन केन्द्र सञ्चालनको प्रक्रिया सुरु गरिने छ।

यस्तै चिउ च्याङ विश्वविद्यालयका अध्यक्षसहितका पदाधिकारीहरुसँगको बैठकमा उपकुलपति प्रा.डा. कोइरालाले सुर्खेतमा तीन महिना अघि भएको समझदारीपत्र अनुसार मेडिकल कलेज र चिनियाँ भाषा अध्ययन केन्द्र स्थापनाको कामलाई द्रूततर गतिमा अघि बढाउन आग्रह गरेका थिए । छलफलमा चीउ च्याङ विश्वविद्यालयको आर्थिक र प्राविधिक सहयोगमा मेडिकल कलेज स्थापना गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने र दुई वर्षभित्रै काम सुरु गर्ने विषयमा सहमति भएको रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले जानकारी दिए। 

उपकुलपतिसहितको विश्वविद्यालयको भ्रमण टोलीले चीउ च्याङ विश्वविद्यालयको मेडिकल कलेजको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । सो क्रममा त्यहाँ अध्यमयनरत ३० जना नेपाली विद्यार्थीहरुसंग पनि छलफल भएको रजिष्ट्रार डा. मल्लले जानकारी दिए। 

उपकुलपति कोइराला, रजिष्ट्रार डा. मल्ल र डाक्टर्स इन्टरनेसनलका अध्यक्ष डा. रमेश आचार्यसहितको टोली चीनमा रहेका विभिन्न विश्वविद्यालयहरूसँग समझदारीपत्रमा हस्ताक्षर गर्न चीनको चीउ च्याङ विश्वविद्यालयको निमन्त्रणामा १० दिन लामो चीन भ्रमणमा रहेको छ।

प्रकाशित: ११ चैत्र २०७३ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App