१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनका लागि गाउँ–गाउँमा नेता, कार्यकर्ता

बाजुरा – स्थानीय निकायको निर्वाचनको तिथि मिति नजिकिँदै गर्दा यहाँका मुख्य राजनैतिक दलका नेतादेखि कार्यकर्ता सम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्र्तक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन् ।
चार नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राप्रपाका नेतादेखि कार्यकर्ता सबै गाउँ केन्द्रीत बनेका छन् । प्रत्येकले व्यक्ति समुदाय र बस्ती केन्द्रीत छलफल, अन्र्तक्रिया, अनुशिक्षण र गोप्य भेटघाटलाई तिब्रता दिएका छन् । 
उनीहरूले आ–आफ्ना पार्टी नेतृत्व गर्ने दाबी गर्ने गरेका छन् । लामो समयदेखि स्थानीय निर्वाचन नभएकाले कार्यकर्ताले उम्मेदवार बन्ने अपेक्षा गर्नु स्वाभाविक पनि हो । मतदातामा आफ्नो प्रतिनिधि चयन गर्न आतुर भएको देखियो त्यसैले निर्वाचनका लागि राम्रो वातावरण बन्दै गएको नेपाली काँग्रेसका नेता हिरेन्द्र रोकायाले बताए ।
संविधान कार्यान्वयन भनेको निर्वाचन हो, त्यसैले पहिलो चरणको काम नगर पालिका गाउँपालिका बनाएर कामको सुरुवात नै भयो अब निर्वाचनलाई धकेल्नु वा पर सार्नु राम्रो होइन, जनताप्रतिको बेइमानी हो, रोकायाले भने ।
यतिबेला नेपाली काँग्रेसले नगर र गाउँ पालिकामा आम सभा सञ्चालन गरिरहेका छन् । भने नेकपा माओवादी केन्द्रले नगर र गाउँपालिकामा सम्मेलन सञ्चालन गरेको छ । स्थानीय तह कार्यान्वयनका लागि सुरुमा संगठन विस्तार आवश्यक भएकोले सम्मेलन सञ्चालन गरिरहेको माओवादी केन्द्रका नेता शुरेस विकले बताए । 
एमालेले वडा स्तरमा भेटघाट र छलफललाई तिब्रता दिएको छ । नेताहरु छलफल र भेटघाटकै लागि गाउँ केन्द्रीत बनेको एमाले नेता हरि रोकायाले बताए । एमाले नेताहरु आफ्नो क्षेत्रका स्थानीय तहको जिम्मा नै लिएर चुनावी प्रचारमा रहेको छेडेदह गाउँ पालिकामा प्रचारमा व्यस्त रहेका एमाले नेता लालबहादुर ओलीले बताए । 
एकातर्फ निर्वाचन लामो समयपछि हुनु, अर्कोतर्फ संविधान सभाद्वारा निर्मित संविधानले जनता र जनताका प्रतिनिधिलाई असीमित अधिकार दिएकाले गाउँपालिकाको प्रमुख, उपप्रमुख, सदस्य, नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला, दलित, प्रतिनिधि बन्नका लागि आ–आफ्नो पार्टीमा टिकटका लागि लबिङ गर्नेहरु पनि उत्तिकै रहेका छन् ।
यसैक्रममा केही नेता, कार्यकर्ता आफू र आफ्नो पार्टीले अहिलेसम्म गरेका काम र संविधान निर्माणका क्रममा आफ्नो पार्टीले खेलेको भूमिकाका विषयमा बुझाउन जनताको घरदैलोमा पुगेका बखत, केही नेता सदरमुकाममा नै बसेर चिया गफमा आफ्नो राजनैतिक विवरण बताउँदै आफूले नै टिकट पाउनुपर्ने दाबी गर्नेहरु समेत भेटिने गरेका छन् । 
गाउँदेखि शहर, बजारदेखि होटल, घट्टदेखि चौतारा सबैतिर चुनाकै चर्चा चलिरहेको छ । नेताहरु कुन गाउँपालिका, नगरमा को प्रमुख, उपप्रमुख तथा वडा सदस्यको उम्मेदवार को हुने भनेर पनि चर्चा र लबी सुरु गर्न थालेका छन् । शिर्ष नेताहरुको भेटलाई पनि संभावित उम्मेदवारले तिब्रता दिएका छन् ।
जिल्लामा ९ वटा राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । ती मध्ये काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको बढी चर्चा चलिरहेको छ । जिल्लामा काँग्रेस र एमाले बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ९ वटा स्थानीय तह मध्ये चार वटामा एमाले र २ वटामा काँग्रेसको बलियो पकड देखिएको छ । भने अन्यमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । 
२०७० को मत परिणाम हेर्दा स्वामिकार्तिक गाउँपालिका, गौमुल गाउँपालिका, पाण्डव गुफा गाउँपालिका र बुढीनन्दा नगरपालिकामा एमाले बलियो देखिएको छ । भने त्रिवेणी नगरपालिका र छेडेदह गाउँपालिकामा काँग्रेस बलियो देखिएको छ । अन्य हिमाली गाउँपालिका, बडिमालिका र बुढीगंगा नगरपालिकामा काँग्रेस र एमालेको बलियो प्रतिस्पर्धा देखिने भएपनि दलहरु कमजोर क्षेत्र केन्द्रीत बनेका छन् ।
 

प्रकाशित: ११ चैत्र २०७३ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App