१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खोटाङमा १३२ मतदानस्थल, चार वटा थप गर्न सिफारिस

खोटाङ – खोटाङमा स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल निर्धारण गरिएको छ । आगामी वैशाख ३१ गते तोकिएको स्थानीय तहको चुनावका लागि प्रमुख जिल्ला अधिकारी संयोजकत्वको मतदान केन्द्र पुनरावलोकन समितिले जिल्लाको मतदान स्थलको टुंगो लगाएको हो । चुनावी अभियान जारी रहेका बेलामा जिल्लाका दल, सुरक्षा निकाय लगायतसँगको छलफलपछि पूराना १३२ मतदान स्थललाई कायम राख्दै र थप ४ वटा स्थल थप गर्नकालागि सिफारिस गरिएको निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । स्थानीय तहको आसन्न निर्वाचनका लागि दुई पटकको प्रारम्भिक छलफलपछि मतदानस्थलको टुंगो लगाइएको हो । मतदान केन्द्र पुनरावलोकन समितिले भौगोलिक विकटताका हिसावले टाढा पर्ने डिकुवा, राजापानी, फेदी र वाप्लुखामा एक–एक वटा मतदानस्थल थप गर्न निर्वाचन आयोग समक्ष सिफारिस गरेको छ । २०७० सालको संबिधानसभाको निर्वाचनमा जिल्लामा १३२ वटा मतदान स्थल तथा १७६ वटा मतदान केन्द्रबाट भोट दिने व्यवस्था मिलाइएको थियो ।
यसअघि दुई वटा मतदान केन्द्र रहेको डिकुवामा डिकुवा निमाविमा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । यस्तै, दुई वटै मतदान स्थल रहेको राजापानीको हिमगंगा निमावि, दुई वटै केन्द्र रहेको वाप्लुखाको महेन्द्रोद्धय मावि र दुई वटै मतदानस्थल रहेको फेदीको तोमाने निमाविमा मतदानस्थल राख्न लागि सिफारिस गरिएको मतदान केन्द्र पुनरावलोकन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताए । दुरीका हिसावले गाउँबाट मतदानस्थल आउन र जानका लागि ५ किलोमिटरभन्दा बढी हिँड्नुपर्ने अवस्थाका ठाउँका मतदाताको सुविधाका लागि थप चार वटा मतदानस्थल सिफारिस गरिएको हो । मतदान केन्द्र पुनरावलोकन समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले स्वीकृति प्रदान गर्ने व्यवस्था छ । ‘निर्देशिका अनुसार अधिकांश ठाउँमा पुरानै मतदानस्थल कायम गरिएको छ,’ खत्रीले भने, ‘कतिपय दुरी टाढा पर्ने ठाउँमा नयाँ मतदान स्थलकालागि सिफारिस गर्ने निर्णय गरिएको हो ।’
प्रत्येक गाउँपालिकाको प्रत्येक वडामा एक वटा अनिवार्य र एक हजार बढी मतदाता रहेको गाउँमा दुई वटा मतदान केन्द्र राख्न सकिने प्रावधान अनुसार मतदानस्थल निर्धारण गरिएको हो । २०७० सालको संविधानसभाको निर्वाचनमा ९९ हजार ६६४ जना मतदाता रहेको जिल्लामा आगामी निर्वाचनमा करिब १ लाख १७ हजार मतदाताले भोट हाल्ने अनुमान गरिएको खत्रीले बताए । मतदाताको वास्तविक संख्याको विवरण आयोगबाट आउन बाँकी छ ।
 

प्रकाशित: ९ चैत्र २०७३ ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App