१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नर्वे सुखी र अफ्रिकी गणतन्त्र दुःखी देश

वासिङ्टन- यदि तपार्इं सुख प्राप्त गर्न आफूले भनेको ठाउँमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ भने त्यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु नै चिजको आवश्यकता रहन्छ। जाडो यामका लागि जसरी एउटा भुँवादार कोट भए पुग्छ त्यसैगरी सुखी समाजको परिकल्पनामा इमान्दारी पूर्वक बाँचेर आफ्नो जीवनलाई सुखमय तुल्याउन सकिन्छ।

सुख कहाँ छ? सुखको खोजी गर्ने ग्लोबल साइन्टिफिक स्टडिज्लगायत विश्वका केही चर्चित स्वतन्त्र संस्थाले हालै एक अनुसन्धानात्मक प्रतिवेदन 'वर्ल्ड ह्याप्पिनेस रिपोर्ट' प्रकाशन गरी विश्वका एकसय ५५ राष्ट्रलाई सामान्यतया दुई भागमा वर्गीकरण गरी सुखी तथा दुःखी राष्ट्रको एक सूची नै निकालेका छन्।

'सुखका लागि अनुसन्धान' नामक उक्त अनुसन्धान परियोजनामा औसत बैयक्तिक आय, स्वस्थ रही बाँच्ने प्रति ब्यक्ति औसत आयु, एक आपसमा सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रताको उपभोग, देशमा व्याप्त आर्थिक वा अन्य प्रकृतिका भ्रष्टाचार, बैयक्तिक दया तथा क्षमाशीलता जस्ता मूल्य र मान्यतालाई निरुपण गरी यसैमा आधारित भई मापदण्ड निर्धारण गरिएको थियो।

यी सबै मूल तत्वहरुलाई समग्रमा मूल्याङ्कन गर्न एक देखि दश अंकसम्म प्रदान गरी सुखी तथा दुखी राष्ट्रको पहिचान वा आंकलन गरिएको थियो।

तीमध्ये दश/दशवटा प्रमुख सुखी तथा दुःखी देशको एउटा छोटो झलक यहाँ पनि दिइएको छ। प्रकाशित सूचीअनुसार विश्वमा अत्यन्तै सुखी मानिने राष्ट्रको बरियता क्रममा नर्वेले सात दशमलव ५४ अंक प्राप्त गरी प्रथम स्थान ओगट्न सफल भएको छ। यस अघिसम्म नर्वे सो क्रमको चांैथो स्थानमा रहेकोमा यसवर्ष छलाङ मारी प्रथम स्थानमा पुगेको हो।

विश्वकै सर्वाधिक शक्तिशाली तथा आर्थिक हिसाबमा पनि तुलनात्मक रुपले अन्य बहुसंख्यक राष्ट्र भन्दा धनी संयुक्त राज्य अमेरिका भने बरियता क्रमको १४औं स्थानमा परेको छ। बितेको एक दशकमा प्रतिव्यक्ति आयमा मनग्गे वृद्धि गराउन सफल अमेरिकी नागरिक गत वर्षसम्म यसै वरिष्ठता क्रमको १३औं स्थानमा रहेकामा विस्तारै सुखप्राप्तिबाट विमुख भई यस वर्ष १४औं स्थानमा खस्किन पुगेको छ।

त्यस्तै, अत्यन्त दु:खी मानिने राष्ट्रको बरियता क्रममा दुई दशमलब ६९ अंक प्राप्त गरी केन्द्रीय अफ्रिकी गणतन्त्र (सेन्ट्रल अफ्रिकन रिपब्लिक) प्रथम स्थान (सबभन्दा निम्नस्थान) मा परेको छ। सुखी मानिने राष्ट्रको बरियता क्रममा ७.५२ अंक प्राप्त गरी डेनमार्क दोस्रो स्थानमा रहेको छ। यस अघिसम्म डेनमार्क प्रथम स्थानमा रहेको थियो।

'राम्रै भयो। सधैंभरी सुखी राष्ट्रको इज्जत कमाउने नाममा एकाधिकार त जमाउन पाइँदैन नि' डेनमार्कको राजधानी कोपेन्हेगनस्थित ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत मिएक वाइकिङ्गले टिप्पणी गरे।

सुखी राष्ट्रहरुको वरिष्ठता क्रममा ७.५० अंक प्राप्त गरी आइस्ल्यान्ड तेेस्रो स्थानमा रहन सफल भएको छ। त्यसैगरी स्विजरल्यान्ड ७.४९ अंकसहित चांैथो,  फिनल्यान्ड ७.४७ अंकसहित पाँचौं, नेदरल्याण्ड्स ७.३८ अंकसहित छैठौंं, क्यानडा ७.३२ अंकसहित सातौं, न्युजिल्यान्ड ७.३१ अंकसहित आठौं, अस्ट्रिया ७.२८ अंकसहित नवौं र स्विडेन ७.२७ अंकसहित दशौं स्थानमा रहेका छन्।

त्यस्तै, दुखी राष्ट्रहरुको वरिष्ठता क्रममा २.९१ अंक प्राप्त गरी बुरुन्डी दोेस्रो स्थानमा छ, भने ३.३५ अंक प्राप्त गरी तान्जानिया तेस्रो स्थानमा छ। यसै क्रमका अन्य राष्ट्रहरुमा सिरिया ३.४६ अंक सहित चौंथो, रुवान्डा ३.४९ अंक सहित पाँचौं, टोगो ३.५० अंकसहित छैठौं, गिनी ३.५१ अंकसहित सातौं, लाइबेरिया ३.५३ अंकसहित आठौं, दक्षिणी सुडान ३.५९ अंकसहित नवौं र यमन ३.६० अंकसहति दशौं स्थानमा रहेको जनाइएको छ।

प्रकाशित: ८ चैत्र २०७३ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App