१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संशोधनमा बखेडा नझिक्न एमालेलाई देउवाको आग्रह

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा बखेडा नझिक्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेका छन्। पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधान संशोधनले मात्र निर्वाचन सुनिश्चित गर्ने स्पष्ट पारे।

संविधान कार्यान्वयन भएमात्र गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउँदै देउवाले मधेसी मोर्चालाई मनाएर आगामी माघभित्र तीन तहको निर्वाचन गराउनुपर्ने बताए। उनले भने, 'यो चुनौतीपूर्ण काम छ। तर, त्यसलाई सम्पन्न गर्नुको विकल्प छैन।'

तराई–मधेसमा बसेर देशको सुरक्षामा खटिएका जनताको भावनासमेत समेटेर अघि बढ्नुपर्ने जनाउँदै उनले भने, 'कांग्रेस सबैलाई मिलाएर संविधान कार्यान्वयनमा लाग्छ।' गिरिजाप्रसाद कोइरालालाई कहिल्यै नथाक्ने र संगठनका लागि निरन्तर सक्रिय नेताका रूपमा उनले स्मरण गरे।

कार्यक्रममा कांग्रसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गिरिजाप्रसाद कोइरालाकै कारण राजाको गद्दी र माओवादीको बन्दुक एकैसाथ खोस्न सफल भएको बताए। कोइरालालाई समय चिनेर निर्णय लिन सक्ने नेताका रूपमा स्मरण गर्दै सिटौलाले भने, 'उहाँ जे निर्णयमा पुग्नुहुन्थ्यो त्यसलाई पूरा गरेरै छोड्नुहुन्थ्यो।'

माओवादी केन्द्रका नेता अमिक शेरचनले नेपालको शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको महŒवपूर्ण भूमिका रहेको स्मरण गरे। कोइरालाकै कारण  युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएको उनले बताए। शेरचनले भने, 'गिरिजाप्रसादलाई राष्ट्रपति बनाएको भए संविधान पहिलै बन्ने र अहिले कार्यान्वयन भइसक्ने थियो।'

कार्यक्रममा माले महासचिव सीपी मैनाली, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलगायतले कोइरालाले शान्ति प्रक्रियामा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। कोइरालाको निधन भएको चैत ७ को सम्झनामा कांग्रेस र उसको भ्रातृ संगठनले देशभर कार्यक्रम गरेका थिए।

प्रकाशित: ८ चैत्र २०७३ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App