१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

वैकल्पिक शक्तिबीच एकता !

राजनीतिक बजारमा अहिले अलि चासोका साथ हेरिएका चार वटा वैकल्पिक राजनीतिक दलहरु एकै ठाउँमा उभिए भने बन्न सक्ने नयाँ राजनीतिक दलको सम्भावित नाम आशुतोष तिवारीको फेसबुकवालमा पढ्दा निकै रमाइलो लाग्यो। उनले सुझाएअनुसार हाम्रो पार्टी, साझा पार्टी, विवेकशील नेपाली, नयाँ शक्तिलाई एउटै दल बनायो भने, यिनीहरुको नाम ‘हाम्रो साझा विवेकशील शक्ति’ बन्न सक्ने रहेछ। हुन त, रवीन्› मिश्रको नेतृत्वमा नयाँ दल साझा पार्टीको घोषणा भएपछि सामाजिक सञ्जालमा साझा पार्टी र विवेकशील नेपाली एउटै पार्टी बने हुन्थ्यो भन्ने सुझाव त धेरै नै आइरहेका छन्।

बाबुराम भट्टराईले पनि नयाँ शक्ति घोषणा गर्नुअघि विवेकशील नेपाली, हाम्रो पार्टीका रु› पाण्डे, रवीन्› मिश्र लगायत सबैलाई समेटेर एउटा वैकल्पिक शक्ति निर्माणको प्रयास नगरेका होइनन्। तर बाबुराम भट्टराईको नयाँ शक्ति माओवादीको अर्को झुण्डबाहेक अरु हिसाबले पृथक राजनीतिक दल बन्ने सम्भावाना कम हुँदै गएको देखिन्छ। सुरुमा मुमाराम, रामेश्वर खनाल लगायत केही व्यक्तिहरु नयाँ शक्तिमा लागे पनि धेरै समय पार्टीमा टिक्न सकेनन्।

अहिले मुमाराम खनाल रवीन्› मिश्रसँगै साझा पार्टी विस्तारमा जुटेका छन्। छोटो समयमा साझा पार्टीले सामाजिक सञ्जालमा जुन तरंग ल्याएको छ, त्यो नेपाली राजनीतिमा नयाँ प्रयोग बनेको छ। हुन त, पुरातनवादी राजनीतिक सोचले ग्रस्त नेपाली समाजमा सबैभन्दा पहिला विवेकशील नेपालीले सामाजिक सञ्जाललाई आफ्नो राजनीतिक सोच र कार्यक्रम विस्तारको माध्यम बनाएको थियो। विवेकशीलका संस्थापक उज्ज्वल थापा सूचना प्रविधिको पृष्ठभूमिबाट आएकाले पनि उनले सामाजिक सञ्जालको प्रयोगलाई राजनीतिमा सहज ढंगले भित्याए। पछि नयाँ शक्तिले विवेकशीलको शैलीलाई पछ्याउन खोज्यो। अहिले आएर त साझा पार्टीले सामाजिक सञ्जालमार्फत अपिल गरेरै दुई–तीन हप्ताको बीचमा देश–विदेशमा उल्लेखनीय रुपमा साझा पार्टीको सञ्जाल विस्तार गरेको छ। हाम्रो पार्टीका रु› पाण्डे सामाजिक सञ्जालमा विवेकशील नेपाली, रवीन्› मिश्र, बाबुराम भट्टराईजस्तो सक्रिय नभए पनि उनी सबै नेपालीले चिन्नुपर्ने एक सफल उद्यमी हुन्, जो उद्यमशीलतामार्फत नेपालको रुपान्तरण देख्न चाहन्छन्।

यी चार वैकल्पिक शक्तिका आ–आफनै विशेषता र सम्भावना देखिन्छन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लामो पूर्णकालीन राजनीतिको अनुभव सँगालेर वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेका छन् भने विवेकशील नेपाली, साझा पार्टी, हाम्रो पार्टीका नेतृत्वकर्ता पेसा–व्यवसायी–कर्मी हुन्। दोस्रो संविधान सभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएको विवेकशील नेपालीबाहेक अरु वैकल्पिक शक्ति गठन भएपछि कुनै पनि निर्वाचनमा भाग लिएका छैनन्। नयाँ वैकल्पिक शक्तिको सूचीमा विवेकशील नेपाली पहिलो हो। लगन र इमान्दारिताको हिसाबले विवेकशील अहिलेसम्म विवादको घेराभन्दा टाढा छ तर पनि राजनीतिक चिन्तन र मार्गदर्शनको अभावमा धेरैले विवेकशील नेपालीलाई राजनीतिक दलभन्दा पनि असल नियत भएका समाजसेवी युवाहरुको समूह भनेर चिन्ने गर्छन्, जुन पार्टी विकासको क्रममा विवेकशील नेपालीको लागि कमजोरीभन्दा पनि ठूलो सम्पत्ति हो।

बाबुराम भट्टराईको राजनीतिक जीवन धेरै ठूलो आरोह–अवरोह तथा विरोधाभासले भरिएको छ। दस वर्षे लामो सशस्त्र द्वन्द्वको पृष्ठभूमिबाट नेपालको राष्ट्रिय राजनीतिमा उदय भएका भट्टराईले द्वन्द्वको औचित्य पुष्टि नगरी तथा द्वन्द्वका कारण व्यवस्थापन नगरी बीचमै चटक्क छाडेर राजनीतिक बाटो बदल्नुले उनको नियतमा ठूलो प्रश्नचिह्न खडा गरेको छ। न त उनले माओवादी सशस्त्र युद्धलाई गलत भनेका छन् न त न्यायका लागि भौँतारी रहेका द्वन्द्वपीडितसँग माफी नै मागेका छन्। न उनीसँग पुरानो बाटो गलत थियो भन्ने नैतिक साहस छ, न त नयाँ शक्तिप्रति आम सर्वसाधारणको विश्वास जित्न सक्ने वैचारिक प्रष्टता छ। वास्तवमा वर्तमान राजनीतिक परिवेशमा सबैभन्दा विचलित बाबुराम भट्टराई देखिन्छन्। दुई हप्ता अगाडिसम्म स्थानीय चुनावको विरोध गर्दै हिँड्ने भट्टराई दुई हप्ता नबित्तै चुनाव गर्नुपर्छ भन्दै हिँड्नु कुनै सन्तुलित सोचको परिणाम होइन। औचित्य पुष्टि गर्न नसकेको हिंसाको ब्यागेज बोकेका भट्टराईका लागि नयाँ शक्ति निर्माण गर्नु असहज नै देखिन्छ। त्यसैले आगामी दिनमा भट्टराईले लोकतान्त्रिक विधिभन्दा अलोकतान्त्रिक विधिबाट नै शासनसत्ता हात पार्न दौडधुप गर्नेछन्।

भर्खरै बिबिसी नेपाली सेवा छाडेर सक्रिय राजनीति सुरु गरेका रवीन्› मिश्र नेपालीमाझ परिचित नाम हो। प्रत्यक्ष राजनीतिक अनुभव नभएका उनी सामाजिक सञ्जालमा धेरैले पछ्याएकामध्ये एक हुन्। बीस वर्षभन्दा बढीको पत्रकारिता तथा समाजसेवाको अनुभव भएका उनी विवेकशील नेपालीले जस्तै राजनीतिलाई स्वच्छ नपारेसम्म देशको विकास सम्भव देख्दैनन्। सार्वजनिक विवादमा अहिलेसम्म नतानिएका रवीन्›को नेतृत्वमा स्थापित साझा पार्टीले लिने बाटो हेर्नका लागि कम्तिमा एक वर्ष कुर्नुपर्ने हुन्छ।

विवेकशील नेपालीका उज्ज्वल थापा भने एक्काइसौँ शताब्दी समयसापेक्ष राजनीतिको नारा लिएर विवेकशील नेपालीको बिस्तारमा लागिपरेका छन्। राजनीतिक ज्ञान खासै नभएका उनी राजनीतिक नेतृत्वमा विवेक र इमान्दारी रह्यो भने समाज बदल्न सकिन्छ भन्ने विश्वास राख्छन्। राजनीति विशुद्ध सेवाको भावले गरिनुपर्छ भनेर विश्वास राख्ने उज्ज्वलले यो सोचलाई व्यावहारिक जीवनमा नै उतारेका छन्। उनी सरल छन् र व्यक्तिगत प्रचारप्रसारमा खासै चासो राख्दैनन्। राजनीतिक मुद्दाहरुमा विवेकशील नेपालीको प्रभाव अहिलेसम्म शून्य प्रायः भए पनि विभिन्न सामाजिक मुद्दा र अभियानमा विवेकशीलले आफ्नो सशक्त उपस्थिति देखाइसकेको छ, जुन आफैँमा राजनीतिक दल विस्तारमा नयाँ प्रयोग पनि बन्न सक्छ।

रुद्र पाण्डेको सोच हाम्रो पार्टीको नेतृत्व आफैँले गर्नेजस्तो देखिदैन तर उनले राम्रो नेतृत्वलाई सहयोग गर्दै आफू पनि नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनको प्रक्रियामा सहभागी बन्ने तीव्र इच्छा देखाएका छन्।

यी चार राजनीतिक दल आफ्नो जीवनकालमै सम्वृद्धि तथा राजनीतिक स्थायित्वको सपना बोकेर स्थापित भएका हुन्। भविष्यलाई केन्›बिन्दुमा राख्ने हो भने यी राजनीतिक दलमा धेरै समानता पाइन्छन् तर केही समानता यति डरलाग्दा छन् कि जसका कारण यिनीहरु मिलेर काम नै गर्न सक्दैनन्। मलाई रु› पाण्डेको बारेमा व्यक्तिगत तहमा थाहा छैन तर पाण्डेबाहेक अरु पार्टीका नेतृत्वको इगो (अहं) सगरमाथाभन्दा ठूलो छ। कोभन्दा को ठूलो? कोभन्दा को असल? कोभन्दा को विवेकशील? भन्ने अहंले गर्दा पनि यिनीहरुको उद्देश्य जति राम्रो भए पनि एउटै पार्टीभित्र बसेर काम गर्न असम्भव हुन सक्छ।

बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिका आफ्नै चुनौती र जटिलता छन्।  हिंसाको ब्यागेज तथा कमजोर सांगठनिक क्षमताका कारण नयाँ शक्ति न त वैकल्पिक शक्तिका रुपमा स्थापित हुने सम्भावना छ, न अरु नयाँ राजनीतिक दलहरुसँग सहकार्यको सम्भावना नै छ। विवेकशील नेपालीको नाम नै यति ठूलो बोझले भरिएको छ कि विवेकशील कुनै पनि समय आफ्नो नामले नै थिचिएर चल्मलाउन सक्ने छैन। साझा पार्टीले स्थापनाको दुई तीन हप्तामा नै आफ्नो सशक्त उपस्थिति देखाइसकेको छ। नयाँ शक्ति र विवेकशीलले दुई–तीन वर्ष लगाएर गरेको भन्दा बढी सांगठनिक विस्तार साझा पार्टीले अबका एक दुई महिनामा नै गर्ने संकेत देखाएको छ।

यस्तो अवस्थामा आशुतोषले सुझाएजस्तै ‘हाम्रो साझा विवेकशील शक्ति’ बन्ने सम्भावना अत्यन्त क्षीण देखिन्छ। बाबुराम भट्टराईले हिजोको दिनमा लिएको हिंसात्मक बाटो गल्ती थियो भनेर सार्वजनिक रुपमा माफी मागे सायद यी वैकल्पिक शक्तिहरुबीच एकताको सम्भावाना रहनेछ। अन्यथा नयाँ शक्तिबाहेक, हाम्रो पार्टी, साझा पार्टी र विवेकशील नेपालीले एक बनेर काम गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ। आफूभित्र चुलिएको अहंको सगरमाथालाई मात्र बिसाइदिने हो भने, यी वैकल्पिक शक्ति एक ठाउँमा उभिने वातावरण सहज हुनेछ।

प्रकाशित: ६ चैत्र २०७३ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App