१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कुशबंधियाद्वारा आवास माग

बाँके – लोपोन्मुख जाति कुशबंधिया समुदायले जनता आवास कार्यक्रममार्फत सुरक्षित रुपमा बस्ने आवास निर्माणमा सहयोग र व्यवस्था मिलाइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ । 

जानकी गाउँपालिका–३ इन्द्रपुरमा स्थायी रुपमा ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका ४४ घरधुरी कुशबंधियाले प्रजिअ रविलाल पन्थसमक्ष तीनबुँदे माग पेस गरेका हुन् । “नेपालगन्ज उपमहानगरपालिकाले जनता आवास कार्यक्रमका लागि जारी गरेको सूचनामा आवश्यक कागजातसहित निवेदन पेस गरिसकेका छौँ,” प्रजिअसमक्ष ज्ञापनपत्र पेस गर्दै इन्द्रपुरका गोबरे कुशबंधियाले भने, “ हाम्रो ऐलानी जग्गाको लालपुर्जा भयो भने सरकारले दिने अन्य सेवासुविधा पनि पाउने थियौँ ।” 

सुरक्षित आवास, जग्गाको लालपुर्जा र पेसा सङ्कटमा परेकाले वैकल्पिक व्यवसायको वातावरण बनाइदिनुपर्ने उनीहरुको माग छ । कुशबंधियाले आफ्नो पुख्र्यौली पेसा सिलौटा, जाँतो, सनडोरीको व्यापार गरेर जीविकोपार्जन गर्दै आइरहेका छन् । सरकारले बाँकेमा मात्रै एक हजार २४ घर जनता आवास कार्यक्रममार्फत निर्माण गर्ने भएको जिल्ला समन्वय समितिले जनाएको छ । 

सरकारले आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ उपलब्ध गराउने व्यवस्था गरेको छ । सोहीअनुरुप राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत दलित, विपन्न मुसलमान तथा सालबसालीरुपमा नेपाल सरकारले बजेट वक्तव्यमार्फत सम्बोधन गरी समेट्ने लोपोन्मुख र अति सीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवासको व्यवस्थाका लागि आव २०६६/६७ देखि बजेट तथा कार्यक्रम दिँदै आएको छ । रासस 

प्रकाशित: ५ चैत्र २०७३ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App