१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

व्यापारी अपहरण आरोपमा दुई प्रहरी पक्राउ

काठमाडौं- व्यापारी अपहरण गरेर एक करोड २५ लाख असुल्ने प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै संगठनका दुई नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले आफ्नै कार्यालयमा दरबन्दी रहेका संवत् तामाङ र महानगरीय प्रहरी वृत्तमा रहेका सूर्यबहादुर थापालाई पक्राउ गरेको हो।

सुन कारोबारी भन्दै दुवै प्रहरीले सादा पोसाकमा राईलाई अपहरण गरेर बन्धक बनाई चेक लिएर छाडेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए।

महाशाखाका अनुसार यी दुवैले राजकुमार गुरुङ र अर्जुनबहादुर लामासँग मिलेर व्यापारी बद्री राईलाई अपहरण गरेका थिए। उनीहरूले दुई लाख रुपैयाँ, एक करोडको चेक र २५ लाखको तमसुक लिएर अपहरणमुक्त गरेका थिए।

उनीहरूलाई घटनाको दुई महिनापछि महाशाखाले मंगलबार पक्राउ गरेको थियो। महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणअनुसार चार जनाले धुम्बाराहीमा रहेको टाइगर ओभरसिज प्रालिका राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी भन्दै धम्क्याउँदै आएका थिए।

संवत् लामा र  आफूलाई कार्की सर बताउने व्यक्तिले उनलाई फोन गरेर सुन तस्करी गरी भागेका फुर्बा शेर्पा कहाँ छ निकाल भन्दै धम्क्याउने गरेका थिए। महाशाखाका अनुसार माघ १ गते चारै जनाले राईलाई कोटेश्वरमा बोलाएर अपहरण गरी सिनामंगल पुर्‍याएर एक घरमा बन्धक बनाएका थिए।

'बन्धक बनाएर राखेपछि उनीहरूले राईको साथमा रहेको दुई लाख ३० हजार रुपैयाँ लिएर उनको साथमा रहेको नबिल र राष्ट्रिय वाणिज्य बैंकको चार वटा चेकमा २५ लाखका दरले एक करोड र २५ लाखको तमसुक बनाएर लिएको देखिएको छ', महाशाखाको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख छ।

उनीहरूले प्रसाद गुरुङ, संवत् तामाङ र धीरज गुरुङको नाममा २५–२५ लाखको चार वटा चेक काट्न लगाएको खुलेको छ। फागुन १० देखि १४ सम्मको मिति राखेर चेक काट्न लगाए पनि उनीहरूले चेक साटेका भने थिएनन्।

अपहरणमुक्त भएपछि राईले महाशाखामा आएर उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। दुई महिनाको अनुसन्धानमा मंगलबार महाशाखा टोलीले दुई  सईसहित चार जनालाई पक्राउ गरेको थियो।

राई सुन तस्करीमा संलग्न रहेको सूचनाका आधारमा दुवै जना प्रहरी उनको पछि लागेको र उनको अपहरणपछि सुनको पैसा मागेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए।

उनीहरूले पैसा माग गर्दासमेत तस्करीको सुनको पैसा भन्दै माग गरेका थिए। अनुसन्धान अधिकारीका अनुसार राईले चेक दिँदा मेरो भागमा परेको यत्ति हो भनेर दिएको खुलेपछि प्रहरीले उनको संलग्नताबारे समेत अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ४ चैत्र २०७३ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App