१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'गलत नियतले जलस्रोत मन्त्रालय खारेज'

काठमाडौं- पूर्वजलस्रोत सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले जलस्रोत वार्ता र सूचना कमजोर बनाउने गलत नियतले जलस्रोत मन्त्रालय खारेज गरिएको बताएका छन्।

उनले बिहीबार दोस्रो नदी शिखर सम्मेलन, २०७३ उद्घाटन सत्रमा भने, 'जलस्रोत सम्बन्धी निकाय, वार्ता र सूचनालाई कमजोर बनाउने रणनीति अन्तर्गत जलस्रोत मन्त्रालय खारेज गरिएको भन्ने मेरो बुझाइ हो।'  

उपाध्यायले नेपालले अहिलेसम्म गरेको अध्ययन, बुझाइ र अडानलाई कजोर बनाउने धेरै पहिलेको रणनीति अन्तर्गत जलस्रोत मन्त्रालय खारेज गरिएको बताए। 'नेपाल जस्तो मुलुकमा जलस्रोत मन्त्रालय हटाउन हँुदैनथ्यो', उनले भने।

उपाध्यायले जलस्रोत ऐनले जलस्रोत राज्यमा निहित हुनेछ भने पनि राज्यको कुनै पनि अंगलले यसलाई नहेरेको बताए। 'अहिले राज्यका कुनै पनि अंगले जलस्रोत क्षेत्रको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मा लिएका छैनन्। भएको मन्त्रालय समेत खारेज गरिएको छ', उनले भने, 'म जलस्रोत मन्त्रालय पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा छु।'

उपाध्यायले खोलानाला बेचबिखन गर्ने काम नियमसंगत नभएको पनि बताए। 'जलस्रोत बेच्ने कुरा होइन, यसमा राज्यबाहेक कसैको अधिकार लाग्दैन', उनले भने, 'यो विषय हामीले स्थानीय समुदायलाई बुझाउन पनि सकेका छैनौं।'

उपाध्यायले सरकारले देशलाई जलस्रोतबाटै समृद्ध पार्ने लक्ष्यका साथ १५ वर्षअघि नै जलस्रोत रणनीति बनाइए पनि कार्यान्वयनमा नल्याइएको भन्दै गुनासो गरे। 'त्यो रणनीति कार्यान्वयन योजना पनि बनाइयो तर कार्यान्वयन भएन, अहिले पनि नया“ नीति मस्यौदा तयार भएको छ। त्यो पनि कार्यान्वयन हुन्छ भन्नेमा आशंका छ', उनले भने।

सरकारले राजनीतिक समीकरण मिलाउन जलस्रोत मन्त्रालय खारेज गरेर उर्जा र सिँचाइ बनाएको हो।

जल तथा ऊर्जा आयोगका पूर्वसचिव किशोर थापाले 'नेपालको जल उत्पन्न समृद्धि, मृगतृष्णा वा वास्तविकता' शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै जलस्रोत उपयोगबारे कुनै पनि राजनीतिक दलको स्पष्ट धारणा नभएको बताए। काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुबोध शर्माले अनधिकृत र अत्यधिक दोहनका कारण नेपालका अधिकांश नदीको जीवनचक्र बिथोलिएको बताए। 'नदी र त्यसवरपरका ८० प्रतिशत जलचर र जैविक विविधता नष्ट भइसकेका छन', उनले भने।

राजधानीमा उद्घाटन भएको सम्मेलनका अन्य कार्यक्रम गोरखाको थेबेटार, त्रिशुली नदी किनार हुनेछन्। यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ, अभियन्ताको सहभागिता रहनेछ।

प्रकाशित: ४ चैत्र २०७३ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App