१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पत्नी बितेपछि किताब बन्यो साथी

पोखरा- सेतै फुलेको दाह्री, शिरमा ढाकाटोपी, सेतो सर्ट, गलामा नीलो टाई अनि झोला बोकेर लट्ठी टेक्दै ६९ वर्षीय दुर्गा विक सिद्धार्थ माविको गेटबाट भित्रिँदा धेरैको ध्यान उनीतिर मोडियो। विकबारे नसुनेकाले सुरुमा उनी विद्यार्थी हुन् भन्ने पत्तोसमेत पाएनन्। तर, जब अरू विद्यार्थीसरह विक पनि कक्षाकोठा पसे, अनि सबैले उनीबारे खासखुस गर्न थाले।

हो, घर्कंदो उमेरमा पढ्न थालेका विक बिहीबार सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अंग्रेजी विषयको परीक्षा दिँदै थिए। स्याङ्जा, फेदीखोलाका विक पाका विद्यार्थी हुन्। 'अरू परीक्षाभन्दा यसपटक केही फरक महसुस भयो। म अलि नर्भस भएँ,' उनले भने, 'अरू बेलाका परीक्षामा उति सारो तनाव हुँदैनथ्यो। तर, यसपटक खै किन हो, मेरो मन अलि आत्तियो अनि खिन्न पनि भयो।'

उनको हात पनि बिहीबार कम चल्यो। 'अरू बेला मैले निकै नै छिटो लेख्थें। तर, किन हो किन, यो परीक्षामा मलाई अलि तनाव भयो,' उनले भने। विद्यालय तहमा केही वर्षअघिसम्म फलामे ढोका मानिएको एसएलसीलाई अहिले एसईई भनेर परीक्षा लिन थाले पनि विद्यार्थीले मानसिक रूपमा त्यही एसएलसीको झल्को पाइरहेका थिए। विकले पनि आफूलाई परीक्षाले केही 'नर्भस' बनाएको बताए।

'हुन त अहिले ग्रेडिङ प्रणालीमा रिजल्ट आउँछ तर म त्यही फलामे ढोका मानिएको एसएलसी दिँदैछु जस्तो लाग्यो। म मात्र होइन, सबै विद्यार्थीलाई उस्तै झल्को थियो,' उनले भने, 'मनमा कता हो कता दबाब पर्दाे रहेछ। त्यही भएर होला, हात पनि ढिला चलेको।'

विक घरका एक्ला मान्छे हुन्। डेढ दशकअघि पत्नी चन्द्राकुमारीको मृत्यु भएपछि उनी एक्लिए। चार छोरा र दुई छोरी पनि टाढिएपछि दुर्गा झनै एक्ला भए। अनि बुढेसकालको एक्लो जीवन जिउन मुस्किल हुने देखेपछि उनले अठोट गरे– पाएदेखि स्कुल पढ्छु। अनि गाउँकै खहरे प्राविमा ३ कक्षामा भर्ना भए। ६३ वर्षको उमेरमा स्कुल धाउन थालेका उनी अहिले कालाभैरव माविका विद्यार्थी हुन्। सिद्धार्थ मावि केन्द्रबाट उनी परीक्षा दिँदैछन्।

उमेर छउन्जेल पढ्न लेख्न नपाएका उनले एकल जीवनमा विद्यालयलाई साथी बनाएका छन्। त्यसैले बुढेसकालमा नातिनातिना उमेरका सहपाठी बनेका छन्। 'परीक्षा केन्द्रमा भेटिएका सबै मेरा साथी थिए। उमेरले म पाको थिएँ, उनीहरू काँचा थिए,' उनले भने, 'तर ती मेरा साथी थिए। उनीहरूसँगै बसेर परीक्षा दिएँ। आशा छ, राम्रो अंक ल्याएर उत्तीर्ण पनि हुन्छु।'

परीक्षाका लागि उनले एक महिनादेखि सबै विषयको ट्युसन पढिरहेका थिए। पाको उमेरमा पढेको भनेर होला, ट्युसन पढ्दा उनले शुल्क तिर्नुपरेन। 'सरहरूले ट्युसन पढेको फी पनि लिनुभएन। सबै साथीले तिरे, मैले तिरिनँ,' उनले भने, 'पढाइप्रतिको लगाव र मेरो आर्थिक अवस्था देखेर फी नलिनुभएको होला।'

उनको आर्थिक अवस्था निकै कमजोर छ। घरखर्च जुटाउन बिदाको दिन मजदुरी गर्छन्। 'भोकै सुते पनि आफ्नो अगाडि किताब देख्दा भोकप्यास हराउँछ,' उनले भने, 'लेख्नपढ्नमा माया बसेपछि भोकतिर्खासमेत बिर्साउँदो रहेछ।'

सिद्धार्थ माविका केन्द्राध्यक्ष मनोजकुमार शर्मा पाका विद्यार्थीलाई परीक्षा दिलाउन पाउँदा गर्व महसुस भएको बताउँछन्। 'उहाँ हामी सबैका लागि अभिभावकजस्तो हुनुभयो। शालीन र सभ्य तरिकाले परीक्षा दिन आउँदा उहाँप्रति सद्भाव जाग्यो,' उनले भने, 'त्यही भएर उहाँका लागि १५ मिनेट समय थपिदिएँ।'

शारीरिक रूपमा अशक्त विद्यार्थीका लागि आधा घन्टा समय थप्न सक्ने केन्द्राध्यक्षलाई अधिकार भए पनि उमेरको प्रावधान नभएको उनले बताए। 'तर, ७० हाराहारीमा पुगेका विद्यार्थी भएकाले अरूको तुलनामा हात कम चल्ने भन्दै हामीले समय थपेका हौं,' उनले भने, 'सुरुमा समय थप्नु पर्दैन। अरू बेलाजस्तो हात भने चल्न सकेन भन्नुभएको थियो। तर पछि समय थप्न माग गर्नुभयो।' विकले केन्द्राध्यक्षसँग पनि सुरुमा हातै नचलेको भन्दै गुनासो सुनाएका थिए। शर्माले भने, 'हामीले समय थपिदिएर हौसला दिएका हौं।'

प्रकाशित: ४ चैत्र २०७३ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App