१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खाइराख्नुपर्ने रोग

एब्बी सोलोमनलाई एउटा अनौठो रोग लागेको छ। उनलाई कहिल्यै भोक लाग्दैन र पनि उनी दिनभरि खाई नै रहन्छिन्। अमेरिकाको टेक्सास विश्वविद्यालयकी छात्रा सोलोमनलाई न्युनटल प्रोगरोइड सिन्ड्रोम नामक रोग लागेको छ। यस्तो रोग संसारका केही सीमित मानिसलाई मात्र लाग्छ। एब्बी तीमध्ये एक हुन्।

सबैभन्दा गाह्रो त के भने यस सिन्ड्रोमबाट पीडित बालबालिका केही महिनाका पाहुना मात्र हुन्छन् तर एब्बी भने अपवाद हुन्। उनी २१ वर्षको पुगिसकिन्।

न्युनटल प्रोगरोइड सिन्ड्रोम यस्तो अवस्था हो, जसमा शरीरमा लगातार हाइपोग्लिसेमियाको अवस्था भइरहन्छ। यो एउटा वंशानुगत रोग हो।

यस सिन्ड्रोमका कारण शरीरमा इन्सुलिनको अवस्था तलमाथि भइरहन्छ। अर्को एउटा कारण चाहिँ अव्यवस्थित खानपिनका कारण शरीरको रगतमा चिनीको स्तर सामान्यभन्दा निकै कम हुन पुग्छ। यस्तो अवस्थामा रोगी कुनै बेला पनि बेहोस हुने खतरा भइरहन्छ। यस्तो अवस्थामा तपाईंले लगातार केही न केही खाइरहनुपर्ने आवश्यकता हुन्छ।

आफू पढ्न जाँदा झोलामा केही न केही खाने कुरा राखिरहन्छिन्। अधिकांशतः उनी घरैमा पकाएर लैजान्छिन्। पकाउँदै गर्दा एब्बीले बिबिसीलाई भनिन्, ‘मेरो जीवनमा खानु र खाइरहनु मात्र काम रह्यो।’

हरेक १५ मिनेटमा उनले केही खाजा, चिप्स, बिस्कुट खाइरहन्छिन् तर उनको शरीरमा कहिल्यै पनि बोसो जम्दैन। उनी कहिल्यै मोटाइनन्। एब्बी भन्छिन्, ‘मलाई अनौठो रोग लागेको छ। अचम्म लाग्छ, आखिर कुनै व्यक्तिमा यस्तो सिन्ड्रोम कसरी उत्पन्न हुन्छ होला?’

शोधवैज्ञानिकहरुका अनुसार यस सिन्ड्रोम एफबिएन वन जिनमा आनुवंशिक रुपमा परिवर्तन हुँदाका अवस्थामा सुरु हुन्छ। यसका कारण छाला मुन्तिर जुन बोसो जम्मा हुन्छ, त्यसलाई यसले नोक्सान पुर्‍याउन थाल्छ। यसका कारण उमेरभन्दा अलि बूढो नै देखाउने काम यस रोगले गरिदिन्छ।

यति मात्र होइन यस सिन्ड्रोमका कारण एस्प्रोसिन हार्मोन बनाउने शरीरको क्षमतामा पनि असर पर्छ। यस हार्मोनले भोक बढाउँछ र लगातार खाना खाइरहँदा कलेजोले रगतमा लगातार ग्लुकोज पठाइरहन्छ। यही कारणले आफू यस्तो हुनुपरेको एब्बीले बताइन्।

आनुवंशिकी वैज्ञानिक अतुल चोपडाले रोगीहरुको उपचारको क्रममा सन् २०१३ मा एब्बीलाई फेला पारेका थिए। यसपछि उनले एब्बीमाथि शोध गर्न थाले। यस शोधमा टेक्सासका अन्य कैयौँ चिकित्सक पनि साथ लागेका छन्। अतुलका अनुसार एब्बीको शरीरमा ग्लुकोजको मात्रा जहिले पनि न्यून हुने गर्छ। त्यसैले उनी बाँच्नका लागि दिनभरि खाइरहनुपर्ने बाध्यता छ।

एब्बीको रोगमाथि जुन तरिकाले शोध गरिँदैछ, त्यसले भविष्यमा चिनी रोगले प्रताडितहरुको उपचारमा सहयोग पुग्न सक्ने सम्भावना रहेको अतुल बताउँछन्। एब्बीको उपचारमा एस्प्रोसिन हार्मोनले ठूलो भूमिका खेल्न सक्ने सम्भावना उनले देखिरहेको बताए। उता यस किसिमको शोधमा आफू एउटा अंश बन्न पाएकोमा एब्बी खुसी छिन्।

यससँगसँगै शोधवैज्ञानिकहरुले हार्मोनको कमीका कारण शरीरमा केके असर हुन सक्छ भनी अध्ययनसमेत गरिरहेका छन्। अतुलले आफ्नो प्रयोगशालामा एब्बीको सिन्ड्रोमलाई नक्कल गर्दै मुसामा समेत प्रयोग गरिरहेका छन्। यस प्रयोगको सहयोगले उनले यस्तो एन्टीबडी तयार गर्ने प्रयास गरिरहेका छन्, जसले एस्प्रोसिन हार्मोनले उत्पन्न गर्ने खराब असरलाई नै समाप्त गर्न सकोस्।

यस्तो एन्टिबडी तयार भयो भने अति वजन भएका र चिनीरोगले पीडितहरुलाई सो एन्टिबडी प्रयोग गरी तिनीहरुको वजन कम गर्न सकिएला कि भन्ने आशा उप्जिएको छ।

प्रकाशित: ३ चैत्र २०७३ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App