१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१० वर्षमा एक प्रतिशतमा मात्रै पुग्छ बिमाको पहुँच

काठमाडौं- जनचेतनाको अभाव र आयस्तर नबढेका कारण १० वर्षमा एक प्रतिशत जनतामाझ मात्र बिमाको पँहुच पुगेको छ। बिमा कम्पनीको स्थापना भएको करिब ७० वर्ष भएको छ। यस अवधिमा करिब ७–८ प्रतिशत जनताले मात्र बिमा गरेका छन्। अझै पनि ९२–९३ प्रतिशत नेपालीले बिमा गरेका छैनन्।

करिब सात दशकअघि नेपाल बैंक लिमिटेडले आन्तरिक सम्पत्तिको सुरक्षण गर्ने उद्देश्यले माल चलानी तथा बिमा अड्डाको नाममा निजी क्षेत्रको सहभागितामा २००४ सालमा पहिलोपटक बिमा कम्पनी स्थापना गरेको थियो। यति लामो समय बितिसक्दा पनि निकै कम जनताको पहुँचमा मात्रै बिमा विस्तार भएको छ।

दक्षिणी छिमेकी भारत र नेपालमा बिमाको सुरुवात करिब एकै समयमा भए पनि त्यहाँ अहिले बिमा व्यवसाय निकै विस्तार भएको छ। तर नेपालमा अपेक्षाकृत रुपमा बिमा व्यवसाय विस्तार हुन सकेको छैन।

करिब ७० वर्षअघि करिब दुई दर्जन उद्योग स्थापना भएका र ती उद्योगको संरक्षणका लागि नेपालमा पहिलोपटक बिमा कम्पनीको स्थापना भएको नेपाल बिमक संघका अध्यक्ष विजयबहादुर शाहले मंगलबार नागरिकलाई बताए। 'यति लामो समय हुँदा पनि बिमाको पहँुच ७–८ प्रतिशतमा मात्रै सीमित भएको छ,' एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनले भने, 'बिमा प्राथमिकता नपरेका कारण विस्तार हुन नसकेको हो।'

बिमा कम्पनीहरुले बिमालेख (पोलिसी) बिक्री गरेका आधारमा उक्त तथ्यांक निकालिएको हो। एक व्यक्तिले एउटामात्र बिमा गरेको आधारमा यो तथ्यांक निकालिएको संघका अध्यक्ष शाहले बताए। 'एकजनाले चारवटासम्म बिमा गरेकाले अझै बढी जनतामाझ बिमा नपुगेको स्पष्ट हुन्छ,' उनले भने, 'यसले बिमाको पँहुच विस्तार हुन सक्ने प्रशस्त सम्भावना भएको देखाउँछ।'

विकसित मुलुकमा ९८ प्रतिशतसम्म मानिसले बिमा गरेको जानाकार बताउँछन्।  'विकसित देशमा बच्चा पेटमा आएपछि उसको बिमा गरिन्छ,' संघका अध्यक्ष शाहले भने, 'हाम्रो देशमा बिमा बाध्यात्मक नहुँदा बिमा गर्नेको संख्या कम भएको हो।'

बिमा व्यवसाय व्यवस्थापन, विकास र विस्तार गर्न नियमनकारी निकाय बिमा समिति स्थापना गरिएको छ। २०४९ सालमा बिमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै नयाँ बिमा ऐन २०४९ जारी गरियो। ऐनको प्रस्तावनामा 'बिमा व्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नको लागि बिमा समितिको स्थापना गरिएको हो,' भनिएको छ। तर, बिमा समितिले पनि बिमाको पहँुच विस्तार गर्ने काममा खासै चासो दिएको छैन।

निजी लगानीमा स्थापित बिमा कम्पनी पहुँच विस्तार गर्र्ने काममा लागेका छन्। तर, नियामक निकाय बिमा समितिले खुद बिमा रकमको थोरै प्रतिशतमात्र जनचेतनामूलक विज्ञापन, अतिथि सत्कार, मनोरन्जन लगायत क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था गरेपछि बिमा क्षेत्रको विस्तार हुन नसकेको बिमा कम्पनीको गुनासो छ। 'निर्जीवन बिमा कम्पनीले खुद बिमा रकमको १.५ प्रतिशत मात्र विज्ञापन, अतिथि सत्कार, मनोरन्जन लगायतमा खर्च गर्न पाउँछन्,' संघका अध्यक्ष शाहले भने, 'बिमा समितिले बिमा क्षेत्रको विकास गर्नका लागि प्रशस्त रकम छुट्ट्याउन समेत अंकुश (क्याप) लगाएपछि समस्या आएको हो।'

सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अनिवार्य रुपमा बिमा गर्नुपर्ने प्रावधान ल्याएपछि बिमा गर्नेको संख्या बढेको बिमक संघका सदस्य विवेक झाले बताए। 'वैदेशिक रोजगारीमा जाने व्यक्तिको अनिवार्य बिमालाई गणना नगर्ने हो भने ज्यादै न्यून प्रतिशत नेपालीले मात्र बिमा गर्ने गरेको पाइन्छ,' नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका झाले भने, 'सरकारले ७–८ अघिदेखि नै वैदेशिक रोजगारमा जाने व्यक्तिले अनिवार्य बिमा गर्नुपर्ने प्रावधानले बिमा गर्नेको संख्या ह्वात्तै बढेको हो।'

निःशुल्क टिकट र भिसाको नियमले वैदेशिक रोजगारीमा पुनः समस्या आएको छ। यसले बिमा कम्पनीको आम्दानी र बिमालेख बिक्रीमा पनि कमी आउने उनीहरुको भनाइ छ।

ग्रामीण क्षेत्रमा बिमा गर्नेहरु ज्यादै कम छन्। ग्रामीण क्षेत्रमा जीवन बिमा गराउने कम्पनी पुग्न सकेका छैनन्। भौगोलिक अवस्थाले गर्दा पनि बिमाको पहुँच बढाउन बाधा पुगेको बिमकहरुको भनाइ छ।

निजी क्षेत्रबाट स्थापना भएका जीवन बिमा कम्पनीले बिमा गराउन थालेपछि संख्या बढेको थियो। 'निजी कम्पनीका बिमा कम्पनीको प्रवेशसँगै बिमा क्षेत्रले फड्को मारेको छ,' झाले भने, 'योजनाबद्ध रुपमा काम गर्ने हो भने बिमा क्षेत्रमा अझै क्रान्तिकारी काम गर्न सकिन्छ।'

कुल जनसंख्याको आधाभन्दा बढीले नियमित आम्दानी गर्ने अवसर प्राप्त नगरेका कारण मुलुकको ग्रामीण क्षेत्रमा बिमाको पहुँच विस्तार हुन नसकेको बताइएको छ।

ग्रामीण अर्थतन्त्रको सुधार नगरेसम्म देशको समृद्धि नहुने विज्ञको भनाइ छ।

बिमा समितिका अनुसार बिमा व्यवसाय विस्तारका लागि जनचेतनाको कमी मुख्य चुनौतीको रुपमा छ। 'बिमाबारे जनचेतना जगाउनु तथा शिक्षा दिनु पनि उत्तिकै जरुरी छ,' बिमा समितिका एक उच्च अधिकारीले भने, 'नेपालीको प्रतिव्यक्ति आय निकै कम हुनुले पनि चाहेर पनि बिमा गर्न सकेका छैनन्।'

अधिकांश नागरिकको आयस्तर कमजोर छ। त्यसकारण बिमा गरेर किस्ता तिर्न सक्ने गरी आर्थिक रूपमा सक्षम हुुनुपर्छ। यही कारण सुरक्षित भविष्यका लागि बिमा सबभन्दा राम्रो आधार हो भन्ने जान्दाजान्दै पनि धेरैले यसको योजना किन्न सकिरहेका छैनन्।

प्रकाशित: ३ चैत्र २०७३ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App